आगामी पुसदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आउने

336
Shares

काठमाडौं । आगामी पुसपछि नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आउने भएको छ ।

अहिलेकै गतिमा काम गर्ने वातावरण भए आगामी ६ महीनाभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी तयारी गरिएको हो ।

कूल ९० प्रतिशत भौतिक प्रगति गरी हाल १० प्रतिशतको काम बाँकी रहेको नागढुङ्गा सुरुङमार्गमा उपकरणहरूको संयोजन चलिरहेको आयोजनाको परामर्शदाता संस्था निप्पन कोइका इञ्जिनियर रमेशप्रसाद कोइरालाले बताए ।

‘अहिले उपकरणहरूको परीक्षण र समग्र सुरुङमार्गको कार्यमा त्यसलाई संयोजन सम्झौताअनुसार आगामी कात्तिकको पहिलो साता निर्माण सम्पन्न गरी सञ्चालक निकायलाई हस्तान्तरण गर्ने लक्ष्यमा छौं,’ इञ्जिनियर कोइरालाले भने, ‘अहिले उक्त सञ्चालक निकायको छनोटको प्रक्रिया अघि बढिरहेको छ र त्यो निकाय छनोट भएपछि पनि त्यसको तालिम लिनुपर्ने हुन्छ । त्यसमा पनि २ महीना जति लाग्न सक्छ ।’

उनका अनुसार आयोजनाले सुरुङमार्गको सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि सुरुङभित्र दमकल, आकस्मिक उद्धार, सीसीटीभी क्यामेरा, सञ्चार र सुरक्षा संयन्त्र, अक्जिनको निरन्तर प्रवाहजस्ता सुरूङमार्गका अत्यावश्यक सेवा ९टनेल फ्यासिसिटी० उपलब्ध गराउने कामलाई अन्तिम रूप दिइरहेको छ ।

पूर्वी मुखमा काठमाडौँको चन्द्रागिरि नगरपालिकाको दहचोकबाट शुरू हुने कूल २ दशमलव ७ किलोमिटर लामो सुरुङमार्ग पश्चिमतर्फ धादिङको धुनीबेंसी नगरपालिकाको सिस्ने खोलामा टुङ्गिनेछ । त्यसैको समानान्तर उद्धार आदि कार्यका लागि समानान्तर सहायक सुरूङसमेत खनिएको छ ।

सञ्चालनमा आएपछि नागढुङ्गादेखि बलम्बुसम्मको भौतिक दूरी करीब ३ किलोमिटरले छोटिनेछ भने प्रचलित मार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका हिसाबले इन्धन र सडक उपभोक्ताको झण्डै एक घण्टा समय बचत हुने अपेक्षा गरिएको छ ।

सुरुङमार्ग निर्माणमा शुरूमा देखिएका भौगोलिक अनिश्चितता, बजेटको व्यवस्था र स्थानीयसँगको संयोजनलाई आयोजना अनुकूल बनाउँदै भौतिक प्रगति हासिल गरिएको पनि इञ्जिनियर कोइराला बताउँछन् ।

सुरुङमार्गमा निस्किएको पानीको व्यवस्थापनबारे स्थानीय जनता, चन्द्रागिरि नगरपालिका र धुनीबेंसी नगरपालिकाबीच केही अन्योल रहे पनि त्यसलाई सम्बोधन गर्ने तयारी भइरहेको उनले बताए ।

आयोजनाले सिस्ने खोलातर्फ बनाउन लागेको पार्कको काम भने जग्गाको स्वामित्वबारे विवादका कारण स्थगित गरिएको जानकारी कोइरालाले दिए । मालपोतकै दस्तावेजमा जग्गाधनीको महलमा सडक विभाग र व्यक्ति दुवैको नाम परेका कारण त्यहाँ अप्ठ्यारो परेको उनले बताए ।

Skip This