जवाफ दिन संसदमा अर्थमन्त्री उपस्थित नभएपछि बैठक स्थगित

259
Shares


काठमाडौं । अर्थमन्त्रीले जवाफ दिने कार्यसूची रहे पनि उनी उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

शुक्रबारको बैठकमा विनियोजन विधयेकका सिद्धान्त र प्राथमितामाथिको छलफलपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिने कार्यसूची रहेको थियो । तर अर्थमन्त्री पौडेल आजबाट सुरु भएको सगरमाथा संवादको कार्यक्रममा सहभागी हुन गएपछि निर्धारित समयमा संसदमा उपस्थित नभएका हुन् । बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सांसद सूर्यबहादुर थापा क्षेत्रीले गत वैशाख ३१ गते प्यूठानको सहिद स्मृतिपार्कमा करेन्ट लागेर मृत्यु भएका चित्रबहादुर केसीको परिवारलाई राहतको माग गरे । उनले देशका विभिन्न स्थानमा स्थापना भएका सहिद स्मृति पार्कका लागि पर्याप्त बजेटको व्यवस्था गरिनुपर्ने मागसमेत राखे ।

सांसद रामकुमार राईले खोटाङका एक युवाको गत वैशाख ३० गते गोकर्णेश्वरमा कुटपिटबाट मृत्यु भएको विषय उठाउँदै उक्त घटनाका दोषीलाई कारबाहीको माग गरे ।

सांसद राजेन्द्रप्रसाद लिङ्देनले करिब दुई महिनादेखि बन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलगायत नेता कार्यकर्तालाई रिहाइको माग गरे ।