प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित, के छन् व्यवस्था?

413
Shares

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट भन्सार विधेयक, २०८१ पारित भएको हो । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए जुन पारित भएको हो।

यो विधेयक तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले २०८० असोज १८ मा प्रतिनिधिसभामा दर्ता गरेका थिए । यसपछि, २०८० चैत १८ मा दफावार छलफलका लागि प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पुगेको थियो । अर्थ समितिबाट पारित भएर २०८१ वैशाख १४ मा सभामा गएको थियो ।

उक्त विधेयक मंगलबार प्रतिनिधिसभाबाट पारित भएसँगै अब राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउनेछ र सभामुख हुँदै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पुग्नेछ । यसपछि ऐनको रुपमा कार्यान्वयनमा आउनेछ ।

भन्सार ऐनमा सरकारले निर्यात गर्ने वस्तुको कच्चा पदार्थ नगद धरौटीमा आयात गर्न सक्ने व्यवस्था छ । निर्यात गर्ने वस्तुको कच्चा पदार्थ नगद धरौटीमा आयात गर्न सक्ने व्यवस्था गरिएको छ। विधेयकमा कुनै उद्योगले आफूले गरेको उत्पादन बैंकिङ प्रणाली मार्फत निकासी गर्ने वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमै बिक्री गर्ने भएमा त्यस्तो वस्तु उत्पादन गर्न आवश्यक कच्चा पदार्थ र सहायक कच्चा पदार्थ पैठारी गर्दा लाग्ने महसुल तोकिए बमोजिम नगद धरौटी राखी पैठारी गर्न दिइनेछ ।

नगद धरौटीमा पैठारी गरेको कच्चा पदार्थबाट उत्पादित वस्तु तोकिए बमोजिम निकासी गरेपछि वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमै बिक्री गरेपछि मात्र तोकिए बमोजिम त्यस्तो नगद धरौटी फिर्ता गरिने व्यवस्था गर्ने भएको छ ।

नगद धरौटीमा पैठारी गरेको कच्चा पदार्थबाट उत्पादित वस्तु तोकिए बमोजिम निकासी नगरेमा वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमै बिक्री नगरेमा सो धरौटी रकम सम्बन्धित राजस्व खातामा जम्मा गरी त्यस्तो वस्तुमा त्यस्तो कच्चा पदार्थ पैठारी गरेको दिनमा लाग्ने भन्सार महसुलको १५ प्रतिशत रकम थप असुल गरिनेछ ।

नेपाल सरकारले कुनै व्यक्तिलाई कुनै वस्तु पैठारी गर्दा त्यस्तो वस्तुमा लाग्ने महसुल बापतको रकम बैंक जमानत लिई पैठारी गर्ने सुविधा दिन सक्ने व्यवस्था गरेको छ । कुनै उद्योगले वस्तु तयार गरी निकासी गर्ने वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमै बिक्री गर्ने प्रयोजनको लागि पैठारी गर्ने कच्चा पदार्थ र सहायक कच्चा पदार्थमा लाग्ने महसुल बापतको रकम तोकिएको शर्त बमोजिम बैंक जमानत राखी पैठारी गर्न चाहेमा त्यस्तो उद्योगलाई तोकिए बमोजिमको बैंक जमानतको सुविधा प्रदान गर्न सकिनेछ ।

बैंक जमानतमा पैठारी गरेको कच्चा पदार्थबाट उत्पादित वस्तु तोकिएको शर्त बमोजिम निकासी वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमा बिक्री नगरेमा त्यस्तो कच्चा पदार्थ पैठारी गरेको दिनमा लाग्ने भन्सार महसुलमा पन्ध्र प्रतिशत थप गरी असुल गरिनेछ ।
पैठारी गर्ने सुविधा दिँदा भन्सार अधिकृतले त्यसरी पैठारी गर्दा लाग्ने भन्सार महसुलको अतिरिक्त थप महसुल लाग्ने भएमा त्यस्तो महसुल बापतको रकमको समेत बैंक जमानत लिनु पर्नेछ ।

एक भन्दा बढी भन्सार कार्यालयबाट नियमित रूपमा वस्तु पैठारी गर्ने पैठारीकर्ताको हकमा एकल बैंक जमानतबाट वस्तु पैठारी गर्न सक्ने गरी भन्सार अधिकृतले तोकिए बमोजिम बैंक जमानत स्वीकार गर्न सक्नेछ ।

आयातकर्ता वा निर्यातकर्ताले आफूले निकासी वा पैठारी गर्ने वस्तु प्रज्ञापनपत्र भरी तोकिए बमोजिम कस्तुको घोषणा गर्नु पर्नेछ ।

तर घोषणा नगरी यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तुका सम्बन्धमा मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निर्धारण गरे बमोजिम हुनेछ । त्यसमा प्रज्ञापनपत्रको ढाँचा तोकिए बमोजिम हुनेछ ।

वस्तुको धनी प्रमाणित हुने गरी जाँचपासको लागि आवश्यक कागजात पेश गर्न सक्ने कुनै पनि व्यक्तिले वस्तुको घोषणा गर्न सक्नेछ । घोषणाकर्ताले वस्तुको विवरण प्रज्ञापनपत्रको ढाँचामा कम्प्युटर प्रणालीमा प्रविष्ट गरी घोषणा गर्न सक्नेछ । त्यसरी घोषणा गर्दा तोकिए बमोजिमका कागजात विद्युतीय स्वरूपमा संलग्न गर्नु पर्नेछ ।

तर भन्सार अधिकृतले तोकिए बमोजिमका कागजात माग गरेमा त्यसरी माग गरे बमोजिमका कागजात घोषणाकर्ताले भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

वस्तु घोषणा गर्दा वस्तुको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार, तौल, गुणस्तर र वस्तुको प्रकृति अनुसार ब्राण्ड, मोडेल, एकाइ, उत्पादक कम्पनी र वस्तुको स्पष्ट पहिचान हुने यस्तै अन्य विवरण समेत उल्लेख गर्नु पर्नेछ ।
घोषित विवरणको सत्यता, पूर्णता र पेश गरेका कागजातको आधिकारिकताका सम्बन्धमा सम्बन्धित घोषणाकर्ता जिम्मेवार हुनेछ।

काबु बाहिरको परिस्थिति परी वा अन्य कुनै मनासिब कारणले घोषणाकर्ताले कुनै कागजात घोषणासाथ पेश गर्न नसक्ने भएमा त्यस्तो कागजात पछि पेश गर्ने गरी अनुमतिको लागि भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।

प्राप्त निवेदन जाँचबुझ गर्दा तोकिए बमोजिमको कागजात पेश भएको र निवेदनको व्यहोरा मनासिब देखिएमा भन्सार अधिकृतले त्यस्तो वस्तुको पूर्ण घोषणा गर्ने अवधि तोकी तत्कालको लागि अस्थायी वा अपूर्ण घोषणा गर्ने अनुमति दिन सक्नेछ ।
घोषणा जाँच गर्दा उक्त वस्तुको पछि स्थायी वा पूर्ण घोषणा गर्दा महसुल फरक पर्ने देखिएमा भन्सार अधिकृतले सुरक्षण बापत सो महसुल बराबरको नगद धरौटी वा बैंक जमानत लिई वस्तु जाँचपास गर्न सक्नेछ ।

नगद धरौटी वा बैंक जमानत त्यस्तो वस्तुको पूर्ण घोषणाको काम सम्पन्न भएपछि तोकिए बमोजिम फुकुवा गरिदिनु पर्नेछ । वस्तुको जाँच हुनुपूर्व घोषणाकर्ताले आफूले घोषणा गरेको वस्तुको विवरण घोषणासाथ पेश भएका कागजात विपरीत नहुने गरी संशोधन गर्न भन्सार अधिकृत समक्ष लिखित अनुरोध गरेमा भन्सार अधिकृतले त्यस्तो विवरण संशोधनका लागि अनुमति दिन सक्नेछ ।

तर संशोधनको लागि गरिएको अनुरोध जालसाज वा बदनियतपूर्ण देखिएमा विवरण संशोधनको अनुमति दिइने छैन । साथै, तोकेको बमोजिम वस्तुको पैठरी वा निकासी भए वा भएन भन्ने बारेमा घोषणा जाँच गर्ने व्यवस्था गरेको छ । त्यस्तै, सरकारले नियमाविपरित निकासी तथा पैठरी गरेमा घटनाको प्रवृत्तिअनुसार जरिवाना र सजायको व्यवस्था गरेको छ ।

Skip This