चिनियाँ खेलौना किन्न अमेरिकीहरु रातभर लाइनमा, कम्पनीले एकै दिनमा कमायो डेढ अर्ब डलर

1.5k
Shares

अमेरिकी आम उपभोक्तादेखि सेलिब्रिटीहरुमाझ चिनियाँ कम्पनी पप मार्टका खेलौनाहरु अत्यधिक लोकप्रिय बनेको छ । अमेरिकी उपभोक्ताहरुकै कारण पनि चिनियाँ कम्पनीका खेलौनाहरु रातारात लोकप्रिय बनेका छन् र तीब्र बिक्री भइरहेका छन्।

पछिल्लो समय नेपालकै छिमेकी देश चीन र अमेरिकाबीच हरेक कुरा प्रतिस्पर्धा चलिरहेको छ । प्रतिस्पर्धाभन्दा पनि एक कदम माथि उठेर यी दुई ठूला अर्थतन्त्र भएका देशहरुबीच व्यापारिक रुपमा प्रतिशोधको प्रतिस्पर्धा चलिरहेको छ ।

चिनियाँ खेलौना निर्माण कम्पनी पप मार्ट इन्टरनेशनल ग्रुपका सीईओ तथा अध्यक्ष वाङ निङ एकै दिनमा १.६ अर्ब अमेरिकी डलर सम्पत्ति जोड्दै थप धनाढ्य बने । यी चिनियाँ व्यापारी यसरी छोटो समयमै यति धेरै सम्पत्ति जोड्न सफल हुनुमा अमेरिकाको पनि भूमिका देखियो ।

वास्तविकता के भयो भने अमेरिकामा उक्त कम्पनीको अध्यधिक लोकप्रियता बढेसँगै कम्पनीको एप डाउनलोड चार्टको शीर्ष स्थानमा उक्लिएको छ ।

यससँगै ३८ वर्षीय वाङसँग अब १६.१ अर्ब अमेरिकी डलरको कुल सम्पत्ति भएको छ । जुन तथ्यांक फोर्ब्स रियल टाइम बिलिनियर्स लिस्टमा उल्लेख छ ।

वाङको कम्पनीको सेयर सोमबार मात्रै १३.२ प्रतिशतले वृद्धि भएको छ । र यस वर्षको हालसम्मको अवधिमा मात्रै यस कम्पनीको सेयर दोब्बरले वृद्धि भएको छ । जवकि पप मार्ट संकलनको दुनियाँमा यसले विश्वभर आफ्नो लोभलाग्दो लोकप्रियता पाइसकेको छ । विशेषगरी चिनियाँ युवा पुस्ताहरुमाझ चर्चामा रहेको कम्पनीले अब विश्वभर आफ्नो लोकप्रियता पाइसकेको छ।

दुई शक्तिराष्ट्रहरुबीचको व्यापारिक तनाबका बावजुद पछिल्लो समय अमेरिकी उपभोक्ताहरु गुडिया किन्न रातभर पप मार्ट स्टोर अगाडि लाइन लागिरहेका छन् ।

उक्त कम्पनीका उत्पादनमध्ये सर्वाधिक बिक्री हुने एउटा आइटम हो, लाबुबु । जुन खरायो जस्तो आकारमा छ । जुन गुडिया विश्वचर्चित पपस्टार रिहानाले पनि आफूले बोक्ने लुइस भिटनको ब्यागमा पनि राखेकी थिइन् ।

यद्यपि प्राइस ट्याग हेर्ने हो भने थाहा हुन्छ कि अमेरिकामा पाइने यी गुडियाहरुको मुल्य चीनमा तिर्नुपर्ने मुल्यभन्दा ६० प्रतिशत महंगो छ । जवकि डोनाल्ड ट्रम्पले कर बढाउनुभन्दा पहिलेदेखि नै यी खेलौना महँगा थिए ।

चिनियाँ गुडिया कम्पनीको सपिङ एप अमेरिकामा यति धेरै डाउनलोड भयो कि पछिल्लो शुक्रबार मात्रै एप्पलको एपस्टोरमा सर्वाधिक निशुल्क डाउनलोड हुने एपको रुपमा आफ्नो रेकर्ड बनायो ।

चिनियाँ कम्पनीको गुडिया लाबुबु आम उपभोक्ता मात्रै नभएर प्रसिद्ध सेलिब्रिटीहरुमाझ पनि निकै चर्चित बनेको छ । पछिल्लो समय धेरै सेलिब्रिटीहरुले लाबुबु खोजिरहेका छन् ।

दक्षिण कोरियन गर्ल ग्रुप ब्ल्याकपिंककी कलाकार लिसादेखि अरु थुप्रै सेलिब्रिटीहरुले उक्त चिनियाँ कम्पनी पप मार्टका खेलौना किनिरहेका छन् । यसबीचमा पप मार्टले २०२५ को लागि प्रति सेयर आम्दानीको लगभग ४० गुणाले कारोबार गर्ने बताइन्छ ।
पर्प मार्टका मालिक वाङले गत मार्चमा मात्रै आफ्नो कम्पनीको विक्री ५० प्रतिशतले वृद्धि हुने बताएका थिए । र २०२५ मा उनले २ अर्ब डलर पुँजी थप्ने उल्लेख गरेका थिए ।

यस्तै उनले गत वर्षको वार्षिक समीक्षाको क्रममा पनि विशेषगरी विदेशमा विक्री तीब्र रुपमा भइरहेको प्रतिक्रिया दिएका थिए । जवकि विभिन्न तथ्यांकले के देखाउँछन् भने पर्प मार्टका खेलौनाहरु दक्षिणपूर्वी एसिया क्षेत्रमा पनि अत्यधिक विक्री भइरहेका छन् ।

२०२४ मा चीन बाहिरबाट पर्प मार्टले आफ्नो १३ अर्ब युआन कुल आम्दानीको ४० प्रतिशत आम्दानी गरेको थियो । जवकि गत वर्ष मात्रै यो कम्पनीले ३.१ अर्ब युआन नाफा कमाएको थियो । जुन नाफा २०२३ को भन्दा २०० प्रतिशतले धेरै थियो ।

यसरी विश्व कम्युनिष्ट नेता माओ त्से तुङको देश चीन उन्नत पुँजीवादको अभ्यास गरिरहेको अमेरिकासँग प्रतिस्पर्धा गरिरहँदा चिनियाँ उद्यमीहरु भने डलर अर्बपति बन्ने क्रम पनि उत्तिकै बढिरहेको छ ।

यससँगै चिनियाँ व्यापारले विश्वभर आफ्नो प्रभाव र प्रभुत्व विस्तार गरिरहेको छ । पछिल्लो समय पप मार्टको लोभलाग्दो व्यापार र नाफाले नै के देखिन्छ भने, चिनियाँ उद्यमीहरु अब पछाडि फर्केर हेर्न तयार छैनन् ।

अर्कोतर्फ, दुई देशका सरकार र सेनाहरुबीच जस्तोसुकै समस्या र तनाब होस्, आम जनता तथा उपभोक्ताहरुलाई छनोटको अवसर चाहिएको छ ।