
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन कतारका शाही परिवारबाट बोइङ (बीएएन) ७४७–८ विमान उपहारस्वरूप स्वीकार गर्न लागेको छ । जसलाई भविष्यमा एयर फोर्स वनका रूपमा प्रयोग गर्न मिल्ने गरी बनाइने स्रोतले जनाएको सीएनएनले समाचारम उल्लेख गरेको छ ।
यो लग्जरी विमान अमेरिकी सरकारले अहिलेसम्म पाएको सबैभन्दा मूल्यवान उपहारहरूमध्ये एक हुने जनाइएको छ र ट्रम्पले पद छोडेपछि उक्त विमानलाई उनको राष्ट्रपति पुस्तकालयमा दान गरिने योजना बनाइएको स्रोतको दाबी छ । नयाँ बोइङ ७४७–८ को मूल्य करिब ४०० मिलियन डलर (करिब ५४ अर्ब नेपाली रुपैयाँ) पर्छ।
आइतबार साँझ ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै यो प्रस्ताव पुष्टि गरेका छन् ।
उनले लेखेका छन्: ‘रक्षा मन्त्रालयले निःशुल्क रूपमा एउटा ७४७ विमान उपहारस्वरूप पाउँदैछ, जुन अस्थायी रूपमा ४० वर्ष पुरानो एयर फोर्स वनलाई प्रतिस्थापन गर्न प्रयोग हुनेछ, त्यो पनि निकै सार्वजनिक र पारदर्शी तरिकाले । यसले ‘डेमोक्र्याटहरू’लाई यति धेरै झोँक चलाएको छ कि उनीहरू यो विमानका लागि अत्यधिक मूल्य तिर्न दबाब दिइरहेका छन् ।’
तर डेमोक्र्याट नेताहरू र सुशासन पक्षधरहरूले कतारको यस्तो उपहार अनैतिक मात्र नभई सम्भवतः असंवैधानिक भएको टिप्पणी गरेका छन्।
‘कतारद्वारा प्रदान गरिएको एयर फोर्स वन’अमेरिका फर्स्ट’ भन्ने नारा यत्तिकै गम्भीर बनाइदिने कुरा हो,’ सिनेट डेमोक्र्याट नेता चक शुमरले एक्स (पूर्व ट्विटर) मा लेखेका छन्, ‘यो केवल घुस होइन, यो त विदेशी प्रभावको प्रथम श्रेणी सेवा हो, अतिरिक्त लेगरूमसहित ।’
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले विदेशी सरकारबाट दिइने कुनै पनि उपहार सबै लागु हुने कानुनअनुसार पूर्ण पालना गर्दै स्वीकार गरिने बताइन् । राष्ट्रपति ट्रम्पको प्रशासन पूर्ण पारदर्शितामा प्रतिबद्ध रहेको उनको भनाइ छ ।
कतार सरकारका प्रवक्ता अली अल–अन्सारीले अमेरिकी रक्षा मन्त्रालय र कतारको रक्षा मन्त्रालयबीच एयर फोर्स वनका रूपमा अस्थायी प्रयोगका लागि विमान हस्तान्तरणको सम्भावना मात्र छलफलको चरणमा रहेको र अझै कुनै निर्णय नभएको बताएका छन् ।
यो प्रस्तावबारे पहिलोपटक एबीसी न्यूजले आइतबार रिपोर्ट गरेको थियो।
ट्रम्पले हालका वर्षहरूमा एयर फोर्स वनका लागि दुई नयाँ ७४७–८ विमानको डेलिभरीमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै आएका छन् । पहिलो कार्यकालमै उनले बोइङसँग यी विमानहरू २०२४ सम्ममा डेलिभर गरिने सर्तमा सम्झौता गरेका थिए । तर अमेरिकी वायुसेनाका एक अधिकारीले गत हप्ता संसदमा भनेअनुसार बोइङले अब ती विमानहरू सन् २०२७ सम्ममा मात्र तयार पार्ने प्रस्ताव राखेको छ ।
फेब्रुअरी महिनामा ट्रम्पले फ्लोरिडास्थित पाल्म बिच अन्तर्राष्ट्रिय विमानस्थलमा पार्क गरिएको कतारको स्वामित्वको ७४७–८ विमानको अवलोकन गरेका थिए। त्यो समय ह्वाइट हाउसले भनेको थियो कि राष्ट्रपति ट्रम्पले नयाँ एयर फोर्स वन विमानको आन्तरिक संरचना बुझ्नका लागि अवलोकन गरेका हुन् ।
वाशिङ्टनस्थित सुशासन संस्था सिटिजन्स फर रेस्पोन्सिबिलिटी एन्ड इथिक्सका प्रवक्ता जोर्डन लिबोविट्जले भनेले भने, विदेशी सरकारबाट कांग्रेसको स्वीकृति विना अमेरिकी अधिकारीले उपहार लिन नपाउने संविधानको प्रावधान उल्लंघन हुन सक्ने बताएका छन् ।
ट्रम्प यस साता मध्यपूर्व भ्रमणको क्रममा कतार जाँदैछन् । तर विमान त्यहीँ हस्तान्तरण हुने वा स्वीकारिने छैन ।
एबीसी न्यूजले स्रोतहरू उद्धृत गर्दै ह्वाइट हाउसको कानुनी सल्लाहकार कार्यालय र न्याय विभागका वकिलहरूले यो विमान रक्षा मन्त्रालयले उपहारका रूपमा स्वीकार गरेर पछि ट्रम्पको राष्ट्रपति पुस्तकालयलाई हस्तान्तरण गर्नु संविधानसम्मत र कानुनी हुने निष्कर्ष निकालेका छन्।








प्रतिक्रिया