
काठमाडौं । सरकार बनेको ९ महिना पुग्न लाग्दा पनि सरकारको कार्यसम्पादनप्रति साझेदार दल नै असन्तुष्ट देखिएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीदेखि अन्य नेताहरु निरन्तर सरकारको बिरोधमा उत्रिँदा सभापति देउवा भने मौन छन् । महामन्त्री गगनकुमार थापा सरकारप्रति आक्रोशित बने पनि उनको आक्रोश अर्थपूर्ण बन्न सकेको छैन । सरकार सञ्चालनका लागि बनाइएको संयन्त्रकै सदस्य थापाको आक्रोशलाई सभापति देउवाले नजरअन्दाज गरिरहेका हुन् ।
संसदका दुई ठूला दलले संविधान संशोधन लगायतका मुख्य ७ वटा बुँदा सहमति जनाएर सरकार निर्माण गरे पनि सरकारको कामप्रति नेपाली कांग्रेस खुशी छैन । प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारका मन्त्रीहरुको कार्यसम्पादनप्रति महामन्त्री थापाले सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आएका छन् । मंगलबार काठमाडौं आयोजित एक कार्यक्रममा पनि उनले सरकारको आलोचना गरे । सरकारले नागरिकका अपेक्षाहरु पूरा गर्न गति लिन नसकेको थापाको आरोप छ ।
दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तिब्रता दिने अपेक्षा गरे पनि त्यसअनुसार काम हुन नसकेको थापाको भनाइ छ ।
विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको समेत थापाले बताए । विचौलियाका कारण अहिलेको अर्थतन्त्रमा समस्या आएको उनको आरोप छ ।
महामन्त्री थापाले केही दिनअघि चैत २८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारले गठन गरेको राजनीतिक संयन्त्रको भनेको कुरा सरकारले नटेरेको आशय व्यक्त गरेका थिए ।
सरकारले राम्रो काम गरोस् भनेर आफूहरुले सहयोग गरिरहेको बताउँदै उनले ‘बिँड तातेर केही नहुँदो रहेछ ताप्केपनि तात्नुपर्ने रहेछ’ भन्दै आलोचना समेत गरेका थिए ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने कुरा होस् वा प्रधानमन्त्रीको सार्वजनिक कार्यक्रमको उद्घाटन मोह होस्, त्योप्रति कांग्रेस महामन्त्री थापालाई पटक्कै रुचेको छैन । राजधानीमा शिक्षकहरुले विभिन्न माग राख्दै जारी राखेको आन्दोलनलाई रोक्न र उनीहरुका माग सम्बोधन गर्न सरकारले कुनै नदेखाउँदा उनी झनै असन्तुष्ट बनेका छन् ।
केही समयअघि भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरु भन्दा युवा पुस्ताहरुबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताएका थिए । उनले आज नै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउने भन्दै आफू भित्रको हुटहुटीलाई प्रष्ट परेका थिए ।
सरकारमै रहेर पनि कामप्रति असन्तुष्टी जनाउँदै आएका थापाले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरुको छानबिन गर्नुपर्ने समेत बताउँदै आएका छन् ।
आम नागरिकहरुले भ्रष्टाचारकै कारण देशले गति लिन नसकेको भनिरहेको बेलामा जनताले सुनेका सबै भ्रष्टाचारका काण्डहरुको अख्तियार वा सर्वशक्तिशाली आयोग बनाएर अनुसन्धान गर्नुपर्ने उनको धारणा छ । २०८४ सम्ममा नेपाली समाज भ्रष्टाचार मुक्त बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै उनले अनियमिततामा दोषी ठहर भएको खण्डमा शक्तिशाली भनेर छोड्न नहुने बताउने गरेका छन् ।
त्यसो त, थापालाई सरकारले राम्रो काम गरोस् भन्ने चाहना छ । उनले सरकारका राम्रो काम गरे त्यसलाई बोकेर हिँड्न आफूहरु तयार रहेको बताएका छन् ।
पार्टी सभापति देउवा नै सरकारको कामबाट खुशी देखिँदा थापाको असन्तुष्टी र आक्रोश केबल भाषणमा मात्रै सीमित बन्ने गरेको छ । सभापति देउवाले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको र त्यही बेलादेखिको साथी भएको भन्दै सरकारलाई दरिलो साथ दिएका छन् ।
सरकारका कामहरु पनि सभापति देउवा सन्तुष्ट रहँदा महामन्त्री थापा र अन्य नेताहरुको आलोचनाले प्रधानमन्त्री ओली र उनीको नेतृत्वका सरकारका मन्त्रीहरुलाई भने केही फरक पारेको छैन ।
थापाले जनताको अवस्था नेताको शैलीका कारण नबदलिएको बताएका छन्। नेताहरुले शैली नबदले नेता नै बदल्नु पर्ने अवस्था आउने उनको चेतावनी छ। तर त्यसका लागि व्यवस्था बदल्न आवश्यक नभएको उनको भनाइ छ ।
आम नागरिकमा नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि भए पनि नेताहरुको कार्यशैलीबाट उनीहरु तत्काल शैली बदल्ने अवस्था छन् भन्ने देखिएको छैन।
प्रतिक्रिया