
काठमाडौं । काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालन गर्न सकिने बिषयमा व्रिटिश मेट्रो परियोजनामा संलग्न वरिष्ट इन्जिनियर डा. विनोद एल अमात्यले शनिबार लन्डनस्थित नेपाली दूतावासमा काठमाडौं मेट्रोसम्बन्धी प्रस्तुतिकरण गरेका छन् ।
काठमाडौं उपत्यकामा सञ्चालनको लागि वहुप्रतिक्षित मेट्रो रेलको बिषयमा डा. अमात्यले आफ्नो दीर्घकालिन अनुभव र प्राविधिक ज्ञानलाई समेटेर तयार पारेको प्रस्तुतीकरण गरेका थिए । उनले ‘काठमाडौं क्रस रेल कन्स्ट्रक्सन’ योजनाको बारेमा प्रस्तुतीकरण दिएका थिए ।
त्यस अवसरमा ब्रिटेनका लागि नेपाली राजदूत चन्द्र घिमिरेको पनि उपस्थिति थियो ।
यो प्रस्तुतीकरणमार्फत काठमाडौं उपत्यकाको भौगोलिक, जनसांख्यिक तथा यातायात अवस्थाको विस्तृत अध्ययन गरी मेट्रो परियोजनाको सम्भाव्यता र आवश्यक पूर्वाधारको खाका प्रस्तुत गरिएको छ ।
“काठमाडौं मेट्रो” परियोजना नेपालकै आधुनिक शहर विकासको महत्त्वपूर्ण पाइला हुने विश्वास गरिएको छ । जसले राजधानीको भीडभाड, वायु प्रदूषण र सवारी समस्या समाधान गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
डा अमात्यले भने, ‘हामीले केवल एउटा सपना होइन, प्राविधिक रूपमा सम्भव र दिगो समाधानका लागि आधार तयार गरेका छौँ। अब नेपाल सरकारले यसमा गम्भीरताका साथ चासो देखाए परिवर्तन सम्भव छ।’
अबको चरणमा नेपाल सरकार र सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने योजना छ। कार्यक्रममा सहभागी नेपाली समुदायका प्रतिनिधिहरू र इञ्जिनियरहरूले डा अमात्य र उनको टोलीलाई प्रस्तुतीकरणको लागि बधाइ दिएका थिए ।




तस्बिर स्रोतः बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरे








प्रतिक्रिया