
काठमाडौं । बीपी राजमार्गको क्षतिग्रस्त सडकमध्ये एक खण्डको पुनर्निर्माण गर्न जाइका (जापान सहयोग नियोग) ले आर्थिक अनुदान उपलब्ध गराउन सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग भइरहेको द्विपक्षीय छलफलको क्रममा जाइकाले उक्त सडक खण्डको एक खण्डको पुनर्निर्माण गर्न अनुदानमा २ अर्ब ८० करोड जापानिज ऐन (२ अर्ब ५९ करोड नेपाली रुपैयाँ) उपलब्ध गराउन सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
सडक विभागका प्रवक्ता अर्जुन अर्यालका अनुसार अहिले त्यो खण्ड कसरी बनाउने, जाइका र सरकारको भूमिका के के हुने, त्यो खण्डमध्ये पनि कुन कुन पूर्वाधार कसले कति बनाउने, मुआब्जा दिनुपर्ने वा दिनु नपर्ने, वातावरण प्रभाव मूल्याँकन गर्नुपर्ने वा नपर्नेलगायतका बिषयमा छलफलपछि तयार भएको खाका (मोडालिटी ड्राफ्ट) मा राय सुझाव लिने दिने काम भइरहेको छ ।
राय सुझावपछि अन्तिम रुप दिइने खाकाको बिषयमा यसै साता ‘माइन्युट अफ मिटिङ्ग’ मा हस्ताक्षर हुने तयारी भएको छ । यो हस्ताक्षरपछि अर्थ मन्त्रालयसँग जापान सरकारले अनुदान रकमको बिषयमा द्विपक्षीय सम्झौता हुनेछ ।
सरकारले बिपी राजमार्ग अन्तर्गत क्षतिग्रस्त भएको साढे ५ किलोमिटर दूरीको बर्खेखोला–डल्लावेसी पुनर्निर्माणको लागि जाइकाको सहयोग खोजेको थियो ।
यो खण्ड भौगोलिक दृष्टिकोणले निक्कै जटिल र खर्चिलो भएकाले सरकारले यो खण्डको पुनर्निर्माण जापानले गरिदिओस भन्ने इच्छा राखेको थियो । जापान सरकारले नै यो सडकको निर्माण गरेकाले सरकारले सम्पूर्ण क्षतिग्रस्त सडक पुनर्निर्माण गरिदिन जापान सरकारसँग कुटनीतिक रुपमा छलफल गर्दैआएको थियो ।
सरकारले सम्पूर्ण क्षतिग्रस्त सडक जापानले निर्माण गरिदिओस भन्ने इच्छा राखेपनि अन्ततः जापानले उक्त खण्डमध्ये एउटा खण्ड पुनर्निर्माण गरिदिन सैद्धान्तिक सहमति जनाएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीका अनुसार सरकारले उक्त क्षतिग्रस्त सडक खण्ड जापान सरकारको लगानीमा निर्माण हुने अपेक्षा गरेपनि एक खण्ड मात्रै निर्माणका लागि जापान सरकार तयार भएको छ ।
साढे ५ किलोमिटर दूरीको बर्खेखोला–डल्लावेसी खण्डको पुनर्निर्माणको लागि करिब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसमध्य जापान सरकारले २ अर्ब ८० करोड जापानीज ऐन सहयोग गर्न तयार भएको छ । जापानले यो खण्डको निर्माणको जिम्मेवारी जाइकालाई दिने तयारी गरेको छ ।
अपुग हुने रकम सरकारले आफै व्यहोर्ने मन्त्रालयका ति अधिकारीले जानकारी दिए । उनका अनुसार अनुदान सहयोगको बिषयमा नेपाल–जापानबीच सहमति भएपनि तत्कालै निर्माण कार्य सुरु हुने छैन ।
‘यदि पुनः वातावरण प्रभाव मूल्याँकन (ईआईए) गर्न आवश्यक परेको खण्डमा त्यसको लागि छुट्टै समयअवधी चाहिन्छ, ईआईए गर्न निक्कै हतार गरेपछि कम्तिमा ६ महिना लाग्छ, त्यसपछि सर्वेको काम गर्नुपर्छ,’ मन्त्रालयका ति अधिकारीले भने,‘त्यसपछि विस्तृत परियोजना अध्ययन(डीपीआर) बनाउन छुट्टै समय लाग्छ । यो सबै प्रक्रिया सम्पन्न भएपछि वल्ल आगामी फागुनदेखि निर्माण कार्य सुरु हुनेछ ।’
जाइकाले निर्माण गर्ने यो खण्डमा बाटो सोझ्याउन २० देखि ३० लम्बाई भएको केहि ‘सर्ट टनेल’ समेत निर्माण हुनेछ ।
अहिले निर्माणको लागि जाइकाले जिम्मेवारी नपाइसकेकाले औपचारिक रुपमा सर्वे, डीपीआर र डिजाइनको कुनै काम अघि नबढेको मन्त्रालयले जनाएको छ । बाढीले उक्त सडक खण्ड क्षतिगस्त गरेको समयमा जाइकाको प्राविधिक टोलीले उक्त सडक खण्डको स्थलगत अध्ययन गरेको थियो ।
सडक विभागले प्रारम्भिक चरणको सर्वे रिर्पोट तयार गरेपनि जाइकाले जिम्मेवारी पाएपछि उसले आफै सर्वे र डीपीआर बनाउने मन्त्रालयको भनाइ छ ।
गत् असोज दोश्रो साता आएको बाढी पहिरोका कारण विपी राजमार्गको एक सय ६० किलोमिटरमध्ये २८ किलोमिटर क्षतिग्रस्त भएको थियो । यसमध्ये भक्तपुर–काभ्रे सडक डिभिजनअन्तर्गत २५ किलोमिटर र सिन्धुली–रामेछाप (खाल्टे) डिभिजनअन्तर्गत ३ किलोमिटर खण्ड पर्छ ।
सडक विभागका अनुसार काभ्रेप्लाञ्चोकको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडकखण्ड पूर्ण रुपमा क्षतिगस्त बनेको छ भने साढे ८ किलोमिटर सडक जमिन (जग) बाटै पूर्ण रुपमा बगेको छ । बाँकी खण्डमा भने भत्केर क्षतिग्रस्त बनेको छ ।
मन्त्रालयले क्षतिग्रस्त भएको र पूर्ण रुपमा वगेको सडक खण्डलाई ४ भागमा बर्गीकरण गरेर त्यसमध्ये ३ टुक्रा खण्डको पुनर्निर्माण गर्न ठेक्का आह्वान गरिसकेको छ । ४ भागमध्ये तीन भाग काभ्रेप्लाञ्चोक र एक भाग सिन्धुली जिल्लाभित्र पर्छ ।
सरकारले आफ्नै खर्चमा निर्माण गर्नेगरी अहिले तीन टुक्रामा भक्तपुर–काभ्रेप्लाञ्चोक डिभिजन अन्तर्गत मूल्य अभिवृद्धि करसहित २ अर्ब ५४ करोड लागतको चारसयवेसी–भकुन्डेवेसी (११ किलोमिटर) खण्डको एउटा ठेक्का आह्वान गरिसकेको छ ।
त्यस्तै सोहि डिभिजनअन्तर्गत २ अर्ब ४७ करोड लागतको डल्लावेसी–चारसयवेसी (साढे ८ किलोमिटर) र सिन्धुली–रामेछाप (खाल्टे) डिभिजन अन्तर्गत १ अर्ब लागतको नेपालथोक–बर्खेखोला खण्ड (५ किलोमिटर) को सडक तत्काल पुनर्निर्माण र पहिरो नियन्त्रणसम्बन्धी ठेक्का आह्वान गरेको छ ।
कुल क्षतिग्रस्त २८ किलोमिटर सडक खण्ड अब भने ढलसहितको १० मिटर चौडाई भएको दुई लेनमा विस्तारका साथै पुनर्निर्माण हुनेछ । यसमा सवारी गुड्ने गरी ७ मिटर चौडाईमा कालोपत्रे निर्माण हुनेछ ।
पहिले साधारण वाल उठाएर निर्माण भएको विपी राजमार्गको भत्केको खण्ड अब भने विशिष्टीकृत रुपमा निर्माण गर्न लागिएको छ ।
यसअन्तर्गत खोला किनारतर्फ जमिनमुनिबाट माइक्रो पाइल उठाइनेछ । यसरी जमिनमुनिबाट उठाइएको माइक्रो पाइलमाथि आरसीसी (कंक्रिट) वाल उठाएर दुई लेनको कालोपत्रे सडक निर्माण गर्न लागिएको छ ।
यस्तै स्थानअनुसार आवश्यकताको आधारमा माइक्रो पाइलमाथि आरसीसी (कंक्रिट) वाल उठाएर सडकको पुनर्निर्माण गरिने सडक डिभिजन कार्यालय भक्तपुर–काभ्रेप्लाञ्चोकका डिभिजन प्रमुख सुमन योगेशले जानकारी दिए ।
तीन खण्डको भएको ठेक्कासम्बन्धी टेण्डरमा परेको आवेदनहरुको अहिले मूल्याँकन गर्ने काम भइरहेको छ । सडक डिभिजन कार्यालय भक्तपुर–काभ्रेप्लाञ्चोकका डिभिजन प्रमुख योगेशका अनुसार मूल्याँकन गर्ने अवधी १२० दिनको हुन्छ ।
यो अवधीमा मूल्याँकन सकेर जेठको अन्तिम सातामा उपयुक्त ठेक्केदार कम्पनीसँग निर्माणको लागि सम्झौता हुनेछ । जेठमा सम्झौता भएपनि वर्षायाम सुरु भएका कारण तत्कालै निर्माण कार्य सुरु गर्न भने समस्या हुने उनले जानकारी दिए ।
असोज दोश्रो साता परेको अबिरल बर्षासँगै आएको बाढीपहिरोका कारण बिपी राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्मको सडक क्षतिग्रस्त बनेको थियो ।
बाढीले क्षतिग्रस्त यो राजमार्गमा सवारी साधान ओहोर दोहोर गर्न सडक विभागले काभ्रेप्लाञ्चोकको चौंकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्म खोलाको वगरमा बैकल्पिक बाटो तयार पारेको छ । यहि बाटो भएर दैनिक सयौं सवारी साधन ओहोर दोहोर गर्दैआएका छन् ।
तर सानो पानी पर्दा पनि काभ्रेप्लाञ्चोकको रोशी खोलामा बाढी आउँदा अवागमन भने अवरुद्ध हुँदै आएको छ । सोमबार साँझ मात्रै उक्त खोलामा आएको बाढीको भेलका कारण एउटा डायभर्सन बगाएको थियो ।
डायभर्सन बगेपछि सवारी अवागमन पूर्ण रुपमा रोकिएको थियो । पुन अर्को डायभर्सन निर्माणपछि करिब २० घण्टापछि मात्रै सवारी साधनहरु ओहोर दोहोर गर्न पाएका थिए ।
एक सय ६० किलोमिटर बिपी राजमार्ग निर्माण गर्न जापान सरकारलाई २० वर्ष लागेको थियो । यो सडक निर्माण गर्न जापानले २६ अर्ब येन खर्च गरेको थियो । २०५२ सालदेखि बिपी राजमार्ग बनाउन सुरु गरेको थियो ।
निर्माण सम्पन्न भएपछि २०७२ असार १८ गते जाइकाले सरकारलाई औपचारिक रुपमा हस्तानान्तर गरेको थियो । २०७२ सालको भूकम्पबाट बिपी राजमार्गको केही भागमा क्षति पुगेको थियो ।
क्षतिग्रस्त भाग पुनर्निर्माण गर्न १८ महिना लागेको थियो । त्यसबेला मर्मतका लागि पनि जापान सरकारले एक अर्ब ८५ करोड रुपैयाँ अनुदान सहयोग गरेको थियो ।








प्रतिक्रिया