
काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षाको सम्पूर्ण प्रक्रिया बहिष्कार गर्ने घोषणा गरेको छ ।
मंगलबार बसेको महासंघको बैठकले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तोकिएका विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई परीक्षासम्बन्धी कुनै पनि कार्यमा सहभागी नहुन आग्रह गरेको छ । परीक्षा वैशाख ११ गतेबाट सुरु हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयका पदाधिकारीहरूले विद्यालयहरूमा दबाब सिर्जना गरेर परीक्षा प्रक्रियामा सामेल हुन शिक्षकहरूलाई धम्की दिएको महासंघको आरोप छ । महासंघले यसप्रति गम्भीर आपत्ति जनाउँदै त्यसो नगर्न चेतावनी दिएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘विगत २१ दिनदेखि व्यापक सहभागितासहित काठमाडौंमा जारी शैक्षिक आन्दोलनलाई अझ बलियो बनाउँदै शिक्षक, विद्यार्थी र विद्यालयमैत्री शिक्षा ऐन जारी गराउने महाअभियानमा हामी दृढ छौं । त्यसैले परीक्षा प्रक्रियामा कुनै हालतमा सहभागी नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार आग्रह गर्दछौं ।’
महासंघले परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्षहरूलाई समेत आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सहभागी हुन आह्वान गरेको छ । काठमाडौंमा जारी शैक्षिक आन्दोलनलाई थप सशक्त बनाउने महासंघले निर्णय गरेको छ ।








प्रतिक्रिया