पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड पनि अवरुद्ध

1k
Shares

बुटवल । शुक्रबार राति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपरासीको दाउन्ने खण्डमा यातायात अवरुद्ध भएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको सडक भाँसिएपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यो सडक हुँदै सञ्चालन हुने सवारीहरू रोकिएका छन् । अहिले पश्चिमबाट पूर्व जाने सवारी बर्दघाट र पूर्वबाट पश्चिम आउने सवारी दुम्किबास ज्यामिरेमा रोकिएका छन् ।

बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भत्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाले जानकारी दिए ।

शनिबार बिहान पनि सामान्य वर्षा भइरहेकोले सडक मर्मतमा कठिनाइ भइरहेकाले मर्मत सम्भार गर्न नसकिएको बताइएको छ । दाउन्ने सडक खण्ड केही दिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो । पछिल्लो समय सामान्य वर्षामा समेत कहिले सडक चिप्लो त कहिले पहिरोको कारण अवरुद्ध हुँदै आइरहेको छ ।