त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टद्वारा पोष्ट ग्राजुएट डिप्लोमा इन सस्टेनेवल विजनेस म्यानेजमेन्ट कोर्षको सुरुवात

98
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टले पोष्ट ग्राजुएट डिप्लोमा इन सस्टेनेवल विजनेस म्यानेजमेन्ट कोर्ष सुरु गरेको छ । बार्सिलोना स्कुल अफ म्यानेजमेन्ट (युपिएफ–बिएसएम) स्पेनको सहयोगमा यो पाठ्यक्रम तयार गरिएको हो ।

यस कार्यक्रमका लागि युपिएफ–बिएसएम र र सोमटुबीच सहकार्यका लागि इन्भेष्ट फर इम्प्याक्ट नेपालले सहयोग गरेको छ । यस कार्यक्रमले दिगो विकासका लागि वातावरणीय, सामाजिक तथा सुशासन लगायतका विषयलाई समेटेको छ ।

यस कार्यक्रम अध्ययन र व्यावहारिक आयामहरुलाई संयोजन गर्ने एवं विशेष गरि दिगो व्यवसाय तथा विकासमा नवप्रवर्तनमा रुची राख्ने पेसाकर्मीका लागि लक्षित गरि निर्माण गरिएको हो । यो कार्यक्रमको उद्देश्य पेशाकर्मीहरूलाई दिगो अर्थतन्त्र एवं स्थिर भविष्यतर्फ पाइला चाल्न आवश्यक ज्ञान तथा क्षमता प्रदान गर्नु हो । यस कार्यक्रमले नेपाली व्यवसायीक क्षेत्रलाई अन्तर्राष्ट्रीयकरण गर्न सक्षम बनाउनुका साथै दिगो व्यवसाय सञ्चालन गर्न मद्दत गर्ने बताइएको छ ।

कार्यक्रमले सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुप्रयोगहरूसँग जोड्दै विद्यार्थीहरूलाई दिगोपनका चुनौतीहरू र अवसरहरूको बारेमा आवश्यक ज्ञान तथा सीप प्रदान गर्दछ । व्यवहारिक पाठ्यक्रम, वास्तविक परियोजनाहरू र विशेषज्ञहरुको निर्देशनहरूद्वारा हुने कार्यक्रमले विद्यार्थीलाई आफ्नो संस्था एवं समाजमा अर्थपूर्ण योगदान गर्ने गरि तयार गर्दछ । यस कार्यक्रमका कक्षाहरु सप्ताहन्तमा संचालन हुनेछन् ।

स्नातक उतीर्ण र कम्तिमा दुई वर्षको कार्य–अनुभव भएका ईच्छुक व्यक्तिहरुले यस कार्यक्रममा आवेदन दिन सक्नेछन् । कार्यक्रममा छनौट हुनका लागि जिएमएटीमा आधारित प्रवेश परीक्षा उतिर्ण गरी अन्य आवश्यक प्रक्रियाहरु पुरा गर्नु पर्नेछ । १ वर्ष समयावधि एवं ३० क्रेडिट भएको यो कोर्ष सेमिनार, केश अध्ययन तथा स्थलगत अध्ययन आदि माध्यमबाट अध्ययन–अध्यापन गरिनेछ ।

पोष्ट ग्राजुएट डिप्लोमा इन सस्टेनेवल विजनेस म्यानेजमेन्टका लागि २०८१ बैसाख २१ गते भित्र निवेदन दिन सकिनेछ भने २०८१ बैसाख २२ गते प्रवेश परिक्षा हुनेछ ।