
विराटनगर । औद्योगिक नगरी विराटनगरमा एकसाथ तीनवटा पाँचतारे होटल निर्माण हुने भएका छन् । कोशी प्रदेशको राजधानीसमेत रहेको यस नगरमा पछिल्लो समय तारे होटलमा आकर्षण बढेको हो ।
यी तीनवटा होटल निर्माण भएसँगै प्रदेश राजधानीमा एकैपटक क्यासिनोसहितका ६ वटा तारे होटल सञ्चालनमा आउनेछन् । हाल बिग, स्टन स्टार, रत्ना र स्वागतम लगायतका एक दर्जन ठूला एवं स्तरीय होटल सञ्चालनमा रहेका भए पनि कुनैले पनि तारे होटलको सुविधा लिएका छैनन् । तीमध्ये बिग र रत्ना होटलले क्यासिनो सञ्चालन गर्दै आएका छन् ।
व्यवसायी विजय चौधरीले २ अर्ब ३० करोड रुपैयाँको लागतमा होटल एक्सीस, शिवम् समूहका प्रत्युस राउतले २ अर्ब ३३ करोड रुपैयाँको लागतमा होटल रोयलटन पाँचतारे निर्माण गर्ने भएका छन् । साथै, हाल सञ्चालनमा रहेको होटल एशियाटिकलाई थप १ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेर पाँचतारेमा रूपान्तरण गर्ने योजना लगानीकर्ता पूण्य भट्टराई बनाएका छन् ।
गत शुक्रबार सम्पन्न कोशी प्रदेश सरकारको पहिलो लगानी सम्मेलनमा होटल एक्सीसका लागि चौधरीले २ अर्ब ३० करोड, होटल रोयलटनका लागि राउतले २ अर्ब ३३ करोड र होटल एशियाटिकका लागि भट्टराई र कृषि विकास बैंक प्रदेश कार्यालय प्रमुख तिलक प्रधानले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । होटल एशियाटिकमा कृषि विकास बैंकले ९५ करोड रुपैयाँ लगानी गर्ने द्विपक्षीय सम्झौता भएको छ ।
यसअघि विराटनगरमा विकास चौधरीले लेमन्ट्री, उद्योगपति मोती दुगडले सेन्चुरीयन तारे होटल निर्माण गरिरहेका छन् । यो क्षेत्रमा प्रकाश गौतम पनि करिब ४ अर्ब रुपैयाँको लगानीमा किङ्सवेरी तारे होटल निर्माण गरिरहेका छन् ।
चौधरीको लगानीमा निर्माणाधीन लेमन्ट्री पाँचतारे होटल सञ्चालनको तयारीमा छ। दुगडले निर्माण गरिरहेका सेन्चुरीयन पाँचतारे होटल पछिल्लो समय भाटभाटेनी समूहले खरिद गरेर निर्माण जारी राखेको छ । दुगडले होटल र परिसरको जमिन १ अर्ब ५५ करोड रुपैयाँमा भाटभाटेनी समूहलाई बेचेका थिए । भाटभाटेनी समूहले क्यासिनोसहितको होटल डेढ वर्षभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
त्यसैगरी, झापा बिर्तामोडको किङ्सवेरी होटलका सञ्चालक प्रकाश गौतमले उक्त होटल क्यासिनो व्यवसायी रवि धिताललाई १ अर्ब ९५ करोड रुपैयाँमा बेचेका छन् । गाैतमले भने अहिले विराटनगरमा किङ्सवेरी नै निर्माण थालेका छन् । त्यसका लागि गौतमले रत्ना होटलसँग जोडिएको व्यवसायी दीपक मल्होत्राको ४१ कठ्ठा र साझेदारको नाममा रहेको ७ कठ्ठा गरी ४८ कठ्ठा जमिन गत पुसमा १ अर्ब २५ करोड रुपैयाँमा खरिद गरेका थिए । मल्होत्राले स्वामित्वमा रहेको ४१ कठ्ठा जमिन गौतमलाई १ अर्ब ७ करोड रुपैयाँमा बेचेका थिए ।
हाल कोशी प्रदेशमा झापाको बिर्तामोडमा किङ्सवेरी, काँकरभिट्टामा मेची क्राउन र सुनसरीको इटहरीमा सोल्टी क्राउन पाँचतारे होटल सञ्चालनमा छन् । कोशी प्रदेश होटल व्यवसायी संघका अध्यक्ष राजन श्रेष्ठका अनुसार, विराटनगरमा थप तीनवटा तारे होटल निर्माण भएसँगै प्रदेशमा तारे होटलको संख्या ११ पुग्नेछ ।
श्रेष्ठका अनुसार, विराटनगरमा यसअघि निर्माण सुरु भएका तीनसहित झापामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको एजीएम र इटहरीमा देशबन्धु बस्नेत समूहको रमाडा होटल निर्माण भइरहेको छ । बस्नेतको रमाडाले भने सञ्चानलकाे तयारीसमेत थालिसकेको छ ।
विराटनगरमा पछिल्लो समय होटल व्यवसायमा एकसाथ साढे ६ अर्ब रुपैयाँको लगानी हुँदैछ । श्रेष्ठले भने, ‘लगानी र रोजगारीका पक्षमा यो सुखद पक्ष हो ।’
कोशी प्रदेशमा सञ्चालनमा रहेका अधिकांश होटलहरू भारतीय पर्यटकमा निर्भर छन् । ‘संघीय, प्रदेश र स्थानीय सरकारले भारतीय पर्यटकलाई सहुलियत नदिए खुल्दै गरेका र खुल्ने तयारी अवस्थामा रहेका होटलहरू प्रभावित हुने निश्चित छ,’ श्रेष्ठले भने ।
भारतीय पर्यटकले २५ हजार भारु भन्दा बढी बोकेर आउन नपाउने प्रावधान, भारतीय नम्बर प्लेटका सवारी साधनलाई स्थानीय तहले बारम्बार कर असुल्ने र ट्राफिक प्रहरीले दुहुनो गाईझैं व्यवहार गर्ने अवस्थाका कारण भारतीय पर्यटक हिचकिचाउने गरेको गुनासो श्रेष्ठले गरे ।
‘भारतीय पर्यटकले पनि तेस्रो मुलुकका पर्यटकझैं ५ हजार डलर बराबर भारु बोकेर आउन पाउने व्यवस्था भए होटल व्यवसायमा थप लगानी आउने पक्का छ,’ उनले भने ।
पाँचतारे होटल सञ्चालनका लागि कम्तीमा डेढ अर्बदेखि अढाइ अर्ब रुपैयाँसम्म लगानी लाग्छ । अहिले कोशीमा झण्डै १० वटा त्यस्तो स्तरका होटल सञ्चालनमा छन् । तीमध्ये तीनवटाले मात्र पाँचतारेको स्वीकृति लिएका छन् । श्रेष्ठका अनुसार बाँकीले सरकारी झमेला र राजस्वको लफडाका कारण स्वीकृति लिएका छैनन् ।
त्यस बाहेक पर्यटकस्तरीय होटल सञ्चालन गर्न कम्तीमा ५०/६० करोड रुपैयाँ लगानी लाग्छ । यो प्रदेशमा मेची क्राउन, किङ्सवेरी, सोल्टी, बिग र रत्नाले क्यासिनो खेलाउने स्वीकृति लिएका छन् । एक होटल व्यवसायीका अनुसार मोरङ, सुनसरी, झापा र इलाम पशुपतिनगरका केही होटलले स्थानीय प्रहरी प्रशासनसँगको मिलोमतोमा स्वीकृति नलिई क्यासिनो सञ्चालन गर्दै आएका छन् ।
कोशी प्रदेशमा पर्यटकस्तरीय होटल ५०० भन्दा बढी छन् । त्यस बाहेक सामान्य तर पर्यटक बस्न योग्य ३५०० भन्दा बढी होटल छन् । ती सबै होटल भारतीय पर्यटकमा निर्भर रहेको संघका वरिष्ठ उपाध्यक्ष तथा कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविष्य श्रेष्ठले बताए ।
कोशी प्रदेशका होटलमा एक रातमा १० हजारसम्म पर्यटक राख्न सक्ने क्षमता छ ।
मोरङको जोगबनी, सुनसरीको भीमनगर, झापाको काँकरभिट्टा र इलामको पशुपतिनगर नाकाबाट भारतीय पर्यटक भित्रिन्छन् । ती नाकाबाट सवारी साधन प्रयोग गरेर दैनिक सरदर ५०० भारतीय पर्यटक भित्रिन्छन् । खुला सीमाबाट पनि सरदर ५०० भारतीय नागरिक दैनिक आउने गरेको अनुमान छ ।
होटल तथा पर्यटन व्यवसायीसमेत रहेका श्रेष्ठले क्लिकमान्डुसँग भने, ‘त्यस बाहेक छिटपुट आन्तरिक पर्यटक यस क्षेत्रका होटलका मुख्य ग्राहक हुन् ।’
कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको छ । यसले कोशी प्रदेशका होटल व्यवसायी फस्टाउने विश्वास लिइएको छ । पर्यटन वर्षका सहसंयोजक श्रेष्ठले भने, ‘भारतीय पर्यटकले पनि तेस्रो मुलुकका पर्यटकझैं ५ हजार डलर बोकेर आउन पाउने र भारतीय नम्बर प्लेटका सवारी साधनलाई तीन तहका सरकारले दु:ख नदिने हो भने कोशी प्रदेशमा होटल र पर्यटन व्यवसायको भविष्य उज्ज्वल छ ।’
प्रतिक्रिया