
काठमाडौं । सचेत सेयर लगानीकर्ताले लगानी गर्नुपूर्व जुन सुकै कम्पनीका अन्य सूचकसँगै प्रतिसेयर आम्दानी (ईपीएस) लाई निकै ध्यान दिएर हेर्ने गर्छन् ।
कुनै कम्पनीको प्रतिसेयर आम्दानी धेरै भयो भने त्यसले बजार मूल्यलाई राम्रो प्रभाव पार्छ । प्रतिसेयर आम्दानी कम भयो भने त्यसको प्रभाव राम्रो पर्न सक्दैन । लगानीकर्ताको आकर्षण सँँधै धेरै ईपिएस भएका कम्पनीमा जाने गर्छ ।
तर, प्रतिसेयर आम्दानी नै मात्रै लगानीको आधार भने होइन । नयाँ लेखानीतिक नेपाल एकाउन्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) कार्यनवयनमा आएपछि एक्रुअल वेसिसमा आम्दानी जनाउनुपर्ने हुन्छ । जसअनुसार बैंकहरुले वासलता प्रकशित गर्ने अवधिमा नउठेको ब्याजलाई पनि आम्दानी जनाउनुपर्ने हुन्छ । तर, नेपाल राष्ट्र बैंकले उठ्न नसकेको ब्याजलाई नियामकिय जगेडामा सार्नुपर्ने र ब्याज असुल भएपछि मात्रै नियामकिय जगेडाबाट सञ्चित नाफामा सार्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार प्रतिसेयर आम्दानीको आधारमा मात्रै बैंकरुहको वित्तीय अवस्थाको चित्रण देखिदैन । प्रतिसेयर आम्दानी धेरै भएपनि कतिपय बैंकहरुले लाभांश दिने अवस्था नहुन सक्छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकको प्रति सेयर आम्दानी औषतमा १४.२७ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १४.३१ रुपैयाँ रहेको थियो । यो अवधिमा वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी सामान्य घटेको देखिन्छ । तर, वितरणयोग्य नाफामा भने उल्लेख्य सुधार देखिएको छ ।
गत आवको चैत मसान्तमा वाणिज्य बैंकहरुको कुल चुक्ता पूँजी ३ खर्ब ७९ अर्ब करोड २ लाख रुपैयाँ हुँदा ४० अर्ब ६८ करोड ३१ लाख नाफा कमाएका थिए । चालु आवको तेस्रो त्रैमासमा ३ खर्ब ८५ अर्ब ३३ करोड चुक्तापूँजी पुग्दा नाफा सामान्य बढेर ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा १० वटा बैंकको सेयरधनीको लगानीमा प्रतिफल बढेको छ भने १० वटाको घटेको छ ।
चैत मसान्तसम्म ५ वटा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ भन्दा कम छ । यो अवधिमा सबैभन्दा बढी एभरेष्ट बैंकको ३५ रुपैयाँ ६१ पैसा छ भने सबैभन्दा कम एनआईसी एशिया बैंकको १ रुपैयाँ ४१ पैसा छ । यो अवधिमा एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६ पैसाले बढेको छ भने १५ रुपैयाँ ८८ पैसाले घटेकोछ । गत आवको चैतमा एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५५ पैसा र एनआईसी एशिया बैंकको १७ रुपैयाँ २९ पैसा थियो ।
बैंकहरुले चैत सम्म प्रकाशित गरेको वित्तीय विवरण अनुसार नबिल बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८१ पैसाले बढेर २५ रुपैयाँ ०५ पैसा पुगेको छ । ग्लोबल आइएमई बैंकको ३ रुपैयाँ ६६ पैसाले बढेर १५ रुपैयाँ ८६ पैसा छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ रुपैयाँ ०४ पैसाले बढेर १७ रुपैयाँ ७४ रुपैयाँ, एनएमबि बैंकको ९६ पैसाले बढेर १७ रुपैयाँ २३ पैसा, प्रभु बैंकको प्रतिसेयर आम्दानी ३७ रुपैयाँले बढेर १० रुपैयाँ ६३ पैसा पुगेको छ । त्यस्तै सानिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६ पैसाले बढेर १६ रुपैयाँ ३३ पैसा, नेपाल एसबिआई बैंकको ४८ पैसाले बढेर १४ रुपैयाँ ७२ पैसा पुगेको छ । माछापुुछ्रे बैंकको २ रुपैयाँ ८४ पैसाले बढ्दा प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६५ पैसा र नेपाल बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८ पैसाले बढेर २५ रुपैयाँ २६ पैसा पुगेको हो ।
यस्तै प्राइम बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४६ पैसाले घटेर १५ रुपैयाँ ३२ पैसामा झरेको छ । स्टयान्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७४ प्रैसाले घटेर २८ रुपैयाँ ८६ पैसामा झरेको हो । हिमालयन बैंकको ८ रुपैयाँ ९१ पैसाले घटेर ३ रुपैयाँ ८ पैसा कायम हुँदा लक्ष्मी सनराइज बैंकको २४ पैसाले घटेर ९ रुपैयाँ ५ पैसा कायम भएको छ ।
कृषि विकास बैंकको प्रतिसेयर आम्दानी १४.११ प्रतिशतले घटेर २ रुपैयाँ ५३ पैसाले घटेर १७ रुपैयाँ ९३ पैसा कायम भएको छ । राष्ट्रिय वाणिज्य बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९८ पैसाले घटेर १० रुपैयाँ २७ पैसा कायम भएको छ । सिटिजन्स बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ६९ पैसाले घटेर ८ रुपैयाँ ६८ पैसा र सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी २१ पैसाले घटेर १५ रुपैयाँ ८९ पैसामा झरेको हो । कुमारी बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९० पैसाले घटेर १ रुपैयाँ ४५ पैसामा झरेको छ ।








प्रतिक्रिया