ओरेन्टल सहकारीको नाममा चितवनका ६ स्थानको जग्गा समितिले लिलाम गर्ने

0
Shares


काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त रहेको ओरेन्टल को अपरेटिभको नाममा चितवनमा ६ स्थानमा रहेको जग्गा लिलामी गर्ने भएको छ ।

समितिले आज उक्त जग्गा लिलामीका लागि ३५ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । २०७९ असोज ७ गते ओरेन्टल को अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ ।

संस्थाको सम्पत्ति तथा दायित्व भुक्तानीका लागि सोही ऐनको दफा १०५ अनुसार गठित समितिसमक्ष लेखि आएको, संस्थाका ऋणी सदस्य एवं सञ्चालकहरुबाट संस्थालाई बुझाउनु पर्ने साँवा, ब्याज, हर्जाना, जरिवाना तिर्न बुझाउनको लागि सहकारी नियमावली २०७५ को परिच्छेद ८ को नियम ३० को उपनियम १ को (क) र (ख) बमोजिम पत्राचार गर्दा, पत्रपत्रिकामा सूचना प्रकाशित गर्दा समेत आफ्नो दायित्व फरफारक नगरेको जनाएको छ ।

सहकारीको संस्थाको नाममा रहेको र समितिबाट रोक्का राखिएका चितवन जिल्लाको भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकामा रहेको जग्गाहरु सहकारी नियमावली २०७५ को परिच्छेद ८ को नियम ३० को उपनियम २ को खण्ड (च) बमोजिम चलनचल्तीको मूल्य कायम गरी सोहि नियम बमोजिमको ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको जनाएको छ ।

ईच्छुक बचतकर्ता, संस्था तथा व्यक्तिले सकार्न चाहेमा गोप्य शिलबन्दी निवेदन पेश गर्न सक्नेछन् । सहकारीको जग्गा भरतपुर महानगरपालिका १२ मा १० पैसा, सोही नगरपालिकाको १६ मा २ आना, १६ मा नै अर्को ३ आना जग्गा रहेको छ ।

यस्तै रत्ननगर नगरपालिका १३ मा २ आना ५ पैसा, सोही पालिकाको १३ मा १ रोपनी ९ आना ५ दाम, खैरहनी नगरपालिका–४ मा ५ आना १० पैसा जग्गा रहेको छ । यी जग्गा सहकारीको चितवन शाखाको नाममा रहेको छ ।

यो जग्गा खरिद गर्न चाहने ईच्छुक व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कार्यालय समयमा २ हजार रुपैयाँ बुझाई बोलपत्र फाराम खरिद गर्न सकिनेछ ।

३६ औं दिन अपरान्ह १ बजेसम्म बोलपत्र पेश गरि सक्नु पर्नेछ । यसरी पेश भएका बोलपत्रहरु सोहि दिन १ः३० बजे समितिको कार्यालयमा बोलपत्रवाला वा निजको प्रतिनिधिको रोहवरमा खोलिने छ ।

बोलपत्र पेश गर्ने व्यक्तिको हकमा निजले नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र फर्म, संगठित संस्था वा कम्पनीले इजाजतपत्र, दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर र आयकर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सहित स्वयं उपस्थित हुनु पर्नेछ ।

ईच्छुक व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले कबुल गरेको अङ्गको १० (दश) प्रतिशत रकम कृषि विकास बैंक लिमिटेड, पुतलीसडकमा रहेको समितिको बैंक खाता सहकारी व्यवस्थापन समिति ओरेण्टल खाता नं. ०२०९९०१३०८७९८०२४ मा जम्मा गरि सोको सक्कलै भौचर बोलपत्रसाथ पेश गर्नु पर्नेछ ।

ईच्छुक व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीको नाममा खरिद भएको बोलपत्र अर्को व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीको नामबाट पेश गर्न पाइने छैन ।

इच्छुक व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले एक्लै वा संयुक्त उपक्रम मार्फत बोलपत्र प्रक्रियामा सहभागी हुनु पर्नेछ । यसरी सहभागी हुन चाहने बढिमा ३ (तीन) व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीको मात्र संयुक्त उपक्रममा सम्झौता मान्य हुनेछ साथै सो उपक्रममा सम्झौताको प्रति बोलपत्रसाथ अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ ।