महत्त्वाकांक्षा र मिसम्यानेजमेन्टले सिद्धिएको विराटनगरको मंगतुराम समूहको कथा


किराना पसलबाट सफलता कमाउँदै मंगतुरामले धानचामलको व्यापार हुँदै ०४७ देखि ०५७ सम्ममा स्थापना गरेको दर्जन उद्योग दोस्रो पुस्तालाई हस्तान्तरण गरेपछिको व्यस्थापकीय कमजोरीले उद्योगिक शाख नै सक्कियो । इन्डोनेसियाबाट आयात गरेको पाम आयल फिर्ता हुँदा फसेको २० करोडले यो समूहलाई थप कमजोर बनाउँदै हाल १ अर्ब ३८ करोडको ऋणको दलदलमा फसाएको छ ।

विराटनगर । कुरो २०२३–२४ साल तिरको हो । हालको जलजला चोक, विराटनगरमा एउटा किराना पसल खुलेको थियो । त्यो पसल थियो, मंगतुराम अग्रवालको । उनी सीमापारी जोगवनीबाट सामान ल्याएर बेच्थे ।

मंगतुरामको किराना पसलमा त्यसबेलाको आवश्यकता अनुसारका सबै सामान पाइन्थ्यो । मंगतुरामको पसल भनेर सबैले चिन्थे।

उमेरले ८३ टेकेका ताराचन खेतान मंगतुरामका ग्राहक हुन् । विराटनगरका अग्रज उद्योगी खेतानको संस्मरणअनुसार मंगतुरामको कमाइ निकै राम्रो थियो ।

विराटनरको जलजलामोडस्थित मंगतुरामको किराना पसल भएको स्थान, पछाडि उनको निवास जहाँ हाल उनका माइला छोरा सुरेश बस्छन् ।

मंगतुराम अहिले ९५ वर्षका भए । कानूनका विद्यार्थीसमेत रहेका मंगतुराम २०३० को दशकमा निजी क्षेत्रको जेठो संस्था मोरङ व्यापार संघका सचिव पनि थिए ।

संघको सचिव भएकै नाताले उनलाई भारतीय रेल्वे सेवाले जोगबनी रेल्वेका लागि जनरल रेल्वे कोअर्डिनेटर समिति (जीआरसीसी)मा पनि राखेको थियो । सोही कमिटीको सदस्य भएकाले मंगतुराम जोगबनी रेल्वेसेवाबाट हुने आयात निर्यातमा स्थानीय उद्योगी व्यवसायीलाई सहजीकरण गरिदिन्थे । सोही कर्मले उनी विराटनगरका उद्योगी व्यवसायीबीच सहयोगी र इमानदार व्यवसायीका रुपमा लोकप्रिय बनेका थिए ।

वि.सं. २०२१ देखि २०२३ सम्म शम्भुप्रसाद रिजाल र २०२४ देखि २०२७ सम्म मदनलाल अग्रवाल मोरङ व्यापार संघको अध्यक्ष हुँदा मंगतुराम सचिव थिए ।

मंगतुरामसँगै विराटनगरमा जुटको व्यापार सुरु गरेका ताराचनलाई अझै हेक्का छ, ‘रेल्वे सेवाबाट हुने आयात निर्यात व्यापारमा स्थानीय उद्योगी व्यवसायीलाई सहयोग गर्दै आफ्नो किराना पसललाई सफलताको शिखरमा पुर्‍याएका मंगतुराम शंकरलाल, सत्यनारायण, रतनलाल र मोतीलाल धनावत गरी चार दाजुभाइको धनावत समूहमा वर्किङ पार्टरका रुपमा प्रवेश गरे ।’ यो २०३० को दशकको कुरो हो । धनावत समूह गणेश बिँडी र धनावत सलाई उद्योग सञ्चालन गर्ने भएकाले खुब कहलिन्थ्यो ।

मंगतुरामले त्यसबेलै भारतको कोलकाताबाट कानूनमा एलएलबी गरेका थिए ।

धनावत समूहसँग मिलेर मंगतुरामले भारत र बंगलादेश धान चामल निकासीको व्यापार गरे । त्यसबेला नेपालको धान र चामल भारत र बंगलादेश निकासी हुन्थ्यो ।

आफ्नो किराना पसल र धनावतसँगको धान चामल निकासी व्यापारबाट मंगतुरामले राम्रो पैसा कमाए । ताराचन सम्झन्छन्, ‘त्यही पैसाले मंगतुरामले सुनसरीको दुहवीमा पशुपति सोप इण्डष्ट्रिज खोले ।’ धनावत समूहसँग संयुक्त लगानीमा २०४० को दशकमा साबुन उद्योग खोलेर मंगतुराम उद्योगमा प्रवेश गरे ।

व्यावसायिक उडान

किराना पसलबाट सफलता कमाउँदै गएपछि २०३० को दशकमा मंगतुराममा धनावत समूहको आँखा पर्‍यो ।

कानूनका जानकार, तत्कालीन समाजमा घुलमिल भएका र व्यापारमा सफलता कमाउँदै गएका मंगतुरामसँग मिलेर कारोबार गर्दा आइपर्ने कानूनीदेखि व्यावहारिक समस्या सहज निवारण गर्न सजिलो हुने अपेक्षा धनावत समूहमा थियो । त्यसैले धनावतले मंगतुरामलाई बिजनेस पार्टनर बनायो । त्यतिबेला विराटनगरका व्यवसायीलाई पर्ने झन्झट मंगतुरामले नै निवारण गर्थे।

मंगतुरामसँगको धान चामलको कारोबारले सफलता पाउँदै गएपछि धनावत समूह उनीप्रति आकर्षित भएको थियो । पशुपति सोप इन्डस्ट्रिजले उत्पादन गर्ने सुपर टप, मयुर लगताका ब्रान्डका साबुनले खुब ख्याति कमाएको थियो, उतिबेला ।

धनावत र मंगतुरामले उक्त पहिलो साबुन उद्योग खोले पनि त्यसको रेखदेख गर्ने सबै जिम्मा नातामा भतिज पर्ने शंकरलाल अग्रवाललाई दिएका थिए । उद्योगले राम्रो कमाइ गर्दै गर्दा शंकरको प्रभाव बढ्दै गयो । शंकरले बेइमानी गरेर उद्योग नै हडपेपछि मंगतुराम र धनावत समूहले उक्त उद्योग शंकरलाई जिम्मा लगाए ।

त्यसपछि धनावत समूह र मंगतुरा अलग्गिए । वि.सं. २०४७ मा धनावत समूहले मोरङको टंकसिनबारीमा हिमालयन सोप र मंगतुरामले आफ्नो एकल लगानीमा पहिलो उद्योग अन्नपूर्ण सोप उद्योग स्थापना गरे । अन्नपूर्ण सोप इन्डस्ट्रिज औद्योगिक क्षेत्रमा मंगतुरामको पहिलो पाइला थियो ।

मंगतुरामको एकल लगानी रहेको पहिलो उद्योग अन्नपूर्ण सोप इन्डस्ट्रिजको खण्डहर गेट ।
तत्कालीन अन्नपूर्णभित्र गणेश प्लास्टिक र नारायण भेजिटेबलको उद्योग

मंगतुराम समूहको उदय

आफ्नो एकल लगानीमा २०४७ मा अन्नपूर्ण सोप उद्योगको स्थापना गरेसँगै मंगतुराम औद्योगिक समूहको उदय भयो । त्यसबेलासम्ममा उनका पाँच भाइ छोराहरु सुवोध, सुरेश, कृष्ण, दामोदर र नारायण हुर्किसकेका थिए ।

उद्योग स्थापना गर्दा पनि मंगतुरामको पुरानो किराना पसल चलिरहेकै थियो । जेठा छोरा सुवोधले उद्योगको कमान्ड सम्हाले । बाँकी चार भाइ सुवोधका सारथी बने । उद्योग व्यापारसँगै सुवोध प्रहरी प्रशासन र बैंकका कर्मचारीसँग नजिकिँदै गए ।

सुवोध प्रहरी प्रशासन र राष्ट्रिय वाणिज्य बैंक रानी विराटनगर शाखाका कर्मचारीको विश्वासिला पात्र बन्दै गए । त्यसकै आधारमा वाणिज्य बैंक रानी शाखाका कर्मचारीले मंगतुराम समूहलाई आँखा चिम्लेर ऋण स्वीकृत गर्न थाल्यो । ऋणमै टेकेर मंगतुराम समूह धमाधम उद्योग खोल्न तर्फ लाग्यो । उद्योगतिर लागेपछि उनको पुरानो व्यवसाय किराना पसल बन्द भयो ।

राष्ट्रिय वाणिज्य बैंकको रानीशाखा ।

मंगतुराम समूहले दशकभित्रमै दर्जन उद्योग खोलेर औद्योगिक नगर विराटनगरमा अन्य औद्योगिक समूहलाई चकित पार्न थाल्यो। अन्य उद्योगीहरु लगानीका नयाँ क्षेत्र खोज्न र थप लगानी गर्न बाध्य बने । मंगुरामले विराटनगरमा प्रतिस्पर्धाको नयाँ युग सुरु गरे ।

मंगतुराम समूहले २०४७ देखि २०५७ सम्ममा अन्नपूर्ण आईरन, नारायण भेजिटेबल, गणेश प्लास्टिक, जयकाली बिस्कुट एन्ड कन्फेक्सनरी, दन्तकाली प्याकेजिङ, लक्ष्मी फुटवेयर, घटस्थापना इन्टरप्राइजेज तथा फूलपाती इन्टरप्राइजेज लगायतका उद्योग र निट कम्प्युटर केन्द्र स्थापना गरेर सुनसरी मोरङ औद्योगिक क्षेत्रमा आफनो छुट्टै पहिचान बनायो ।

मंगतुराम समूहका उद्योगसँग प्रतिष्पर्धा गर्न अन्य उद्योगीलाई धौधौ नै परेको थियो ।

दन्तकाली प्याकेजिङ, लक्ष्मी फुटवेयरको भग्नावशेष ।
दन्तकाली प्याकेजिङ, लक्ष्मी फुटवेयरको भग्नावशेष ।

क्षणभरमै पलायन

समयक्रममा मंगतुरामले सबै कारोबार छोराहरुलाई सुम्पिए । त्यसको दशकभित्रमा छोराहरुले उनको नाममा छुट्टै औद्योगिक समूह स्थापना गरे । तर छोराहरुको बढ्दो महत्वकांक्षा, कुशल व्यवस्थापनको अभाव र वित्तीय संस्थाबाट लिएको ऋणको सदुपयोग गर्न नसक्दा यो समूह क्षण भरमै पलायन बन्यो ।

जसरी मंगतुराम समूहको उदय भयो त्यसरी नै क्षणभरमै समूहको पतन पनि । मंगतुराम समूहलाई नजिकबाट बुझेका ८३ वर्षीय ताराचनका अनुसार पनि मंगतुरामका पाँच भाइ छोराहरुको बढ्दो महत्वकांक्षा, कुशल व्यवस्थापनको अभाव र बैंकको कर्मचारीलाई प्रभावमा पारेर जथाभावी ऋण लिएर पनि सदुपयोग गर्न नसक्दा समूहकै पतन भयो ।

मंगतुरामका पाँच छोरामध्ये कुनै पनि बेइमानी र चरित्रहीन थिएनन् । पाँचै जना इमानदार र भलाद्मी थिए, बुबा जस्तै । उनीहरुले दशक भित्रमा विराटनगरको औद्योगिक क्षेत्रमा तहल्का मच्चाएका थिए ।

घटस्थापना इन्टरप्राइजेज र फूलपाती इन्टरप्राइजेज रहेको स्थान जहाँ हाल दुहबी नगर अस्पताल सञ्चालनमा छ ।

उद्योगमा के भइरहेको छ ? त्यसको अनुगमन नगर्ने, लगानीको प्रतिफल के छ ? हिसाब नहेर्ने, कुन कर्मचारीले उद्योगको आम्दानी अपचलन गरेको छ ? हेरविचार नगर्ने । यस्ता कमजोरी नै मंंगतुराम औद्योगिक समूह पतनको प्रमुख कारण बन्यो ।

मंगतुरामका जेठा छोरा सुवोधको प्रहरी प्रशासन र बैंकका कर्मचारीसँग राम्रै उठबस थियो । प्रहरीको एउटा भ्यान दिनहुँ उनको घरमा हुन्थो ।

त्यसबेला विराटनगर आउने प्रहरीका एसपी, सीडीओ लगायतलाई आवश्यक पर्ने सामग्रीको जोहो सुवोधले नै गर्थे । पुलिस, सीडीओसँग हिमचिम भएकै कारण बैंकका कर्मचारीले पनि सुवोधलाई खुब पत्याउँथे । प्रहरी प्रशासन रिज्याउन खप्पिस् सुवोधले त्यसबेला सरकारबाट वर्षैपिच्छे गोरखा दक्षिणबाहु जस्ता ठूलाठूला पदक थापिरहे ।

यत्रो मान, पद र सम्मान तथा शक्तिकेन्द्रसँग नजिक हुनेका लागि बैंकका कर्मचारीलाई लोभ्याउन र आफ्नो स्वार्थअनुसार काम गराउन कुन गाह्रो कुरा रह्यो र ? वाणिज्य बैंक विराटनगर रानी शाखाका कर्मचारीले सुवोधले मागेजती ऋण स्वीकृत गरिदिन्थे ।

यतिसम्म कि बैंकका क्यासियरले बैंकको रेकर्डमा नलेखि घरैमा पैसा पुर्याउन आउँथे । सुवोध पनि काम भएपछि रकम फिर्ता गर्थे । यो क्रम यसरी नै चलिरह्यो । तर, लामो समय टिकेन । एकपल्ट सुवोधले दिएको चेक बाउन्स भएपछि बैंकका कर्मचारीसँग कुरो बिग्रियो ।

सुवोधले धितो नराखि बैंकका कर्मचारीसँग मिलेर पैसा सापटी लिएको कारण बैंकको आन्तरिक हिसाब मिलान नहुँदा वाणिज्य बैंक रानी शाखाका क्यासियरसहित ३ जना कर्मचारी त बैंकको विभागीय कारबाहीमा समेत परेका थिए ।

केही अवधिमै औद्योगिक समूहको पहिचान बनाएको मंगतुराम समूहको ओरालो यात्रा २०५७ सालबाट सुरु भएको हो ।

मंगतुराम समूहले इन्डोनेसियाबाट आयात गरेको २० करोड रुपैयाँको पाम आयलमा ‘एनिमल फ्याट’ मिसाएको पाइएपछि कोलकाता बन्दरगाहले छाडेन । इन्डोनेसियाको सप्लायरले उक्त पाम आयल फिर्ता लग्यो । तर मंगतुराम समूहलाई २० करोड रकम फिर्ता गरेन ।

त्यो रकम डुबेपछि मंगतुराम समूह ठूलो आर्थिक समस्यामा पर्‍यो र उठ्नै सकेन । निकै मुद्दा मामिला खेप्दा पनि केही सिप चलेन ।

त्यति ठूलो रकम डुबेपछि समूहले सुरुमा बैंकको किस्ता र कर राजस्व तिर्न आनाकानी गर्न थाल्यो । स्थिति बिग्रिएपछि भागाभागको स्थिति आयो । दिनहुँ घरमै आएर रमाउने प्रहरी प्रशासनले मंगतुराम समूहलाई नियन्त्रणमा लियो । अन्ततः समूहको अस्तित्व नै लोप भयो ।

उद्योगहरु चलि नै रहे पनि २०६० सम्म आइपुग्दा ठूलो आर्थिक संकट सामना गर्नुपर्यो ।

२०६३ सालमा सो समूहका केही सदस्य बैंकको ऋण नतिरेको, राजस्व अपचलन गरेको र भन्सार छली गरेको आरोपमा पक्राउ परे । मंगतुरामका जेठा छोरा सुवोध, माइला सुरेश र कान्छा नारायण पक्राउ परे र चार वर्ष कारागार बसे । मंगतुराम र दुई छोरा भारत फरार भए । मंगतुराम यतिबेला भारतको पश्चिम बंगाल सिलिगुढीमा छन् । राष्ट्रिय वाणिज्य बैंकले उतिबेला लिएको कुल ८७ करोड २४ लाख रुपैयाँ (हाल ब्याजसहित १ अर्ब ३८ करोड रुपैयाँ पुगेको) ऋण असुली गर्न समूहको सबै सम्पत्ति लिलामीमा राखेको छ ।

मंगतुरामको सबै सम्पत्ति लिलामीमा

राष्ट्रिय वाणिज्य बैंकले मंगतुराम समूहका सबै कम्पनीको सम्पत्ति धितो लिलाम गरेर आफ्नो लगानी असुली गर्ने प्रक्रिया अगाडि बढाएको छ । २०६० सालमा टाट पल्टेको यो समूहलाई बैंकले २०६२ असारमा कर्जा सूचना केन्द्रको कालोसूचीमा राखेको थियो। केही दिन पहिला मात्र बैंकले मंगतुराम समूहका विभिन्न ९ कम्पनी र उनका परिवारको नाममा रहेको अचल सम्पत्तिको धितो लिलामीको सूचना प्रकाशित गरेको छ ।

समूहका अन्नपूर्ण सोप एन्ड केमिकल, नारायण भेजिटेबल, गणेश प्लास्टिक, जयकाली बिस्कुट, दन्तकाली प्याकेजिङ, लक्ष्मी फुटवेयर, अन्नपूर्ण आइरन, घटस्थापना इन्टरप्राइजेज, फूलपाती इन्टरप्राइजेज लगायतका उद्योगका नाममा एओसीसी, टीएल, बिल्स पर्चेज, क्यास क्रेडिट, औद्योगिक सामान तथा बैंक जमानत शीर्षकमा ८७ करोड २४ लाख ३६ हजार रुपैयाँ ऋण लगानी गरेकामा ऋणको साँवा, ब्याज र हर्जना गरेर यसबेला १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

बैंकले मंगतुराम समूहका व्यक्तिका नाममा रहेको धितो सम्पत्तिको न्यूनतम मूल्य १ अर्ब ४ करोड ५५ लाख ७७ हजार तोकेको छ ।

मंगतुरामका माइला छोरा सुरेश यतिबेला काठमाडौंमा छन् । उनी बैंकको ऋण तिरेर आफ्नो सम्पत्ति फिर्ता ल्याउने प्रयत्नमा छन् ।

उनकाअनुसार मंगतुराम समूहले बैंकबाट ८७ करोड २४ लाख ३६ हजार रुपैयाँ ऋण लिएको हो । ब्याज छुटका लागि अनेक प्रयत्न गर्दा पनि पार नलागेको बताउने सुरेशले क्लिकमान्डुसँग भने, ‘साँवा, ब्याज र हर्जना गरेर तिर्न बाँकी कुल ऋण १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।’

उनकाअनुसार घर, उद्योग र गोदाम रहेको धरान विराटनगर मार्गसँग जोडिएको करिब ४० विघा जमिन र अन्य अचल सम्पत्ति बिक्री गर्न दिने हो भने बैंकको सबै ऋण तिरेर पुनः उद्योग सञ्चालन गर्न सक्ने अवस्था छ । उनले भने, ‘तर सबै जायजेथा बैंकको नियन्त्रणमा रहँदा समस्या भएको छ ।’

बैंकले मंगतुराम समूहको मोरङको टंकीसिनवारीमा रहेको अन्नपूर्ण आइरन, गणेश प्लाष्टिक, लक्ष्मी फुटवेयर, शान्ति फुटवेयर लगायतको उद्योगको नाममा रहेको उसबेलाको मूल्याङ्कन ३५ करोड ६७ लाख मूल्यको सम्पत्ति, सुनसरीको दुहवीमा रहेको अन्नपूर्ण सोपको नाममा रहेको १८ करोड ४९ लाखको जायजेथा, दुहवीमै रहेको कृष्णकुमारको नाममा रहेको ३ करोड ७५ लाख र दामोदरको नाममा रहेको दुहवीकै ३ करोड ९० लाख पुरानो मूल्याङ्कनको चल अचल सम्पत्ति लिलामीमा राखेको छ ।

त्यसैगरी मंगतुराम, सुरेश र दामोदरको नाममा रहेको ९ करोड ७० लाख, मंगतुरामको एकल स्वामित्वमा रहेको विराटनगरको पुरानो मूल्याङ्कनको ६७ लाख २९ हजार मूल्याङ्कनको जायजेथा पनि लिलामीमा राखेको छ । त्यस्तै सुवोध, नारायण, सुमन र शान्तिदेवीको नाममा रहेको विराटनगरको ९ करोड ३९ लाख, सुवोधको एकल स्वामित्वमा रहेको विराटनगरको ४ करोड १५ लाख पुरानो मूल्याङकनको सम्पत्ति पनि बैंकले लिलामी सूचीमा राखेको छ ।

मंगतुराम समूह ब्यूत्याउने स्थानीय उद्योगीको असफल प्रयास
किराना पसलबाट व्यावसायिक यात्रा सुरु गरेर छोटो समयमा औद्योगिक समूहमा परिणत भएको मंगतुराम समूह पलायन हुने क्रममा त्यतिबेला व्यवसायीहरुले प्रयास नगरेका पनि होइनन् । तर, सबै जोडबल बालुवामा पानी झैं भयो ।

मंगतुराम समूहलाई पुनः अस्तित्वमा ल्याउन आफूहरुले अनेक प्रयास गरेको बताउने ८३ वर्षिय ताराचन खेतानले क्लिकमान्डुसँग भने, ‘ब्याजमा आममाफी दिलाउन हामीले प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समक्ष हारगुहार गर्यौं, तर पार चलेन ।’

तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारी र मंगतुराम क्लासमेट थिए । भरतमोहन विराटनगर आएका बेला मोरङ व्यापार संघको सभाकक्षमा विराटनगरका उद्योगीले मंगतुरामका कुरा उठाएका थिए ।

त्यतिबेला मंगतुराम भारतमा लुकेर बसेका थिए । अधिकारीले उल्टै मंगतुराम किन भागेको ? भनेर प्रश्न गरेका थिए । उद्योगीहरुले ९० वर्षको उमेरमा जेलमा जानु भन्दा भाग्नु राम्रो भन्ने जवाफ दिएका थिए । पञ्चायतकालमा पक्राउ पर्ने डरले नेताहरु भारत भाग्ने गरेझैं मंगतुराम भारतमा लुकेको जवाफ दिएका थिए ।

त्यसपछि पनि अधिकारीसहित विभिन्न नेताले मंगतुरामलाई पुनः व्यवसायमा फर्काउन सहयोग गर्ने आश्वासन दिए पनि अहिलेसम्म पूरा हुन सकेको छैन ।

के गर्दैछन् मंगतुराम र उनका छोरा ?
चारवर्ष जेल बसेपछि सुवोध, सुरेश र नारायण कारागार मुक्त भएपछि सुवोध र नारायण भारत छिरे । सुरेश भने विराटनगरको जलजला चोकको साविकको घरमा बसेर मोरङको बुढीगंगामा कार्टुन र प्लाष्टिक उद्योग सञ्चालन गर्दै आएका छन् ।

सुवोध, सुरेश र नारायण पक्राउ परेपछि मंगतुराम साइलो छोरा कृष्ण र काइँलो छोरा दामोदरसँगै भागेर भारत पश्चिम बंगालको सिलिगुढी पुगे । त्यहाँ उनले २०४०–४५ को दशकमा खरिद गरेको सन्नी टावरको फल्याटमा बसोवास गर्दै आएका छन् । त्यही फल्याटमा यसबेला मंगतुरामसँग सुवोध र दामोदर पनि बस्छन् ।

उनका काइँलो छोरो कृष्ण कोलकातामा छन् । एउटा कम्पनीमा काम गर्छन् । उनीहरुलाई नजिकबाट चिन्ने एक उद्योगीका अनुसार कान्छा छोरा नारायण अहिले बिहारको पटनामा व्यापार गर्छ ।

Skip This