
काठमाडौं । राजस्व अनुसन्धान विभागले ध्रुव कन्स्ट्रक्सनका सञ्चालक ध्रुव देवविरुद्ध १ अर्ब २० करोड रुपैयाँ बराबरको राजस्व छलीको अभियोगमा मुद्दा दायर गरेको छ ।
विभागका अनुसार सोमबार उच्च अदालत पाटनमा देवविरुद्ध १ अर्ब २० करोड ९२ लाख ३० हजार ५ सय रुपैयाँ असुलउपर र कैद सजायको मागसहित अभियोगपत्र पेश गरिएको हो ।
काठमाडौं महानगरपालिका–३१, नयाँ बानेश्वरमा अवस्थित ध्रुव कन्स्ट्रक्सन कम्पनीले ठेक्का, कन्सल्टेन्सी सेवा तथा निर्माण सामग्रीको कारोबार गर्दै आएको छ । सञ्चालक देवले वस्तु तथा सेवा नदिई बिल मात्र जारी गरेका थिए । साथै, खरिदको भुक्तानी बैंकमार्फत नगरेको, बिलहरू क्रमबद्ध रूपमा जारी नगरेको, मूल्य अभिवृद्धि कर (भ्याट) विवरण र आय विवरण नबुझाएको, भ्याट र आयकरमा झुटा विवरण पेश गरेको उल्लेख छ ।
मूल्य अभिवृद्धि करतर्फ ५४ करोड ५८ लाख २३ हजार ४८१ रुपैयाँ, आयकरतर्फ ७४ करोड ३४ लाख ६ हजार ७३६ रुपैयाँ, बिलबिनाको कारोबारबाट ६ करोड ९५ लाख २९ हजार २८५ रुपैयाँ बराबरको छली भएको देखिएको विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विभागले देवविरुद्ध सो रकम असुलउपर गर्नुका साथै कैद सजायको माग गर्दै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३(१) अनुसार अभियोगपत्र दर्ता गराएको हो ।
मालसामान खरिदको स्रोत स्पष्ट पारेका छैनन् र सरकारलाई तिर्नुपर्ने भ्याट र आयकरजस्ता कर नतिरेको पाइएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ अनुसार अदालतमा मुद्दा दायर गरिएको हो ।
प्रतिक्रिया