कोशी लगानी सम्मेलन

लगानीमा सुरक्षा ग्यारेन्टी गर्न निजीक्षेत्रको माग, विकासको विरोधमा कुलदेवता च्याँखे थापियोः मुख्यमन्त्री


विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले प्रत्याभूति सहितको लगानीको वातावरण तयार गरेर सुरक्षा व्यवस्था गरे निजी क्षेत्र कोशी प्रदेशमा लगानी गर्न तयार रहेको बताएका छन् ।

‘वातावरण निर्माण र सुरक्षाको प्रत्याभुति नै नगरी संघीय, प्रदेश र स्थानीय सरकार निजी क्षेत्रलाई बोलाएर यहाँ र त्यहाँ लगानी गरिदेउ भन्छन् । तर वातावरण र सुरक्षाको प्रत्याभुति चाँही गर्दैनन्,’ ढकालले भने, ‘सरकारले निजी क्षेत्रलाई इन्करेज (प्रोत्साहन) नगरेसम्म राजनीतिक रुपमा जति भाषण गरेपनि काम हुनेवाला छैन ।’

बैशाख १८ र १९ गते कोशी प्रदेश सरकारले गर्न लागेको पहिलो लगानी सम्मेलनका बारेमा सुझाव दिने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ कोशीले शुक्रबार विराटनगरमा अयोजना गरेको कोशी प्रदेशको ‘आर्थिक अवस्था, लगानीका सम्भावना र चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रममा ढकालले कोशी प्रदेश लगानीकालागि प्रचुर सम्भावन भएको क्षेत्र भएपनि सरकारले निजी क्षेत्रलाई इन्करेज गर्न नसक्दा यो प्रदेशमा लगानी भित्रिन नसकेको दाबी गरे ।

‘प्रदेश सरकारले कति सहजीकरण गर्छ त्यसकै आधारमा निजी क्षेत्रको लगानी भित्रिन्छ,’ ढकालले भने, ‘राजनीतिक रुपमा जति कुरा गरेपनि निजी क्षेत्र र वास्तविक लगानीकर्तालाई इनकरेज नगरेसम्म लगानी बढ्ने स्थिति छैन ।’

महासंघको सुझावका आधारमा संघीय सरकारले केही कानुनको संशोधन र नीतिगत सुधार गरेको छ । तर सरकारले अझै पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको ढकालको गुनासो थियो । ‘राजनीतिज्ञहरु कुरा एउटा गर्ने र व्यवहार अर्को गर्छन् र त्यो नै मुलुक, निजी क्षेत्र र लगानीकर्ताका लागि दुर्भाग्य हुँदै आएको आरोप लगाउँदै ढकालले भने, ‘लगानीको सहज वातावरण बन्ने र सुरक्षाको प्रत्याभूति हुने हो भने कोशी प्रदेशमा निजी क्षेत्र ४० अर्ब सम्मका प्रोजेक्ट अगाडि बढाउन तयार छ ।’

निजी क्षेत्रलाई सँगसँगै लिएर हिँड्न सरकार तयार हुन्छ भने महासंघ १० अर्ब पुँजी भएको पब्लिक लिमिटेड कम्पनीमार्फत ४० अर्ब सम्मका प्रोजेक्ट कोशी प्रदेशमा अगाडि बढाउन तयार रहेको उल्लेख गर्दै ढकालले त्यसका लागि लगानी वातावरणको ग्यारेण्टी र सुरक्षाको प्रत्याभुती लगानीकर्ताको पहिलो सर्त रहेको बताए ।

‘मुलुकमा रोजगारी निजी क्षेत्रले दिने हो । राजस्व वृद्धि पनि निजी क्षेत्रले नै गर्ने हो,’ ढकालले भने,  ‘त्यसका लागि सरकारले निजी क्षेत्रलाई इन्करेज नगरेसम्म जति राजनीतिक कुरा गरेपनि केही हुने स्थिति छैन ।’ लगानीको वातावरण बन्ने हो भने आपैmं पनि कोशीमा थप लगानी गर्न तयार रहेको मञ्चबाट घोषणा गर्दै ढकालले उपस्थित उद्योगी व्यवसायी, लगानीकर्ता र सबै निजी क्षेत्रलाई लगानी गर्न आह्वान पनि गरे । उनले राज्य र निजी क्षेत्र आ–आफनो ठाउँमा इमान्दार भए कोशी प्रदेश सरकारको पहिलो लगानी सम्मेलन सफल हुनेमा दुईमत नरहेको बताए ।

हिमाली जिल्ला ताप्लेजुङको पाथिभरामा आफ्नो करिब ३ अर्बको लगानीमा निर्माणधीन केवलकारको प्रसंगपनि ढकालले निकाले । पहिचानवादी र नो केवलकार समूहले केबलकार निर्माणमा अबरोध पुर्‍याइरहेका बेला पहिचानका लागि युवा संस्थाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वार्ताका माध्यमवाट पाथीभरा केबलकारको समस्या समाधान गर्न आफूहरु तयार रहेको उद्घोषलाई ढकालले स्वागत गरे ।

उनले भने, ‘पाथीभरामा केबलकार बनाउने क्रममा आफू त्यहाँका हरेक जातजाती र समुदायको मौलिकता, संस्कृति, भाषा, पहिचान, कुल देवता र रीतिरिवाजको संरक्षण गर्दै स्थानीयलाई रोजगारीको अवसर उपलब्ध गराएर केबलकार निर्माण गर्न प्रतिबद्ध छु ।’ उनले ताप्लेजुङमा आफूले खेपेको अबरोध र अप्ठ्याराले आफू अलिकति पनि बिचलित नभएको उल्लेख गर्दै लगानीको वातावरण र सुरक्षाको प्रत्याभूत भए आवश्यकता, परिस्थिति र समयको मागअनुसार आफू कोशी प्रदेशमा लगानी गर्न तयार रहेको घोषणा गरे ।

कार्यक्रममा कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशको पहिलो लगानी सम्मेलनमार्फत निजीक्षेत्रको लगानी भित्र्याउन संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर आवश्यक कानूनको संशोधन र नीति निर्माण भइसकेको र केही हुने क्रममा रहेको जानकारी दिँदै ढुक्कले लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

लगानी सम्मेलनका लागि संघीय सरकारको समन्वयमा प्रदेश सरकारले ७ वटा कानून संशोधन गरेको र बाँकी वर्षे अधिवेशनवाट संशोधन गर्ने क्रममा रहेको जानकारी दिँदै कार्कीले भने, ‘राज्य संयन्त्र एक्लै हिँड्न सक्ने अवस्था नरहेकाले कानून र नीति बनाएर सरकार निजी क्षेत्रलाई सँगसँगै लिएर हिँड्न तयार छ ।’

कार्कीले कसैको नाम उल्लेख नगरी प्रधानमन्त्री र मन्त्रीहरु कुर्सीमा रहँदा एउटा र कुर्सीबाट हटेपछि अर्को कुरा गर्ने दोहोरो चरित्रका कारण मुलुक समस्यामा पर्दै आएको बताए । ‘एक पूर्वप्रधानमन्त्री हिजो कुर्सीमा रहँदा पाथीभरामा केबलकार बन्नुपर्छ भन्थे । आज कुर्सीबाट हटेपछि बन्नु हुँदैन भनेर खोक्दै हिँडिरहनु भएको छ,’ कार्कीले भने, ‘आफू यस्ता दोहोरो चरित्र भएका पूर्वप्रधानमन्त्रीसँग भेट नहोस् र नमस्ते गर्न नपरोस् भनेर छड्किदै हिँड्न बाध्य छु ।’

पाथीभरामा केवलकार निर्माणको विवादमा आफू दुखी बन्नु सिवाय आफनो कुनै दायित्वमा नपर्ने कार्कीले बताए । कार्कीले भने, ‘विकासका विरोधमा कुल देवतालाई च्याँखे थाप्ने, कुल देवीदेवताको भाकल गर्ने, पहिचान र जातिय बाजा बजाउनु दुःखद हो ।’

प्रदेश सरकारले लगानी सम्मेलनका लागि सोकेसमा राखेका परियोजनामा पाथीभरा केवलकारको जस्तै समस्या नआउने कार्कीको दाबी उनको थियो । ‘प्रदेश सरकारले सोकेशमा राखेका परियोजनामा लगानी गर्न आवश्यक सम्पूर्ण वातावरण सरकारले तयार गरेको छ । बाँकी रहेको तयारी पनि द्रुत गतिमा पुरा हुने क्रममा छन्,’ कार्कीले भने, ‘स्वदेशी लगानीकर्तालाई पहिलो प्राथामिकतामा राखेर लगानी सम्मेलनको तयारी गरिएको छ । यो सम्मेलनले कोशी प्रदेश  विकास र संमृद्धिमा अघी बढने विश्वास  छ ।’

बढी रोजगारी दिने र राजस्व परिचालन गर्ने उद्योग स्थापना गर्न प्रदेश सरकारले लिजमा जमिन उपलब्ध गराउने देखि विद्युतमा सहुलियत दिनेसम्मको तयारी गरेको कार्कीले उपस्थित लगानीकर्तालाई जानकारी गराए । ‘राजस्वमा सहुलियत दिने प्रदेश सरकारको हैसियत छैन,’ कार्कीले भने, ‘लिजमा जमिन उपलब्ध गराउने, विद्युतमा सहुलियत दिने, लगानीको वातावरण तयार गर्ने र सुरक्षाको ग्यारेन्टी प्रदेश सरकारले गर्नेछ ।’

उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा भएको अन्तरसंवाद कार्यक्रममा राउत सहित कार्यक्रममा सहभागी सम्भावत लगानीकर्ताले लगानी सम्मेलनका बारेमा मुख्यमन्त्री कार्कीलाई लिखित सुझाव र सम्भावित लगानीका क्षेत्रका बारेमा जानकारी गराएका थिए । त्यसक्रममा सहभागी सम्भावित लगानीकर्ता र निजी क्षेत्रले कुर्सीबाट उठेर लगानी सम्मेलनप्रति ऐक्यबद्धता जनाएका थिए ।

बैशाख १८ र १९ गने हुने भनिएको लगानी सम्मेलनमा विभिन्न ५४ वटा परियोजना शोकेसिङ गर्दै १ खर्ब ३९ अर्ब लगानी भित्रयाउने लक्ष्य राखिएको छ ।

कृषि, उद्योग, पर्यटन, पूर्वाधार, ऊर्जा, सूचना प्रविधि र फोहोरमैला व्यवस्थापन गरी करिब १ खर्ब ३९ अर्बको परियोजना प्रदेश सरकारले शोकेसिङ गर्ने तयारी गरिरहेको छ । कृषिमा र उद्योगमा ९/९ वटा, पर्यटनमा १५ वटा, पूर्वाधारमा १४ वटा, ऊर्जामा ३ वटा, सूचना प्रविधिमा २ वटा र फोहोरमैला व्यवस्थापनमा २ वटा गरेर ५४ वटा परियोजनालाई छलफलका लागि अगाडि बढाइएको लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाले जानकारी दिए ।

१० करोड माथिका कम्तीमा ७० वटा परियोजना लगानी सम्मेलनमा प्रस्तुत हुने र करिब पौने दुई खर्ब लगानी भित्रयाउने प्रदेश सरकारले पछिल्लो लक्ष्य राखेको छ ।