
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिका र चीनबीचको व्यापार वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ भएको बताएका छन् ।
यो टिप्पणी उनले आफ्नो उच्च दरको ट्यारिफपछि सुरु भएको व्यापार युद्धमा सम्भावित शिथिलता देखिँदै गर्दा गरेका हुन् ।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन, ‘आज स्विजरल्याण्डमा चीनसँग एकदमै राम्रो बैठक भयो । धेरै विषयमा छलफल भयो, धेरै कुरामा सहमति प्राप्त भयो । सबै कुरा सौहार्दपूर्ण तर रचनात्मक तरिकाले पुनः सुरुवात गरियो । चीन र अमेरिका दुवैको हितको लागि हामी चीनले अमेरिकी व्यवसायका लागि आफ्नो बजार खोलोस् भन्ने चाहन्छौं । अद्भुत प्रगति भयो !’
यो टिप्पणी ट्रम्पले दिएको पहिलो अभिव्यक्ति थियो, जुन जिनेभामा अमेरिकी अधिकारीहरू, वित्त सचिव स्कट बेसन्ट र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियर, तथा चिनियाँ अधिकारीहरूबीच भएको वार्तापछि आएको हो । वार्ताको जानकारी राख्ने एक स्रोतका अनुसार वार्ता आज(आइतबार) पनि जारी रहनेछ ।
यसै साता सुरुमा बेसन्टले आम जनतालाई यी वार्ताबाट कुनै ठूलो व्यापार सम्झौताको अपेक्षा नगर्न भनेका थिए, तर उनले यो वार्ता महत्वपूर्ण कदम भएको स्वीकार गरेका थिए ।
चीनतर्फबाट उपप्रधानमन्त्री हे लिफेङ वार्ताको नेतृत्व गरिरहेका छन् ।
अमेरिकाले अधिकांश चिनियाँ आयातमा न्यूनतम १४५% ट्यारिफ लगाएको छ भने चीनले अधिकांश अमेरिकी आयातमा १२५% ट्यारिफ लगाएको छ । त्यसको परिणामस्वरूप दुवै देशबीचको व्यापार तीव्र रूपमा घटेको छ ।
ट्यारिफको दर आधा घटाए पनि व्यापार स्तरमा उल्लेख्य सुधार नआउने सम्भावना अर्थशास्त्रीहरूले बताएका छन् । उनीहरूका अनुसार व्यापार सामान्य अवस्थामा फर्कनका लागि ५०% ट्यारिफको सीमा निर्णायक हुन सक्छ ।
शुक्रबार जब बेसन्ट र ग्रियर स्विजरल्याण्ड प्रस्थान गरेका थिए, त्यसको केही घण्टापछि ट्रम्पले चिनियाँ सामानमा लगाइएको ट्यारिफ ८०% मा झार्ने सम्भावनाको संकेत दिएका थिए र चीनलाई आफ्नो बजार अमेरिकाका लागि खोल्न माग गरेका थिए ।
ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन, “चीनका लागि ८०% ट्यारिफ उचित देखिन्छ । स्कट बेसन्टमाथि निर्भर छ ।”
कम सामान अमेरिका भित्रिनु र आयात भएका सामानको मूल्य बढ्नुले अमेरिकी उपभोक्ताका लागि महँगी बढ्न थालेको छ ।
गोल्डम्यान स्याक्सका विश्लेषकहरूका अनुसार ट्रम्पको व्यापार युद्धका कारण मुद्रास्फीति मापन गर्ने एक प्रमुख सूचक वर्षको अन्त्यसम्ममा दोब्बर भएर ४% पुग्नेछ ।
१४५% ट्यारिफका अधीनमा रहेका सामानहरु अहिले अमेरिकी बन्दरगाहहरूमा आइरहेका हुँदा, व्यापार सम्झौता भएसँगै मूल्यहरू तत्काल घट्ने अवस्था छैन ।
अमेरिकीहरू चिनियाँ वस्तुमाथि अत्यधिक निर्भर छन् भन्ने कुरा अझ गहिरो छ । जुत्ता, कपडा, विद्युतीय उपकरण, चिप्स, बच्चाका सामान, खेलकुद सामग्री, कार्यालय उपकरणका पार्टहरू जस्ता हजारौं वस्तुहरू चीनबाट अमेरिकामा ठूलो परिमाणमा आउँछन् ।

तर अहिले ती वस्तुको आयात घट्दैछ । राष्ट्रिय खुद्रा महासंघका अनुसार २०२५ को दोस्रो छमाहीमा अमेरिका भित्रिने वस्तुको मात्रा अघिल्लो वर्षको तुलनामा कम्तीमा २०% ले घट्नेछ ।
चीनबाटको आयात झनै धेरै घट्ने अनुमान छ । जेपी मोर्गन इन्भेस्टमेन्ट बैंकले चीनबाट आयात ७५% देखि ८०% सम्म घट्ने अनुमान गरेको छ ।
आर्थिक प्रभाव
व्यापार युद्धले अमेरिकी अर्थतन्त्रलाई पहिले नै असर गर्न थालेको छ । अमेरिकी कुल गार्हस्थ्य उत्पादनमा सन् २०२२ को सुरुतिरपछिको पहिलो त्रैमासिक गिरावट आएको छ ।
अत्यधिक ट्यारिफको असर चीनमा पनि गहिरो रूपमा परेको छ । अप्रिलमा अमेरिका निर्यात हुने चिनियाँ सामानहरू तीव्र रूपमा घटेका छन् । अप्रिल २०२५ मा चीनले अमेरिका निर्यात गरेको सामानको मूल्य ३३ अर्ब डलरमा झरेको छ, जुन अप्रिल २०२४ को ४१.८ अर्ब डलरको तुलनामा यो २१% ले कम हो ।
अत्यधिक अमेरिकी ट्यारिफले चीनको उत्पादन क्षेत्र पनि गम्भीर रूपमा प्रभावित बनाएको छ । चिनियाँ कारखाना गतिविधि अप्रिलमा पछिल्लो १६ महिनामै सबैभन्दा तीव्र दरमा खुम्चिएको छ, जसले बेइजिङलाई नयाँ आर्थिक प्रोत्साहन ल्याउन थप दबाब दिएको छ ।
बेसन्ट र ग्रियर चिनियाँ अधिकारीहरूसँग जिनेभामा भेट्ने खबरले दुई राष्ट्रबीचको सम्बन्ध सहज हुने आशा जगाएको छ । अमेरिका र चीन क्रमशः विश्वकै पहिलो र दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । विश्व बैंकको तथ्याँक अनुसार यी दुईको संयुक्त आकार बाँकी शीर्ष २० राष्ट्रहरूको कुल अर्थतन्त्रभन्दा पनि ठूलो छ ।








प्रतिक्रिया