
काठमाडौं । चितवनको भरतपुर नारायणगढमा ७० करोड लगानीमा नयाँ पोल्ट्री फार्म खुल्ने भएको छ । अभिनास ग्रुपले ६९ करोड ९० लाख रुपैयाँ लगानीमा अभिनास एर्वर एकर नेपाल प्रालिको नामबाट पोल्ट्री फार्म खोल्ने भएको हो ।
सन् २०२० मा दर्ता भएको कम्पनीले पोल्ट्री ब्रिडिङ, फार्मिङ र वितरण गर्ने जनाएको छ । कम्पनीले २ सय रोपनी क्षेत्रफलमा ६ वटा पोल्ट्री फार्म निर्माण गरेको छ । जसमा अटोमेटिक दाना खाने, पानी खाने, अन्डा उत्पादन र बत्तीको सुविधा रहेको जनाएको छ ।
कम्पनीले ह्याचिङको व्यापार भने नवलपरासीबाट गर्ने भएको छ । उक्त स्थानमा बेल्जियममा बनेको पेटेरसाइन सिग्नल स्टेज इन्क्यूबेटर रहेकाले सोहीबाट ह्याचिङ हुने रेटिङमा उल्लेख गरेको छ । कम्पनीअनुसार सो मेसिनबाट अटोमेटिक अण्डाको ग्रेडिङ र सर्टिङ सिस्टम हुनेछ ।
कम्पनीमा गुणाचन्द्र विस्टको ७० प्रतिशत स्वामित्व रहेको छ । कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ७२ करोड २२ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जा ५० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २२ करोड २२ लाख रुपैयाँ लिने भएको छ ।
कम्पनीले निर्माण गरिरहेको फार्ममा ७२ प्रतिशत बैंकबाट कर्जा लिने भएको छ भने बाँकी २८ प्रतिशत लगानीकर्ताले लगानी गर्ने भएको छ ।
अभिनास ग्रुपले अभिनास ह्याचरी, अभिनास फार्म र गौरीशंकर एग्रो उद्योग सञ्चालन गर्दै आएको छ ।
हालसम्ममा कम्पनीको ५६ प्रतिशत आर्थिक प्रगति भइसकेको छ । सन् २०२६ सम्ममा पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी निर्माण भइरहेको कम्पनीले जनाएको छ ।







प्रतिक्रिया