भ्यालुएटरलाई बैंकले कालोसूची राख्न थाले, जग्गा सस्तिएपछि धितोको मूल्यांकन दुईतिहाइभन्दा कम

12.6k
Shares

काठमाडौं । धितोको मूल्य घट्दै जाँदा बैंकहरूले मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न थालेका छन् । धितोको मूल्य बढेको समयमा र अहिले कारोबार कम हुँदा भएको मूल्यांकनमा फरक परेपछि उनीहरू कालोसूचीमा पर्न थालेका हुन् ।

बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशिका देखाएर कालोसूचीमा राख्न थालेका छन् । कोभिड अगाडिको मूल्याङ्कन र कोभिड पछाडिको मूल्याङ्कनमा दुई तिहाइ नपुगे मूल्याङ्कनकर्ताहरूलाई बैंकले कालोसूचीमा राख्ने गरेका छन् ।

अहिले देशका हरेक ठाउँमा धितोको मूल्याङ्कन औसतमा ३० प्रतिशतभन्दा धेरैले घटेको छ । पहिलोपटक गरेको मूल्याङ्कनको दुई तिहाइ नपुग्दा बैंकहरूले भ्यालुएटरलाई कालोसूचीमा राख्ने गरेका हुन् । खासगरी बैंकहरूले दोस्रो पटक मूल्याङ्कन गर्ने र ऋणीहरूको धितो कम मूल्यमा लिलाम गर्ने गर्दा मूल्यांकनकर्ता बैंकको ब्ल्याकलिस्टिङमा परेका हुन् ।

केही समयअघिसम्म बैंकहरू भ्यालुएटरलाई भाउ घटेको सम्पत्ति बेच्नका लागि ग्राहक खोजिदिन दबाब दिन्थे ।

नेपाल राष्ट्र बैंकको धितो मूल्यांकनकर्ता सम्बन्धी व्यवस्थामा धितो लिलामी गर्दा धितो मूल्यांकनकर्ताले मूल्यांकन गरेको रकम पुनर्मूल्यांकन गर्दा दुई तिहाइभन्दा कम भएमा वा गलत स्थान प्रकृतिको धितोलाई सही हो भनी मूल्यांकन गरेमा त्यस्ता धितो मूल्यांकनकर्तालाई बैंकको सिफारिसमा कर्जा सूचना केन्द्रले कालोसूचीमा समावेश गर्नुपर्ने उल्लेख छ ।

 बैंकले कालोसूचीमा राखेपछि अहिले मूल्याङ्कनकर्ताहरू चिन्तित बनेका छन् । नेपाल भ्यालुयर्स (मूल्याङ्कनकर्ता) एसोसिएसनले धितोको मूल्य बढेको समयमा भएको मूल्याङ्कन र अहिले कारोबार कम हुँदा भएको मूल्याङ्कनको विषयलाई लिएर बैंकहरूले मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्न नहुने तर्क गरेको छ ।

एसोसिएसनका अध्यक्ष ई सञ्जयकुमार महतोले बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशिका देखाएर कालोसूचीमा राख्न थालेको बताए । कोभिड अगाडिको मूल्याङ्कन र कोभिड पछाडिको मूल्याङ्कनमा दुई तिहाइ नपुगे मूल्याङ्कनकर्ताहरूलाई कालोसूचीमा राख्ने गरेको उनको भनाइ छ ।

‘यसले गर्दा मूल्याङ्कनकर्ताहरूमा निराशा छाएको छ, यही अवस्था रहे मूल्याङ्कन गर्ने/नगर्ने भन्ने विषय अन्योल हुन्छ,’ उनले भने।

अहिले देशका हरेक ठाउँमा धितोको मूल्याङ्कन औसतमा ३० प्रतिशतभन्दा धेरैले घटेको उल्लेख गर्दै उनले मूल्याङ्कनकर्ताहरूलाई बैंकहरूले कालोसूचीमा राख्न नहुने बताए ।

केन्द्रीय सल्लाहाकार ई लक्ष्मणबाबु सेढाईले आफूहरूले बैंक र बैंकका ग्राहक बीचमा समन्वयको काम गर्ने भएकाले कालोसूचीमा राख्नु गलत भएको बताए । उनले भने, ‘बैंकहरूले मूल्याङ्कनकर्ताहरूलाई कारबाही गर्नतर्फ लाग्दा समस्या आउने देखिएको छ ।’

अहिले धितोका रूपमा राखिने जग्गा र अन्य मेसिनरी सामानहरूको मूल्य घटेको भन्दै उनले यो अवस्थामा बैंकहरूले सोचेर काम गर्नुपर्नेमा जोड दिए । यस्ता गतिविधिले इञ्जिनियरहरू पलायन हुने अवस्था आउने उनको भनाइ छ ।

एसोसिएसनका कोशी प्रदेश अध्यक्ष ई आमोदराज आचार्यले कालोसूचीमा राख्ने कानुनी मान्यता नरहेको भए पनि बैंकहरूले कारबाही गर्ने गरेको बताए । पहिलोपटक गरेको मूल्याङ्कनको दुई तिहाइ नपुग्दा समस्या भएको उनको भनाइ छ ।

एसोसिएसन चितवन च्याप्टरका अध्यक्ष सञ्जयचन्द्र न्यौपानेले बैंकका ऋणीहरूलाई सहजीकरण गर्ने मूल्याङ्कनकर्ताहरूलाई हतोत्साहित बनाउने काम बैंकहरूले गरेको उल्लेख गरे । बैंकहरूले दोस्रो पटक मूल्याङ्कन गर्ने र ऋणीहरूको धितो कम मूल्यमा लिलाम गर्ने गरेको उनको भनाइ छ ।

चितवन च्याप्टरका संस्थापक अध्यक्ष ई ईश्वरीप्रसाद कौडालले अहिले अस्वस्थ प्रतिस्पर्धाका कारण मूल्याङ्कनकर्ताहरूमा समस्या आउन थालेको बताए ।

नेपाल इञ्जिनियर्स एसोसिएसन भरतपुर केन्द्रका अध्यक्ष कृष्ण रिजालले समय र परिस्थितिअनुसार धितोको मूल्य घटबढ हुने कुरालाई बैंकहरूले बुझ्नुपर्ने बताए । नेपाल भ्यालुयर्स (मूल्याङ्कनकर्ता) एसोसिएसनमा अहिले चार हजारभन्दा बढी इञ्जिनियर आबद्ध छन् ।