पहलगाम आतंकी आक्रमणपछि भारतको कडा कदम : पाकिस्तानी जहाज, आयात र डाक सेवामा पूर्ण प्रतिबन्ध

469
Shares

काठमाडौं । जम्मु–कश्मीरको पहलगाममा हालै भएको आतंकी हमलापछि भारतले पाकिस्तानलाई कडा सन्देश दिएको छ।

यसअघि भारतले सिंधु जल सम्झौता निलम्बन गरेपछि अटारी चेकपोस्ट बन्द गरी सबै पाकिस्तानी नागरिकलाई भारत छाड्न आदेश दिएको थियो।

अब भारत सरकारले अर्को कडा निर्णय लिँदै पाकिस्तानी झन्डा बोकेका कुनै पनि जहाजलाई भारतीय बन्दरगाहमा प्रवेश गर्न नदिने निर्णय गरेको छ।

पोर्ट, सिपिंग परिवहन तथा जलमार्ग मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ कि अबदेखि कुनै पनि पाकिस्तानी झन्डावाला जहाज भारत प्रवेश गर्न पाउने छैन। साथै, भारतीय जहाजहरू पनि अब पाकिस्तानी बन्दरगाहमा डक हुने छैनन्।

आयातमा पनि प्रतिबन्ध

यसअघि नै भारतले पाकिस्तानबाट हुने सबै प्रकारका आयातमा प्रतिबन्ध लगाइसकेको छ।

वाणिज्य मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘पाकिस्तानबाट आउने वा पाकिस्तानतर्फ निर्यात गरिने कुनै पनि वस्तुको प्रत्यक्ष वा अप्रत्यक्ष आयात वा पारगमन, चाहे त्यो स्वतन्त्र रूपमा आयात योग्य होस् वा अन्यथा अनुमति प्राप्त होस्, तत्काल प्रभावले अर्को आदेशसम्मका लागि प्रतिबन्धित रहनेछ।’

मन्त्रालयका अनुसार, यो कदम भारतीय सम्पत्ति, मालवाहक सामग्री तथा सम्बन्धित पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न तथा भारतीय शिपिङ उद्योगको हितमा लिइएको हो। मन्त्रालयको सूचना अनुसार यो आदेश तत्काल लागू हुनेछ र अर्को सूचना नभएसम्म कायम रहनेछ।

डाक सेवामा पनि रोक

भारत सरकारले पाकिस्तानमाथि अर्को कडा प्रतिबन्ध लगाउँदै सबै प्रकारका डाक तथा पार्सल सेवामा पनि रोक लगाएको छ। डाक विभागका अनुसार, हवाई वा स्थलमार्ग हुँदै आउने कुनै पनि श्रेणीको मेल र पार्सलको आदान–प्रदान अब निलम्बित गरिएको छ।

पहलगाम आक्रमणपछि भारतको एकपछि अर्को कडा निर्णयले पाकिस्तानमा ठूलो त्रास फैलिएको छ। पाकिस्तानलाई डर छ कि भारतले कुनै पनि बेला सैन्य कारबाही गर्न सक्छ। भारत सरकारका यी निर्णयहरूले पाकिस्तानी अर्थतन्त्रमा गम्भीर असर पार्ने अनुमान गरिएको छ।