आर्थिक सुधारमा सरकारले ध्यान दिएन: स्वर्णिम वाग्ले

0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधारमा सरकारको ध्यान नपुगेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले ६ महिनाअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदनमाथि सरकारले कुनै कदम नचालेको बताए ।

‘अर्थतन्त्र तंग्र्याउने काम नै आउटसोर्स गरिएको देखिन्छ,’ उनले भने, ‘प्रतिवेदनमा तत्काल गर्नुपर्ने विषय उल्लेख भए पनि सरकारले त्यसअनुसारको कार्य योजना अघि बढाएको छैन ।’

वाग्लेले सरकारलाई भुक्तानी, अनिवार्य दायित्व, उदारो असुली ऐन र जग्गा अधिग्रहणसम्बन्धी ऐन तत्काल ल्याउन सुझाव दिइएको स्मरण गराए ।

अहिलेको विशिष्ट परिस्थितिलाई सरकारले महसुस गर्न नसेको उनको भनाइ छ ।

‘आफ्नो शक्ति नै थाहा नपाएको जस्तो महसुस हुन्छ,’ वाग्लेले भने, ‘कुनै उत्साह छैन। कुनै रौनक छैन। विराट उद्देश्य हुनुपर्ने हो। ठूलो संकट हुँदा, आर्थिक प्रलय हुँदा गरिने प्रयोगको नतिजा के छ? लगभग शून्य ।’

अहिलेको सरकार निर्माण हुँदा गरिएको ७ बुँदे सहमतिमा भ्रष्टाचार नियन्त्रण गर्ने कुरा राखिएको भए पनि त्यो अहिले मजाक जस्तै भइरहेको उल्लेख गरे । ‘७ बुँदेमा भनिएको थियो, हामी भ्रष्टाचार गर्दैनौँ, सुशासन दिन्छौँ,’ वाग्लेले भने, ‘त्यो एउटा मजाक भइसकेको छ। आजकाल टेलिभिजन कार्यक्रममा कमेडी चलेनन् भने एउटा मन्त्रीलाई लगेर त्यहाँ बाचन गर्न लगाए हुन्छ । त्यही पर्याप्त हुन्छ ।’