
विराटनगर । मोरङको बुढीगंगामा एक अर्ब रुपैयाँको लगानीमा बिरामीको उपचारमा अत्यावश्यक पर्ने स्लाइन पानी उद्योग सञ्चालनमा आएको छ । योसहित मुलुकमा स्लाइन पानी उत्पादन गर्ने उद्योगको संख्या दुई पुगेको छ । यसअघि वीरगञ्जमा एभरेष्ट प्यारेन्ट उद्योगले स्लाइन पानी उत्पादन गर्दै आएको छ ।
लामो समयदेखि विदेशबाट स्लाइन पानी आयात गर्दै आएका र पछिल्लो समय मेडिकल क्षेत्रमा लगानी सुरु गरेका दिनेश ठाकुर स्वर्णकार र रञ्जीत भगतको संयुक्त लगानीमा एलेक्सा लाइफ साइन्सेस प्रालिले मासिक ९ लाख बोतल स्लाइन पानी उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको हो । यो उद्योगमा एभरेष्ट बैंकको ६० करोड लगानी रहेको सञ्चालकले जानकारी दिएका छन् ।
उद्योगले पहिलो चरणमा स्वास्थ्य उपचारमा अत्यावश्यक मानिने स्लाइन एलभिपी सय, पाँचसय, एक हजार र तीनहजार एमएल उत्पादन सुरु गरेको उद्योगका प्रबन्धक दिनेश ठाकुरले जानकारी दिए ।
उनकाअनुसार उद्योगले दोस्रो चरणमा एसभिपी सिसाको एक एमएलदेखि २० एमएलका लिक्वीइड सुइ र तेस्रो चरणमा आँखा र कानमा हाल्ने ड्रप उत्पादन गर्ने छ ।
ठाकुरले उद्योगमा थप लगानी गरेर निकट भविश्यमा खाने औषधी उत्पादन गर्ने लक्ष्य रहेको बताए । ठाकुरका अनुसार उद्योगमा एभरेष्ट बैंकले ६० करोड ऋण स्वीकृत गरेर हालसम्म ४५ करोड प्रवाह गरिसकेको छ । हाल नेपालमा एलभिपी क्षेत्रमा स्थानीय एकसहित विदेशी १० कम्पनीको उत्पादन बजारमा उपलब्ध छ । ठाकुरका अनुसार एलेक्साले आफ्नो उत्पादन बजारमा ल्याएपछि आयातलाई केही प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ ।

उनका अनुसार उद्योगको उत्पादन निर्यात समेत हुने अपेक्षा राखिएको छ । उद्योगले दुई सयलाई प्रत्यक्ष रोजगारी दिने ठाकुरले बताए ।
हाल मुलुकमा वार्षिक ६० अर्ब भन्दा बढी रुपैयाँको औषधीको कारोवार हुँदा ६० प्रतिशतभन्दा बढी विदेशी कम्पनीले बजार ओगटेको छ ।
मुलुकमा सयभन्दा बढी कम्पनी औषधी व्यवस्था विभागमा दर्ता रहे पनि ७५ वटा कम्पनी मात्र सञ्चालनमा छन् । ठाकुरले भने,’राज्यले स्वदेशी उत्पादन र उद्योगलाई प्रोत्साहन नगर्दा दर्ता मध्ये २०–२५ कम्पनीमात्र राम्रोसँग सञ्चालनमा छन् ।’
सरकारको गलत नीतिका कारण स्वदेशमै उत्पादन हुने अन्तर्राष्ट्रिय मापदण्ड स्तरको गुणस्तरीय औषधी पनि विदेशवाट सहज आयात हुने गरेकाले स्थानीय उद्योग थला पर्दै आएको ठकुरको भनाइ छ । स्थानीय उत्पादन र उद्योगलाई सरकारले प्रोत्साहन गर्ने हो भने औषधीमा मुलुक आत्मनिर्भर हुन सक्ने उनले बताए । ठाकुरले भने,’ सरकारको गलत नीतिकै कारण न्यून राजस्वमा विदेशबाट अत्याधिक औषधी आयात हुँदा स्थानीय उद्योग थला पर्दै गएका छन् । स्थानीय उद्योगले उत्पादन गर्ने औषधीलाई आयातमा कडाइ गर्ने हो भने उद्योग पनि सञ्चालमा समस्या नहुने र आयात पनि प्रतिस्थापन हुन्छ ।’
नियमित विद्युत आपूर्ति नहुनु, उद्योग स्थापना गर्दा उद्योगमा प्रयोग हुने सामग्री प्यानल, चिलर, कम्प्रेसर, वोयलर तथा यसका फिटिङ, एसएटस पाइप, पानी प्रशोधन यन्त्र, ल्यावका फर्निचर लगायतका सामग्रीमा राज्यले अनुदानका सट्ट चर्को भन्सार महसुल लिनु, औषधी उद्योग प्यानमा कारोबार गर्ने प्रावधान रहेको तर सामग्री खरिद गर्दा मूल्य अभिबृद्धि कर तिर्नुपर्ने समस्याले उद्योग सञ्चालनमै गाह्रो भएको ठाकुरको गुनासो थियो ।
अन्य मुलुकमा स्थानीय उद्योगले जुन औषधी उत्पादन गर्छ त्यस्ता औषधी आयातमा रोक लगाउने प्रावधान भए पनि नेपालमा एकै खालको औषधी दर्जनभन्दा बढी उद्योगले उत्पादन गरे पनि विदेशी उत्पादन आयातलाई प्राथामिकता दिने राज्यको गलत नीतिले स्थानीय उद्योग विदेशी कम्पनीसँग प्रतिष्पर्धा गर्न बाध्य हुँदै आएको उनको गुनासो छ ।
प्राय अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएका कारण ति अस्पतालमा सेवाग्राहीको भीड लाग्छ । अस्पतालका फार्मेसिले औषधी बाँकीमा खरिद गर्ने र भुक्तानीको समयमा बिमाको पैसा आएपछि मात्र उद्योगलाई भुक्तानी गर्ने उनको भनाइ छ ।
‘सरकारले स्वास्थ्य बिमाको भुक्तानी समयमा नगर्दा औषधी उद्योग र कम्पनी आर्थिक मारमा पर्दै आएका छन् ।अन्य मुलुकमा समय सापेक्षा औषधीको मूल्य समायोजन गरिन्छ । मूल्य समायोजन भनेको मूल्य बृद्धि गर्नु मात्र होइन,’ उनले भने, ‘ धेरै औषधी यस्ता हुन्छन जसको खोज र अनुसन्धान भएको खर्चका कारण केही वर्ष महंगा हुन्छन् । तर पछि त्यही औषधीको मूल्यमा भारी गिरावट पनि हुन्छ ।’
समयमा मूल्य समायोजन गर्ने हो भने उपभोक्ताले सस्तोमा औषधी पाउने उनी बताउँछन् ।
‘१५ वर्ष पहिला अधिकतम खुद्रा मूल्य कायम भएको औषधीको मूल्य अहिले पनि यथावत छ,’ ठाकुरले भने,’त्यसका कारण त्यस्ता औषधी सजिलै उपलब्ध नहुँदा उपभोक्ताले सास्ती भोग्दै महँगोमा ति औषधी खरिद गर्न बाध्य हुँदै आएका छन् ।’
प्रतिक्रिया