सांसदहरुको तलब भत्ता लगायतमा साढे १ अर्ब खर्च, पीएले पाए १९ करोड

329
Shares

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको तलब भत्ता लगायतमा १ अर्ब २८ करोड ६९ लाख खर्च भएको छ ।

२७५ सदस्य रहने प्रतिनिधि सभा र ५९ सदस्य राष्ट्रिय सभामा आर्थिक वर्ष २०८०/८१ मा चालुतर्फ ९२.६३ र पुँजीगततर्फ ९४.५० प्रतिशत खर्च भएको महालेखा परीक्षकको ६२ औं प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चालु खर्चअन्तर्गत सभा तथा समितितर्फ संघीय सदनको बैठक र परिवहन खर्च ५ करोड २० लाख, पारिश्रमिक खर्च ४८ करोड ८३ लाख, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको भवन तथा परिसरको वार्षिक भाडा १४ करोड ९८ लाख २९ हजार तथा बाँकी बजेट सचिवालयका कर्मचारी एवं कार्यालय सञ्चालन तथा स्वीकृत वार्षिक कार्यक्रममा खर्च भएको हो ।

प्रतिनिधि सभा अन्तर्गत पहिलो अधिवेशनदेखि चौथो अधिवेशनसम्म ४९० दिनमा १७२ पटक बैठक बसेको थियो भने राष्ट्रिय सभाको अधिवेशन अवधि ४९० दिनमा १२७ पटक बैठक बसेको थियो ।

संघीय संसदका पदाधिकारी तथा सांसदहरुको सचिवालयका लागि १९ करोड ४१ लाख खर्च भएको महालेखाले जनाएको छ ।

पदाधिकारी र सदस्यहरुको सचिवालयमा रहने कर्मचारीको दर्जा र संख्या उल्लेख भए पनि कर्मचारीहरुको योग्यता र पदपूर्ति प्रक्रियाबारे ऐनमा उल्लेख नभएको र यस वर्ष निजी सचिवालयका अधिकृतस्तरका ३१७ र सहायकस्तरका ११६ समेत ४३३ कर्मचारीको पारिश्रमिकमा उक्त रकम खर्च भएको महालेखाले जनाएको छ । निजी सचिवालयका कर्मचारीको शैक्षिक योग्यतासम्बन्धी मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याउनु पर्ने महालेखाले औंल्याएको छ ।

त्यस्तै यो वर्ष पदाधिकारीहरुको औषधी उपचार खर्च शीर्षकमा ३० लाख ४२ हजार र औषधी खरिदमा २८ लाख ९५ हजार, मेडिकल बोर्ड बैठक भत्ता ३ लाख र काजमा रहेका स्वास्थ्य सेवाका ३ जनालाई २३ लाख १४ हजारसमेत ८५ लाख ५१ हजार रुपैयाँ खर्च भएको छ ।

संघीय संसद सचिवालयको यो वर्ष १६ लाख ३९ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि १ लाख ५४ हजार फर्स्योट गरेकाले १४ लाख ८५ हजार बेरुजु बाँकी रहेको महालेखाले उल्लेख गरेको छ ।

Skip This