पाकिस्तानलाई मोदीको चेतावनी : ‘न्युक्लियर ब्लाकमेल’ भारतलाई सह्य हुँदैन

1k
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आफूहरूलाई ‘न्युक्लियर ब्लाकमेल’ सह्य नहुने चेतावनी दिएका छन्।

सोमबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानको ब्लाकमेलविरुद्ध निर्णायक कदम चाल्ने चेतावनी दिएका हुन्।

‘भारत कुनै पनि न्युक्लियर ब्लाकमेल’ सहने छैन। न्युक्लियर ब्लाकमेलबाट पलाएको आतंकलाई भारतले सटिक र निर्णायक प्रहार गर्नेछ,’ प्रधानमन्त्री मोदीले भने। उनले आतंकवादलाई कुनै कुरासँग पनि दाँजेर भारतले नहेर्ने स्पष्ट पारे।

‘भारतको मत एकदम स्पष्ट छ। आतंक र वार्ता एकसाथ हुने छैन। आतंक र ट्रेड एकसाथ चल्ने छैन। पानी र रगत पनि एकसाथ बहने छैन। म आज विश्व समुदायलाई भन्दैछु, हाम्रो घोषित नीति रहँदै आएको छ, यदि पाकिस्तानसँग कुरा भयो भने आतंकविरुद्ध नै हुनेछ। यदि कुरा भयो भने पाक अकुपाइड कश्मीरमाथि नै हुनेछ,’ उनले भने।

प्रधानमन्त्री मोदीले भारतीय हतियारहरुको सराहना पनि गरे। उनले २१औं शताब्दीमा भारतीय हतियार सक्षम रहेको प्रमाणित भएको दाबी गरे। यद्यपि यो युद्धको युग नभएको उनको भनाइ छ।

पाकिस्तानले गुहार गरेपछि युद्धविराम

मोदीले पाकिस्तानको आग्रहमा भारत युद्धविराम गर्न तयार भएको बताएका छन्। मोदीले पाकिस्तानका डीजीएमओले सम्पर्क गरेर आग्रह गरेपछि युद्धविराम गरिएको बताए।

उनले भारतको कारबाही थेग्न नसकेपछि पाकिस्तानले संसारसँग गुहार मागेको बताए। सोही क्रममा १० मेमा पाकिस्तानी पक्षले भारतीय पक्षसँग सम्पर्क गरेर युद्ध रोक्न आग्रह गरेको उनको भनाइ छ।

‘पाकिस्तानले तनाव कम गर्न संसारभरि गुहार लगाइरहेका थिए। तबसम्म हामीले पाकिस्तानमा रहेको आतंकवादको संरचनालाई ध्वस्त पारिसकेका थियौं। आतंककारीहरू मारिएका थिए। पाकिस्ताको मुटुमा बस्ने आतंकी अड्डालाई खण्डहर बनाइदिएका थियौं। त्यसपछि पाकिस्तानबाट गुहार लगाइयो। उसबाट अगाडि कुनै आतंकी र सैन्य दुस्साहस नदेखाउने प्रतिबद्धता जनाइयो। अनि भारतले पनि विचार गर्‍यो। म फेरि दोहोर्‍याए भन्छु, अपरेसन सिन्दुर अहिले स्थगित मात्र गरेका हौं,’ उनले भने।

उनले पाकिस्तानको व्यवहारमा आगामी रणनीति तय गरिने बताए।

‘हामीले अपरेसन सिन्दुरलाई अहिले स्थगितमात्र गरेका छौं। पाकिस्तानको प्रत्येक कदमलाई हामीले नियालिरहेका छौं। उसको व्यवहारअनुसार नै हामी अगाडि बढ्नेछौं,’ उनले भने।

भारतीय कारबाहीमा १०० बढी आतंककारी मारिए
मोदीले ‘अपरेसन सिन्दुर’ अभियानमा सयभन्दा बढी आतंककारी मारिएको दाबी गरेका छन्। प्रधानमन्त्री मोदीले खुंखार अपराधीहरू मारिएको बताए।

उनले गत २२ अप्रिलमा पहलगाममा आतंकवादीहरूले घटाएको घटनामा निर्दोष नागरिकहरूको वीभत्स हत्या गरेको बताए। उनीहरूका परिवार र छोराछोरीकै सामुन्ने धर्म सोधेर क्रूरतापर्वक हत्या गरिएकाले त्यसविरुद्ध अपरेसन सिन्दुर अभियान सञ्चालन गरेको उनको भनाइ छ।

‘आतंकवादीहरूले हाम्रा बहिनीहरूको सिन्दुर पुछिदिएका थिए। त्यसविरुद्धको कारबाहीमा भारतले आतंकवादीको हेडक्वाटर नै उजाडी दिए। भारतको यो आक्रमणमा १०० भन्दा बढी खुंखार आतंककारी मारिए। अपरेसन सिन्दुरलाई म देशका हरेक आमा, बहिनी र छोरीहरुलाई समर्पित गर्न चाहन्छु,’ उनले भने।

प्रधानमन्त्री मोदीले आतंकवादीलाई पाकिस्तानले पोस्दै आएको बताए। त्यही आतंकवादीको संरक्षणले पाकिस्तान एकदिन आफै सिद्धिने उनको भनाइ छ।