
काठमाडौं । नेपालको डेटा संरक्षण क्षेत्रलाई संस्थागत गर्न मलेसियाको डिपिएक्स एसिया र नेपालस्थित वन कभर प्रालिबीच पाँच वर्षका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । वन कभरका अनुसार, यो सहकार्य नेपालको पहिलो व्यक्तिगत डेटा संरक्षणसम्बन्धी कानुनको तयारीमा आवश्यक नीति निर्माण, प्रविधिगत परामर्श तथा अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले गरिएको हो ।
डिपिएक्स एसियाका अध्यक्ष प्रा. अबु बकर मुनिर र वन कभरका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौताअनुसार, नेपाल सरकारलाई व्यक्तिगत डेटा संरक्षण विधेयकको प्रारम्भिक मस्यौदा तयार पार्न सघाउने, डिजिटल सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, राष्ट्रिय तथा क्षेत्रीय डेटा सुरक्षाका मापदण्ड विकासमा साथ दिने र नेपालको डिजिटल पूर्वाधारमा अन्तर्राष्ट्रिय अभ्यासहरू कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ ।
वन कभरले नेपाल राष्ट्र बैंक, निर्वाचन आयोग, नेपाल टेलिकम, वित्त मन्त्रालयलगायतका दर्जनौं सरकारी तथा निजी संस्थाहरूसँग सूचना सुरक्षा तथा जोखिम व्यवस्थापनसम्बन्धी सेवा दिँदै आएको छ। वन कभरका सीईओ चिरञ्जीवी अधिकारीका अनुसार, ‘नेपाल जस्तो तीव्र डिजिटल रूपान्तरणमा रहेको मुलुकका लागि अन्तर्राष्ट्रिय अनुभवको आवश्यकता अत्यावश्यक छ। हामीले सरकारलाई सहयोग पुर्याउन डिपिएक्ससँग सहकार्य गरेका हौं ।’
उनले हालसम्म एसिया क्षेत्रमा डिजिटल सार्वभौमिकताको सवाल तीव्र रुपमा उठ्दै गएको र डेटा सुरक्षाको कानुनी संरचना कमजोर रहेको उल्लेख गर्दै नेपालले चालेको कदम क्षेत्रीय उदाहरण बन्ने विश्वास व्यक्त गरे ।
डिपिएक्स एसियाका अध्यक्ष प्रा. अबु बकर मुनिरले भने, ‘नेपाललाई मात्र होइन, सम्पूर्ण एसियालाई डिजिटल खतराबाट जोगाउन साझा मान्यता र कानुनी आधार बनाउनु आवश्यक छ। हामी यस दिशामा नेपालसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं।’
डिपिएक्स एसिया सन् २००० देखि मलेसियामा डेटा गोपनीयता तथा साइबर सुरक्षासम्बन्धी परामर्श सेवा दिँदै आएको संस्था हो । यसको सेवा क्षेत्र मलेसिया, ब्रुनाइ, इन्डोनेसिया, युएई, कतार, साउदी अरेबियासम्म फैलिएको छ । यसले डेटा सुरक्षा प्रभाव मूल्यांकन, गोपनीयता डिजाइन, अनुपालन परीक्षण, तालिम तथा प्रमाणीकरण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
त्यसैगरी, वन कभर प्रालि सन् २०१८ मा स्थापना भएको काठमाडौँस्थित साइबर सुरक्षासम्बन्धी कम्पनी हो, जसले आइटी प्रणाली परीक्षण, नेटवर्क सुरक्षा, जोखिम मूल्यांकन, नीतिगत सल्लाहलगायतका सेवा दिँदै आएको छ । यो कम्पनी आइबिएम अमेरिका, टेकसर्टलगायत अन्तर्राष्ट्रिय संस्थासँग सहकार्यमा संलग्न छ भने ओवास्प नेपाल, एनपिसर्ट र अन्य साइबर सुरक्षासम्बन्धी अनुसन्धान केन्द्रहरूमा सक्रिय रूपमा संलग्न छ ।








प्रतिक्रिया