भारतको ‘अपरेशन सिन्दूर’को काउन्टरमा पाकिस्तानले सुरु गर्‍यो ‘बुनयान-उल-मरसूस’ अपरेशन

3.2k
Shares

एजेन्सी । भारतले ‘अपरेशन सिन्दुर’ को नाममा पाकिस्तानमाथि आक्रमण थालेसँगै पाकिस्तानले त्यसको प्रतिउत्तरमा नयाँ अप्रसेन थालेको छ ।

पाकिस्तानी सेनाले ‘बुनयान-उल-मरसूस’ नामक प्रतिउत्तरात्मक अपरेशनअन्तर्गत भारतको ब्यास क्षेत्रमा रहेको ब्रह्मोस मिसाइल भण्डारण स्थल ध्वस्त पारेको सरकारी सञ्चारमाध्यमहरू पीटीभी न्यूज र रेडियो पाकिस्तानले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै जनाएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।

‘बुनयान-उल-मरसूस’ को अर्थ हो कंक्रिट संरचना वा बलियो आधार । वक्तव्यमा भारतका अन्य स्थानहरूमा आक्रमण जारी रहेको पनि उल्लेख छ ।

भारतको उधमपुरको एक हवाई आधारशिविर र पठानकोटको एक हवाई क्षेत्र पनि ध्वस्त पारिएको पाकिस्तानको दाबी छ ।

‘भारतका ती सबै आधारहरू, जुन पाकिस्तानका नागरिक र मस्जिदहरूमा आक्रमण गर्न प्रयोग गरिएका थिए, अहिले लक्षित गरिँदै छन्,’ विज्ञप्तिमा भनिएको छ ।

भारतले मे ७ राति पाकिस्तानभरि ‘अपरेशन सिन्दूर’ अन्तर्गत एकसाथ आक्रमण सुरु गरेको थियो । आईएसपीआर (पाकिस्तानी सेनाको जनसम्पर्क विभाग) का अनुसार ६ स्थानमा २४ वटा आक्रमण भएका थिए । जसमा ३३ जना पाकिस्तानी नागरिक मारिए भने ७६ जना घाइते भए ।

पाकिस्तानी सेनाले तत्काल प्रतिक्रिया दिँदै ५ वटा भारतीय लडाकु विमान खसाल्यो र भारतीय ब्रिगेड मुख्यालय तथा नियन्त्रण रेखा (एलओसी) का चेकपोस्टहरू ध्वस्त पारेको दाबी गरेको छ ।

मे ७ यता पाकिस्तानले ७७ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ ।

भारतले मे १० मा तीनवटा पाकिस्तानी हवाई अड्डाहरूमा सतह-देखि-आकाशसम्म प्रहार हुने मिसाइलहरू प्रक्षेपण गरेको दाबी गरिएको छ । पाकिस्तानले प्रतिउत्तरमा ‘अपरेशन बुनयान-उल-मरसूस’ सुरु गर्‍यो।

यस सैन्य तनावको सुरुवात पहलगाममा २६ जनाको हत्या हुनेगरि भएको आतंकवादी आक्रमणपछि भएको हो ।