छतमा सोलार राखेर भारतले ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने, १० लाख घरमा जोडियो

826
Shares

एजेन्सी । भारतको रूफटप सोलार मार्केटले पछिल्ला केही वर्षमा अद्वितीय गति लिएको छ। बढ्दो ऊर्जा लागत, सरकारको अनुदानसहितका नीति, र हरित ऊर्जातर्फ व्यावसायिक क्षेत्रको आकर्षणले यो बजारलाई द्रुत रूपमा अगाडि बढाइरहेको छ ।

सन् २०२५ देखि २०२७ सम्म वार्षिक ३३ प्रतिशतको दरमा वृद्धि हुने प्रक्षेपण गरिएको छ । जसअनुसार सन् २०२७ सम्म भारतको कुल रूफटप सोलार क्षमता ३० गिगावाट (३० हजार मेगावाट) सम्म पुग्नेछ।

रूफटप सोलारमा गुजरात र महाराष्ट्रको वर्चस्व
भारतले गुजरात र महाराष्ट्रले क्रमशः ४१% र २३% रूफटप सोलार क्षमताको हिस्सा ओगटेका छन् । गुजरातको ‘सूर्य गुजरात’ कार्यक्रम र महाराष्ट्रमा रहेका एमएसएमई तथा सहरी व्यावसायिक केन्द्रहरूले माग बढाएका छन् ।

यसबाहेक राजस्थान, तमिलनाडु, कर्नाटक, उत्तर प्रदेश र बिहार जस्ता राज्यहरूले पनि राज्यस्तरीय नीति, सहज नेट मिटरिङ प्रणाली र अनुदान कार्यक्रमको माध्यमबाट सोलारमा उल्लेखनीय प्रगति गरिरहेका छन् ।

पीएम सूर्य घर योजनाबाट आवासीय क्षेत्रलाई गति
प्रधानमन्त्रीको ‘सूर्य घर: मुफ्त बिजली योजना’ अन्तर्गत एक करोड घरमा रूफटप सोलार जडान गर्ने लक्ष्य लिएको छ । योजनाअन्तर्गत ७८ हजार रुपैयाँसम्मको अनुदान दिइन्छ र यसले १७ लाख रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

मार्च १० २०२५ सम्ममा १० लाख घरमा सोलार जडान भइसकेको सरकारको दाबी छ ।

व्यवसायिक र औद्योगिक क्षेत्र: बजारको मेरुदण्ड
सन् २०२५ को तथ्यांकअनुसार रूफटप सोलार क्षमताको ६६% हिस्सा व्यवसायिक र औद्योगिक क्षेत्रमा छ। विद्युत दरको वृद्धिले उद्योगलाई विकल्प खोज्न बाध्य बनाएको छ जसमा सोलार एक भरपर्दो समाधान बनेको छ ।

टेक्सटाइल, फार्मा, रिटेल, डेटा सेन्टरजस्ता क्षेत्रमा ३–५ वर्षमै लगानी फिर्ता हुने अपेक्षा, घट्दो प्रविधि लागत र लचिलो वित्तीय मोडेलहरूले यस क्षेत्रको विकासमा मद्दत पुर्‍याएका छन् ।

भारतको उर्जा रूपान्तरणमा रूफटप सोलारको योगदान
भारतको कुल नवीकरणीय उर्जा क्षमता सन् २०२५ मा २२० गिगावाट पुगेको छ र सन् २०३० सम्म ३०० गिगावाट सोलार उत्पादनको लक्ष्य रहेको छ । जसको १० प्रतिशत घरको छतबाट उत्पादन हुनेछ ।