२५ हजार मात्र बोक्न पाउँदा भारतीय पर्यटकलाई समस्या: क्यासिनोमा क्यूआरबाट कारोबार !


विराटनगर । पूर्वी नाका काँकडभिट्टाबाट हरेक दिन सयभन्दा बढी जुवा र तासका पारखी भारतीय पर्यटक भित्रिन्छन् । नेपाल छिर्ने बित्तिकै उनीहरू सिधै पाँच तारे होटल मेची क्राउनको भेगास क्यासिनो र त्यसको आसपासमा सञ्चालित दुई मिनी क्यासिनो रियाज र ढाकामा छिर्छन् ।

जुवा तासका केही सौखिन भारतीय पर्यटक काँकडभिट्टाभन्दा २० किलोमिटर पश्चिमको पाँचतारे होटल किंसवेरीको सेभन हर्षिष क्यासिनोमा पुग्छन् । मेची क्राउनको भेगास र किंसवेरीको सेभन हर्षिष क्यासिनोमा चौबीसै घण्टा जुवा तास खेल्न पाउने प्रावधान छ । रियाज र ढाका मिनी क्यासिनोमा दिउँसो ३ बजे देखि राति १० बजेसम्म मात्र जुवा तासमा रमाउन पाउने प्रावधान छ ।

ती पर्यटक क्यासिनोमा मदिरा सेवनदेखि जुवा र तास खेलेर रमाउँछन् । होटल मेची क्राउन स्रोतले क्लिकमान्डुलाई भन्यो, ‘उनीहरू जुवा तासमा हुने जीतहारको कारोबार चाहिँ क्यूआरमार्फत गर्छन् ।’

भारतीय पर्यटक नेपाल आउँदा एक व्यक्तिले २५ हजार भारु मात्र बोकेर आउन पाउने प्रावधान छ । क्यासिनोमा २५ हजारले २५ मिनेट पनि टिक्न गाह्रो हुन्छ । होटल स्रोतले भन्यो, ‘पछिल्लो समय यहाँका क्यासिनोमा छिर्ने प्रायः सबै भारतीय पर्यटक क्यूआरबाटै कारोबार गर्दै आएका छन् ।’

नेपाल–भारत अन्तरदेशीय (क्रसबोर्डर) क्यूआर भुक्तानीको सुविधा उपलब्ध भएसँगै भारतीय पर्यटकहरू क्यासिनोमा क्यूआरबाट कारोबार गर्न थालेका हुन् । नेपाल र भारत अन्तरदेशीय (क्रसबोर्डर) क्यूआर भुक्तानी सञ्चालन गर्न नेपालको फोनपे र भारतको नेशनल पेमेन्ट कर्पोरेशन अफ इण्डिया (एनपीसीआई) बीच २०८० भदौमा सम्झौता भएको थियो ।

मेची क्राउन होटलको भेगास क्यासिनोमा मात्र दैनिक सरदर ५०–६० जना जुवा तासका पारखी भारतीय पर्यटक छिर्छन् ।उनीहरूले कम्तिमा पनि दैनिक ५०–६० लाखकै जुवा तासको कारोबार गर्छन् । त्यो सबै रकमको कारोबार क्यूआरबाट हुने होटल स्रोतको भनाइ छ । यसअघि जुवा तासमा हुने रकमको कारोबार भारतीयले हुण्डी कारोबारीमार्फत झिकाउँथे ।

नेपाल–भारत अन्तरदेशीय (क्रसबोर्डर) क्यूआर भुक्तानीको सुविधा उपलब्ध हुनु पहिला भारतीय पर्यटकहरू लुकाईछिपाई २५ हजारभन्दा बढी रकम बोकेर क्यासिनो पुग्थे । त्यो रकमले नभ्याएपछि पारिपट्टिको पानीट्याङ्कीबाट हुण्डी कारोबारीमार्फत रकम मगाउँथे । अहिले पनि केही पर्यटकले हुण्डीमार्फत क्यासिनोमा रकम मगाउने गरेको स्रोतको दाबी छ ।

विराटनगरको होटल बिग र रत्नामा पनि क्यासिनो सञ्चालनमा छन् । ती दुबै क्यासिनोमा पनि भारतीय पर्यटकले क्यूआरबाट रकमको कारोबार गर्ने गरेको क्यासिनो स्रोतको भनाइ छ । केही पर्यटकले खानपिनको रकम नगद तिर्छन् । जुवा र तासका पारखीले हानमारको रकमसहित खानपिनको रकमको कारोबार क्यूआरबाटै गर्ने गरेको सम्बन्धित क्यासिनो सञ्चालकको भनाइ छ ।

क्यूआर भुक्तानी सुविधाका कारण कोशी प्रदेशमा भारतीय पर्यटकको आकर्षण बढ्दै गएको कोशी प्रदेश होटल व्यवसायी संघका अध्यक्ष राजन श्रेष्ठको भनाइ छ । यो सुविधाका कारण प्रायः भारतीय पर्यटकले होटलमा क्यूआरबाट रकम भुक्तानी गर्न थालेका छन् । श्रेष्ठले भने, २५ हजार रुपैयाँ मात्र बोकेर आउन पाउने व्यवस्थाले पर्यटक मारमा पर्दै आएका थिए । क्यूआरबाट भुक्तानी गर्न पाउने व्यवस्थाले उनीहरूलाई मात्र नभई होटल व्यवसायीलाई पनि केही राहत पुगेको छ।

उनका अनुसार पछिल्लो समय कोशी प्रदेश आउने भारतीय पर्यटकले होटल लगायत क्यासिनो र अन्य किनमेल गर्दा क्यूआरबाटै भुक्तानी गर्न थालेका छन् ।

२५ हजार रुपैयाँ बोकेर आउने भारतीय पर्यटकले कहाँ र कति घुम्ने ? तेस्रो मुलुकबाट आउने पर्यटकले ५ हजार डलर बोकेर आउन पाउने व्यवस्था छ । भारतीय पर्यटकका हकमा पनि त्यही नियम लागू हुनुपर्ने हाम्रो माग छ । श्रेष्ठले भने, कोशी प्रदेशका होटल व्यवसायी भारतीय पर्यटकमा निर्भर छन् । भारतीय पर्यटकलाई जति कडाई गर्‍यो, उनी नै कोशी प्रदेशको होटल र पर्यटन व्यवसाय ध्वस्त हुने स्थितिमा छ ।

भारतीय पर्यटकलाई लक्षित गरेर औद्योगिक नगर तथा प्रदेशको राजधानी विराटनगरमा क्यासिनोसहितका थप तीनवटा पाँचतारे होटल निर्माण हुने क्रममा छन् । यसअघि क्यासिनोसहितका तीनवटा तारे होटल निर्माणाधीन छन् । श्रेष्ठले भने, भारतीय पर्यटकलाई कडाई गरिदा निर्माण हुने र निर्माण भइरहेका तारे होटलको लगानी डुब्ने खतरा छ ।

हाल कोशी प्रदेशमा झापा–विर्तामोडमा किङसवेरी, काँकडभिट्टामा मेची क्राउन र सुनसरीको इटहरीमा सोल्टी क्राउन पाँचतारे होटल सञ्चालनमा छन् । विराटनगरमा थप तीनवटा तारे होटल निर्माण भएसँगै प्रदेशमा तारे होटलको संख्या ११ पुग्ने छ ।

विराटनगरमा यसअघी निर्माण सुरु भएका तीनसहित झापामा मेडिकल व्यवसायी दुर्गा प्रसाईको एजीएम र इटहरीमा देशबन्धु वस्नेत समूहको रमाडा होटल निर्माण भइरहेको छ । श्रेष्ठले भने, ती सबै होटल भारतीय पर्यटकमा आधारित छन् ।

यस बाहेक कोशी प्रदेशमा पर्यटक स्तरीय होटल ५ सयभन्दा बढी छन् । त्यस बाहेक साधारण तर पर्यटक बस्न लायकका ३५ सयभन्दा बढी होटल छन् । ती सबै होटल भारतीय पर्यटकमा निर्भर रहेको संघका वरिष्ठ उपाध्यक्ष तथा कोशी पर्यटन वर्ष २०८२ का सह–संयोजक भविष श्रेष्ठले बताए । उनका अनुसार कोशी प्रदेशका होटलमा एक रातमा १० हजारसम्म पर्यटक राख्न सक्ने क्षमता छ ।

पछिल्लो समय निर्माण हुने भनिएका ती तीनवटा होटल निर्माण भएसँगै प्रदेश राजधानीमा एकैपटक क्यासिनोसहितका ६ वटा तारे होटल सञ्चालनमा आउने छन् । हाल बिग, स्टन स्टार, रत्ना, स्वागतम, ह्यारीसन लगायतका एक दर्जन ठूला र स्तरीय होटल सञ्चालनमा रहे पनि कुनैले पनि तारे होटलको सुविधा लिएका छैनन् । ती मध्ये बिग र रत्ना होटलले क्यासिनो सञ्चालन गर्दै आएका छन् । श्रेष्ठले भने, ती सबै होटल भारतीय पर्यटकले टिकाएका छन् । पछिल्लो समय भारतीय पर्यटकले क्यूआरबाट रकम भुक्तानी गर्न पाउने सुविधाले पर्यटक र होटल दुवैलाई राहत पुगेको उनको भनाइ छ ।