निजामती सेवा विधेयक पास गर्ने तयारी, माओवादीको ३ बुँदे असहमति

2k
Shares

फाइल तस्बिर

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रले तीन मुख्य बुँदामा असहमति जनाएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले असहमति प्रस्तुत गरेका हुन् ।

कुलिङ पिरियडमा दोब्बर अवधि प्रस्ताव

हाल विधेयकको प्रतिवेदनमा कुलिङ पिरियड (एक पदबाट अर्को पदमा बढुवा हुनु अघि आवश्यक विश्राम अवधि) एक वर्षको प्रस्ताव गरिएको छ । तर, पाण्डेले यो अवधि पर्याप्त नभएको भन्दै कम्तीमा दुई वर्षको कुलिङ पिरियड तोक्नुपर्ने धारणा राखे।

अतिरिक्त सचिवको पदप्रति असहमति

पाण्डेले सचिव र सहसचिवको संख्यालाई यथावत राख्दै अतिरिक्त सचिवको नयाँ पद सिर्जना गर्न खोजिएकोमा आपत्ति जनाए । उनका अनुसार, अतिरिक्त सचिव पद अनावश्यक हो र यस्तो पद सिर्जना गर्नु औचित्यहीन हुनेछ। यद्यपि, सचिव र सहसचिवको संख्या घटाइएमा मात्र अतिरिक्त सचिवको विषयमा छलफल गर्न सकिने उनले स्पष्ट पारे।

भेटेरेनरीमा ८औं तहको माग

तेस्रो असहमति भेटेरेनरी सेवा सम्बन्धी छ। पाण्डेले भेटेरेनरी सेवामा ८औं तहको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएका छन्, जसले सो क्षेत्रमा काम गर्ने प्राविधिकहरूको स्थान सुनिश्चित गर्ने विश्वास गरिएको छ।

संघीय निजामती सेवा विधेयक समितिबाट आजै पारित गर्ने तयारी भइरहेको छ। माओवादी केन्द्रका यी असहमति बुँदाहरूलाई कसरी समेटिने भन्ने विषयमा अन्तिम निर्णय समितिको छलफलपछि हुने बताइएको छ ।