
काठमाडौं । उपत्यका नजिकैको पर्यटकीय क्षेत्र नगरकोटमा १ अर्ब लगानीमा लक्जरी रिसोर्ट बन्ने भएको छ । क्यापिटल हिल रिसोर्ट प्रालिले नगरकोटमा १ अर्ब ८ करोड ३० लाख रुपैयाँ लागतमा रिसोर्ट निर्माण गर्ने भएको हो ।
कम्पनीले ७६ करोड रुपैयाँ बैंकबाट कर्जा लिने भएको छ भने ३२ करोड २० लाख रुपैयाँ लगानीकर्ताले लगानी गर्ने भएका छन् । जसमा कम्पनीले लगानीको अनुपात ७०:३० को राखेको छ ।
हालसम्ममा कम्पनीले १२ करोड रुपैयाँ कर्जा प्राप्त गरिसकेको जनाएको छ । त्यस्तै लगानीकर्ताबाट ६ करोड ३० लाख रुपैयाँ संकलन गरिसकेको छ ।
कम्पनीअनुसार हाल जग्गा प्राप्तिको काम सम्पन्न भइसकेको छ भने १९ प्रतिशत अनुमान लागत संकलन भइसकेको छ ।
कम्पनीले उक्त रिसोर्ट निर्माण गर्न ८० करोड रुपैयाँ दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । लक्जरी रिसोर्टमा ८६ वटा कोठाको सुविधा हुनेछ । रिसोर्ट आधुनिक सुविधा सम्पन्न हुनेछ । जसमा खाने, बस्ने, स्विमिङ, कन्फरेन्स, बैंक्वेट हल, स्पा र अन्य सुविधा हुने कम्पनीले उल्लेख गरेको छ।
रिसोर्टाका प्रमुख लगानीकर्ता डा. लेखनाथ भण्डारी छन् । उनी एम्पल प्रालि, एम्पल ट्रेकिङ र इन्टर सीटी इन्भेष्टमेन्टका अध्यक्ष हुन् । उनी पर्यटन क्षेत्रका परिचित व्यक्ति हुन् । साथै, रिसोर्टमा माधवसुन्दर मल्लको पनि लगानी रहेको छ ।
प्रतिक्रिया