
काठमाडौं । भारतीय सेनाको अतिरिक्त लोक सूचना महानिर्देशालय (एडीजी पीआई) का अनुसार पाकिस्तानी सेनाले मे ८ र ९ को मध्यरातमा सम्पूर्ण पश्चिमी सीमामा ड्रोन र अन्य हतियार प्रयोग गरी आक्रमण गरेको छ ।
भारतीय सेनाले एक्स (पूर्व ट्विटर) मा एक भिडियो पोस्ट गर्दै यसबारे जानकारी दिएको हो । पोस्टमा उल्लेख गरिएअनुसार पाकिस्तानी सशस्त्र बलहरूले जम्मु-कश्मीरको नियन्त्रण रेखामा पटक–पटक संघर्षविरामको उल्लङ्घन गरेका छन् । सेनाले भनेको छ, ‘ड्रोन आक्रमणहरूलाई प्रभावकारी रूपमा निष्क्रिय पारिएको छ र संघर्षविराम उल्लङ्घनको कडा जवाफ दिइएको छ ।’
श्रीनगरस्थित बीबीसी संवाददाता माजिद जहाँगीरका अनुसार बिहीबार राति करिब ११ बजे उरी सेक्टरमा भारी गोलीबारी भएको थियो । उनका अनुसार सीमावर्ती नागरिक बस्तीहरूलाई समेत लक्षित गरिएको थियो।
जम्मु-कश्मीरको राजौरीबाट रिपोर्ट गरिरहेकी बीबीसी संवाददाता दिव्या आर्याले त्यहाँ पूर्ण रुपमा ब्ल्याकआउट गरिएको बताएकी छन्।
यसैबीच, घटनाका सम्बन्धमा बीबीसीले पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफसँग सम्पर्क गरेको थियो । उनले जम्मु-कश्मीरमा भएको कुनै पनि आक्रमणको जिम्मेवारी पाकिस्तानले नलिएको स्पष्ट पारे ।








प्रतिक्रिया