काभ्रेको रोशी खोलामा बाढीः बीपी राजमार्ग अवरुद्ध, एकजना वेपत्ता

644
Shares

काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी खोलामा सोमबार राति आएको बाढीका कारण बीपी राजमार्गको आवागमन ठप्प भएको छ ।

रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको एक खण्ड बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीले रोशी गाउँपालिका–१२ मङ्गलटारतर्फको माम्तीस्थित सडक खण्ड क्षतिग्रस्त बनाएपछि सवारी आवागमन ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहका अनुसार राजमार्गमा यात्रा गरिरहेका सवारी साधनहरूलाई सुरक्षित स्थानमा रोकेर राखिएको छ। अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनका अनुसार प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ ।

उनले भने, “यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै केही सवारीहरूलाई सिन्धुलीतर्फ फर्काइएको छ।”

प्रहरी र स्थानीय प्रशासनको समन्वयमा सडक पुनः सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको छ। बाढीको बहाव क्रमशः घट्दै गएको र क्षति मूल्याङ्कन तथा मर्मत कार्यको तयारी भइरहेको शाहले जानकारी दिए।

बीपी राजमार्ग काठमाडौंलाई तराईसँग जोड्ने महत्त्वपूर्ण सडक हो। यो अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गर्नु पर्ने अवस्था सिर्जना भएको छ।

स्थानीय प्रशासनले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्र नपार गर्न आग्रह गरेको छ।

रोशी–कोलाँती क्षेत्रमा बर्खा नलाग्दै सोमबार बाढी आएको छ। सोमबार दिउँसो परेको अविरल वर्षापछि बाढी आउँदा एक जना महिला बेपत्ता भएकी छन्। उनको अवस्था हालसम्म पनि अज्ञात छ।

पनौती नगरपालिका–५ स्थित सुब्बा गाउँमा कुलोले बगाउँदा सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी काभ्रे प्रहरीले जनाएको छ ।

गत असोज १० देखि १३ गते तीन दिनसम्म परेको वर्षाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्रमा ठुलो क्षति भएको थियो ।

बाढीले बगाएका संरचनाहरु अझै पुनः निर्माण हुन सकेका छैनन् । पनौती नगरमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो । पाँच सय ८६ घर पूर्ण तथा नौ सय ४४ घर आंशिक क्षति पुगेको थियो ।