काठमाडौंका यी ३ पेट्रोल पम्पले गरे १/१ अर्बभन्दा बढीको इन्धन बिक्री, अन्यले कति गरे ?

3.2k
Shares

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिना(साउन–चैत)मा उपत्यकाको तीन पेट्रोल पम्पले एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेका छन् । बाँकी सात पेट्रोल पम्पले ७० करोडदेखि ९५ करोड रुपैयाँसम्मको कारोबार गरेका छन् ।

नेपाल आयल निगमको बागमती प्रादेशिक थानकोट डिपोका प्रमुख अशोक साहकाअनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी काठमाडौंको सामाखुशीस्थित पुलिस कल्याणकारी पेट्रोल पम्पले पेट्रोल र डिजेलको कारोबार गरेको छ ।

यो पम्पले नौ महिनाको अवधिमा १ अर्ब १६ करोड ५८ लाख रुपैयाँबराबरको ७५ लाख ५९ हजार ३२ लिटर पेट्रोल र डिजेल बिक्री गरेको छ । दोस्रोमा ललितपुरको पुलचोकस्थित साझा सेवा सहकारी पम्पले १ अर्ब ५ करोड १४ लाख रुपैयाँबराबरको ६८ लाख ३४ हजार ५ सय ३४ लिटर पेट्रोल र डिजेल तथा तेस्रो सर्वाधिक कारोबार गर्ने पम्पमा भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्प परेको छ ।

रिपुमर्दिनी पम्पले नौ महिनाको अवधिमा १ अर्ब ४ करोड ८२ लाख रुपैयाँबराबरको ६८ लाख २५ हजार ४ सय ९० लिटर पेट्रोल र डिजेल बिक्री गरेको थियो ।

यी हुन् करोड रुपैयाँको कारोबार गर्ने सात पम्प

डिपो प्रमुख साहका अनुसार पछिल्लो नौ महिनाको अवधिमा उपत्यकाको सात वटा पम्पले ७० करोडदेखि ९५ करोड रुपैयाँसम्मको इन्धनको कारोबार गरेका छन् ।

जसअनुसार सबैभन्दा बढी नक्सालस्थित प्रहरी कल्याण कोष पम्पले ९४ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको ६१ लाख ५७ हजार २ सय ८१ लिटर पेट्रोल र डिजेलको बिक्री गरेको छ ।

यसैगरी भक्तपुरको फ्युल सेन्टरले ८१ करोड ६१ लाख १४ हजार रुपैयाँबराबरको ५४ लाख ४२ हजार ५ सय ४२ लिटर, काठमाडौंको सत्यनारायण पम्पले ७५ करोड ४६ लाख ११ हजार रुपैयाँको ४९ लाख ३३ हजार ६८ लिटर र नुवाकोटको वटटरस्थित भैरवी आयल स्टोरले ७३ करोड ७ लाख रुपैयाँबराबरको ४८ लाख ९२ हजार लिटर पेट्रोल र डिजेल बिक्री गरेको छ।

यस्तै काठमाडौंकै वागमती आयल सप्लायर्सले ७३ करोड ८ लाख ६९ हजार रुपैयाँबराबरको ४८ लाख ९१ हजार ७७ लिटर, खड्का आयल सप्लायर्सले ७३ करोड ७ लाख ८३ हजार रुपैयाँको ४७ लाख ७३ हजार ५ सय ६५ लिटर र शक्तिदेवी पम्प स्टेशनले ७० करोड ३० लाख रुपैयाँबराबरको ४५ लाख ८२ हजार १ सय १० लिटर पेट्रोल र डिजेल बिक्री गरेको छ ।

गत वर्ष अर्बको कारोबार गर्ने ११ पम्प

गत आर्थिक वर्षमा देशभरका पेट्रोल पम्पमध्ये ११ वटा पेट्रोल पम्पले सबैभन्दा बढी इन्धनको कारोबार गरी अर्बको कल्वमा पुग्न सफल भएका थिए ।

निगमका अनुसार देशभर सबैप्रकारका पेट्रोल पम्प गरी १ हजार ७ सय ३६ वटा पम्प सञ्चालनमा छन् । यसमध्ये साधारण १ हजार ५ सय ४८ वटा, नमूना ५१ वटा र दुर्गम क्षेत्रमा ड्रममा राखेर बिक्री गर्ने प्याक्ड बिक्रेता १ सय ३७ वटा छन् ।

गत् आर्थिक वर्षमा देशभरकै पम्पहरुमध्ये ११ वटा पम्पले सबैभन्दा बढि इन्धनको कारोबार गरेका थिए । जसमध्ये काठमाडौंको नेपाली सेनाको रिपुमर्दिनी पेट्रोल स्टेशन सबैभन्दा बढि इन्धनको कारोबार गरेको थियो । यो पम्पले १ अर्ब ६६ करोड ९६ लाख ६१ हजार रुपैयाँको कारोबार गरेको थियो ।

यसपछि चितवनको कैलाश आयल डिस्ट्रिव्युटरले १ अर्ब ५७ करोड ६८ लाख ८८ हजार रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै धादिङ्गको भैरवी इन्टरप्राइजेजले १ अर्ब ५३ करोड ९४ लाख १३ हजार रुपैयाँ, बाराको प्रहरी कल्याण कोष पम्पले १ अर्ब ५१ करोड ३९ लाख ६६ हजार, ललितपुरको साझा सेवा सहकारी पम्पले १ अर्ब ४७ करोड ७३ लाख २४ हजार, भक्तपुरको भक्तपुर फ्युल सेन्टरले १ अर्ब ३१ करोड ६१ लाख रुपैयाँबराबरको इन्धनको कारोबार गरेको थियो ।

त्यसैगरी बुटवलको मिलन ब्रदर्शले १ अर्ब ३१ करोड ६१ लाख, चितवनको साझा पेट्रोल पम्पले १ अर्ब २५ करोड ५९ लाख ३९ हजार, काठमाडौंको सत्यनारायण पेट्रोल पम्पले १ अर्ब २० करोड ३९ लाख १५ हजार, काठमाडौंको प्रहरी कल्याण कोष नक्सालले १ अर्ब १८ करोड ८ लाख ४९ हजार र तनहुँको सुगम आयल सप्लायर्सले १ अर्ब ९ करोड ३१ लाख १५ हजार रुपैयाँबराबरको इन्धनको कारोबार गत आर्थिक वर्षमा गरेका थिए ।