बाढीपहिरोका कारण संखुवासभामा यातायात र विद्युत सेवा अवरुद्ध


विराटनगर । संखुवासभाको सभापोखरी गाउँपालिका–४ मा बिहीबार राति आएको बाढीपहिरोका कारण स्थानीय ६ भन्दा बढी घरमा क्षति पुगेको छ ।

बाढीपहिरोका कारण क्षति पुगेको घरका बासिन्दाहरु विस्थापित भएका छन् । बाढि पहिरोले गर्दा उक्त पालिकाको यातायात, विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले बाढी पहिरोका कारण सभापोखरी गाउँपालिका–३, ४ र ६ लगायतका वडामा यातायात, विद्युत् र टेलिफोन अवरुद्ध भएको बताए ।

बाढी पहिरोले विभिन्न वडाका सडक र विद्युत् खम्बा बगाएको छ । बाढीले पोल बगाएपछि त्यस क्षेत्रमा शुक्रवारबाटै सबै सेवा अवरुद्ध भएको उनले बताइन्।

बाढीले सभापोखरी गाउँपालिका–४ मा निर्माणाधीन २१ मेगावाटको सभापोखरी हाइड्रोपावरमा समेत क्षति पुगेको छ । बाढी सभापोखरी हाइड्रोपावरको निर्माण सामग्री बगाएको छ । बाढी पहिरोले सभा पोखरीका विभिन्न वडामा आधा दर्जन घर विस्थापित भएका छन् । बाढीबाट विस्थापित र क्षति विवरण गाउँपालिकाले संकलन थालेको छ ।