जम्मु–काश्मिरमा आतंकवादी आक्रमण: बुटवलका न्यौपानेको मृत्यु, पाण्डे घाइते, घटनास्थलमा लाइसेन्स फेला

2.3k
Shares

काठमाडौं । भारतको जम्मु–काश्मिर राज्यको पहलगामस्थित पर्यटकीय क्षेत्रमा मंगलबार भएको आतंकवादी आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ भने अर्की नेपाली महिला घाइते भएकी छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार नेपाली महिला रेनु पाण्डे घाइते भएकी हुन् । उनको अवस्था स्थिर रहेको बताइएको छ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१४ रूपन्देहीका सुदीप न्यौपाने रहेका छन् । घटनास्थलमा फेला परेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आधारमा न्यौपानेको पहिचान खुलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

न्यौपाने शनिबार आमा, दिदी र भिनाजुसँगै पर्यटकीय भ्रमणका लागि जम्मु–काश्मिर गएका थिए । उनीमाथि गोली प्रहार गरी हत्या गरिएको हो ।

घटनास्थल श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ । सो आक्रमणमा हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।

सैनिक पोशाकमा आएका पाँच जनाको समूहले पर्यटकलाई लक्षित गरी गोली चलाएको प्रत्यक्षदर्शीहरूले बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक आतंकवादी समूहले उक्त हमलाको जिम्मेवारी लिएको बताइएको छ । अधिकारीहरूका अनुसार यो आक्रमण पछिल्ला केही वर्षयताकै सबैभन्दा ठूलो नागरिक लक्षित आतंकवादी हमला हो ।

प्रधानमन्त्री नरेन्द्र मोदी यो घटनापछि साउदी अरबको भ्रमण छोट्याएर भारत फर्किसकेका छन्। घटनापछि भारतीय सुरक्षाकर्मीहरूले उक्त क्षेत्रमा व्यापक सुरक्षा सतर्कता बढाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको निन्दा गरेका छन् । उनले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । ‘दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतंकवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भत्र्सना गर्दछ ।’