
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा लोकतान्त्रिक समाजवादलाई नेपालको आर्थिक विकासको आधारभुत मार्गदर्शन सिद्धान्तका रूपमा प्रस्तुत गरिएको बताएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई संस्थागत गर्न लोकतान्त्रिक मूल्यमा आधारित समाजवादलाई अपनाइएको बताए ।
सामाजिक उत्पादनमा आम नागरिकको न्यायपूर्ण पहुँच सुनिश्चित गर्नु नै समाजवादको सार भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अगामी आर्थिक वर्षको बजेट लोकतान्त्रिक समाजवादको आधारमा ल्याइने स्पष्ट पारे । संविधानअनुसार समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने सरकारको प्रतिवद्धता रहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक समाजवादबाट अन्यत्र विचलन हुन नसकिने बताए ।
‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले लोकतान्त्रिक मूल्यमा आधारित समाजवाद, ‘समृद्ध नेपाल सुखि नेपाली’को राष्ट्रिय आकाङ्क्षा भनेको छ । हामीले अब संविधानमा विशेष छलफल गरेर समाजवाद भन्ने पदावली प्रयोग गरौँ । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने उद्घोष गर्यौं । हाम्रो समाजवाद लोकतान्त्रिक मूल्यमा आधारित हुन्छ । हामी लोकतान्त्रि समाजवादबाट अन्य डिपार्चर हुन सक्दैनौं । त्यसकारण लोकतान्त्रिक समाजवाद हाम्रो ध्येय हो र गन्तव्य पनि हो । हामी समाजवाद भनेर गरिबी बाड्ने समाजवाद होइन समृद्धि बाँड्ने समाजवाद हौँ । सामाजिक उत्पादनमा आम नागरिकको न्यायपूर्ण पहुँच नै समाजवादको अर्थ हो,’ उनले भने ।
अर्थमन्त्री पौडेलले संविधानको मौलिक हकहरुको अधिकतम् प्रयोग गर्नसक्ने अवस्था निर्माण गर्न जरुरी रहेको बताए । उनले तीन तहको सरकारको बीचमा समन्वय र सहकार्य गरी अगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने दाबी गरे ।








प्रतिक्रिया