बजारबाट २४ अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक


काठमाडौं । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २४ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ ।

नेपाल सरकारले चालु आर्थिक वर्षमा बजेटको लक्ष्यको करिब ८० प्रतिशत आन्तरीक ऋण परिचालन गरिसक्दा पनि प्रणालीमा लगातार अधिक तरलता भएपनि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दै आएको छ ।

राष्ट्र बैंकले २१ दिनको अवधिका लागि यो रकम संकलन गर्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकिएको छ। बोलकबोलमा सहभागी हुन सक्ने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा भने पाँच करोडको गुणनफलमा हुने गरी कुल आह्वान रकमसम्म रहने व्यवस्था गरिएको छ।

साँवा तथा ब्याज भुक्तानी आगामी जेठ २५ गते तोकिएको छ । यसमा लाग्ने ब्याजदर पनि बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ। राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन उपकरण बहु-ब्याजदर प्रणालीमा सञ्चालन हुनेछ, जसअनुसार सहभागी संस्थाहरूले विभिन्न दरमा बोलकबोल गर्न सक्नेछन्।

उक्त बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

चालु आर्थिक वर्षको फागुनसम्म अपेक्षित कर्जा विस्तार नभएपनि पछिल्लो २ वर्षको तुलनमा सुधारउन्मुख देखिन्छ । तर, अधिक तरलता कायम भएपछि निरन्तर केन्द्रिय बैंकले तरलता प्रशोचन गर्दै आएको छ ।

चालु आर्थिक वर्षको सुरुवातमा करिब साढे ३ खर्ब तरलत केन्द्रिय बैकंकले निरन्तर खिच्दै आएको थियो । पछिल्लो केही समयमयता करिब २ खर्ब २० अर्ब तरलता केन्द्रीय बैंकले प्रशोचन गरेर बक्यौता रहँदै आएको छ । तर, आर्थिक वर्षको अन्तिममा सरकारले खर्च बढाएपछि पुनः अधिक तरलतको दबाब बढ्नेछ ।