
एजेन्सी । भारतले बुधबार सैन्य कारबाही गरेपछि पाकिस्तानले जवाफी आक्रमण गरेको छ । बिहीबार राति पाकिस्तानले भारतका विभिन्न क्षेत्रमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एशियन न्यूज इन्टरनेशनल (एएनआई) समाचार एजेन्सीका अनुसार पाकिस्तानले जम्मुलाई ‘लोइटरिङ म्युनिसन्स’ (आफ्नै भित्र बिस्फोटक बोकेर लक्षित स्थानमा ठोक्किने ड्रोनहरू) प्रयोग गरेर आक्रमण गरिरहेको छ ।
समाचार एजेन्सीका अनुसार भारतीय वायु सुरक्षा प्रणालीले जवाफी कारबाही गर्दैछ । भारतीय सेनाका स्रोतहरूले बीबीसीलाई बताए अनुसार जम्मुमा रक्षा प्रणाली सक्रिय गरिएको छ भने सहरभरि वायु आक्रमणको साइरन बजिरहेको छ।
जम्मु विमानस्थलमा विस्फोट भएको खबर आएको बीबीसीले जनाएको छ । जम्मु सहरको गूज्जर नगर पुलमा रहेका एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार उनले जम्मु विमानस्थल नजिक १६ वटा वस्तु खसिरहेको देखेका छन् ।
एक सुरक्षास्रोतले एएफपी समाचार एजेन्सीलाई विमानस्थलमा विस्फोट भएको बताएका छन् ।
प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताए अनुसार बजारहरू बन्द भएका छन्, मानिसहरू भागिरहेको देखिएको छ, साइरनहरू बज्न थालेका छन् र पुरै सहरमा बत्ती निभाइएको छ ।
एक प्रत्यक्षदर्शीले त्यहाँ पूर्ण अन्धकार (ब्ल्याकआउट) छ र उनीहरूले साइरनको आवाज सुनेको बीबीसीलाई बताएका छन् ।
बीबीसी संवाददाता दिव्या आर्याका अनुसार जम्मुको धेरै स्थानहरूमा मानिसहरूले विस्फोटको आवाज सुनेका छन् र पुरै सहरमा बत्ती निभाइएको छ।
कठुआमा नागरिकहरूले दुई स्थानहरूमा विस्फोटको आवाज सुनेका छन् र यहाँ पनि बत्ती काटिएको छ । कठुआ जम्मुबाट डेढ घण्टा टाढा पर्दछ। अहिले दुबै सहरहरू पूर्ण रूपमा अन्धकारमा छन् ।
यसअघि पाकिस्तानले पाँच भारतीय वायुसेना विमानहरू खसालेको दाबी गरेको थियो, जसले दुई देशलाई व्यापक द्वन्द्वको सीमामा पुर्याएको छ।
पाकिस्तानले कश्मीरको वास्तविक नियन्त्रण रेखा (एलओसी) मा ४० देखि ५० जना भारतीय सैनिकहरू मारिएको र देशभरि २५ वटा भारतीय ड्रोन खसालिएको दाबी गरेको छ ।
भारतले पाकिस्तानले भारतीय सैनिक लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गर्न खोजेको भन्दै जवाफस्वरूप धेरै स्थानहरूमा पाकिस्तानका वायु रक्षा प्रणालीहरूलाई निशाना बनाएको जनाएको छ ।
मृत्यु संख्या बढ्यो
एक पाकिस्तानी सैन्य अधिकारीका अनुसार बुधबार भारतले सञ्चालन गरेको ‘सिन्दूर अपरेशन’ मा कम्तीमा ३१ जना पाकिस्तानी सर्वसाधारण मारिएको जनाएका छन् ।
नयाँदिल्लीले यस अपरेशनको लक्ष्य “आतङ्ककारी पूर्वाधार” रहेको जनाएको छ। कश्मीरलाई बाँड्ने वास्तविक नियन्त्रण रेखाको भारतीय पक्षमा पाकिस्तानबाट गरिएको गोलाबारीमा कम्तीमा १६ जना मारिएको भारतको रक्षा मन्त्रालयले जनाएको छ।
यो द्वन्द्व गत महिनामा भारतीय नियन्त्रणको कश्मीरमा विद्रोहीहरूले २६ जना पर्यटकको हत्या गरेपछि सुरु भएको हो । भारतले यस घटनामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ, जुन पाकिस्तानले अस्वीकार गरेको छ।
प्रतिक्रिया