
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधयेकको सैद्धान्तिक अवधारणा पेस गर्दै अर्थमन्त्री पौडेलले वर्तमान वित्तीय स्रोत स्रोतको अभाव पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनाहरुमा स्रोत जुटाउन आवश्यक रहेको र यसलाई कानूनी आधार दिन विधेयक ल्याएको जानकारी दिएका हुन् ।
उनले पूर्वधार क्षेत्र तथा परियोजनाको पहिचान, प्राथमिकीकरण, पूर्वाधारमा लगानीका लागि आवश्यक पर्ने आन्तरिक स्रोत, वैदेशिक लगानी, विभिन्न वित्तीय उपकरणहरुको यथोचित प्रयोग, संस्थागत संरचना, अनुमगन तथा मूल्यांकन सम्बन्धी विषयहरुलाई समेट्ने गरी विधेयक आएको बताए । अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्तका स्रोतहरुको परिचालन गर्न र यसको माध्यमबाट रोजगारी सिर्जना गर्न पनि विधेयक जरुरी रहेको उनको धारणा थियो ।
अर्थमन्त्री पौडेलले पेस गरेको सैद्धान्तिक अवधारणा अनुसार विश्वव्यापीरुपमा भइरहेको पूर्वाधार विकासमा तीव्र प्रतिष्पर्धा, जलवायु परिवर्तन, सूचना प्रविधिको बढ्दो पहुँच एवं नागरिकको अपेक्षा अनुसारको पूर्वाधारमा लगानीको आवश्यकता वृद्धि भइरहेको छ ।
‘नेपालमा लगानीको आवश्यकता र सम्भावना सम्बन्धमा भएका अध्ययनले आगामी दशकमा १ सय खर्ब रुपैयाँ भन्दा बढी लगानी आवश्यक पर्ने देखिएका छन्,’ अर्थमन्त्री पौडेलले भने, त्यसैगरी विगतको तथ्यांकलाई हेर्दा नेपालमा पूर्वाधारमा वार्षिक २ देखि ३ खर्ब रुपैयाँमात्र लगानी भएको छ । लगानीको आवश्यकता र उपलब्धीबीच रहेको कमी परिपूर्ति गर्नको लागि लगानीको नविन स्रोत र उपायहरुको आवश्कयता छ ।’








प्रतिक्रिया