
काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये ६ वटा बैंकमा विदेशी समेत लगानी रहेको छ । सरकारले आर्थिक उदारीकरणको नीति अबलम्बन गरेसँगै विदेशी संयुक्त लगानीमा बैंक खोल्ने अनुमति दिएको थियो ।
पञ्चायती व्यवस्थामा नै संयुक्त लगानीको बैंकको रुपमा तत्कालीन नेपाल अरब बैंक (हालको नबिल) बैंक स्थापना भएको थियो। २०४१ सालमा नेपाल अरब बैंक (हालको नबिल बैंक)को स्थापनापछि २०४२ मा तत्कालीन इन्डोस्वेज बैंक (हालको नेपाल इन्भेस्टमेन्ट बैंक) र २०४३ मा तत्कालीन ग्रिन्डलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड बैंक) नेपाल आएका थिए ।
नेपाल अरब बैंकको तत्कालीन विदेशी साझेदार बाहिरिएपछि एनबी (इन्टरनेशनल) आयरल्याण्डले स्वामित्व खरिद गरेको छ । सो कम्पनी देशका एकमात्रै डलर अर्बपति बिनोद चौधरीले लगानीको छ । एनबि विदेशी कम्पनी रहेकाले नबिल बैंकलाई विदेशी लगानीको बैंक भनिन्छ । इन्डोस्वेजबाट पनि विदेशी साझेदार बाहिरिँदा हिमालयन बैंक सञ्चालन गरिरहेका पृथ्वीबहादुर पाँडेले बैंकको सेयर स्वामित्व किनेर नेपाल इन्भेष्टमेन्ट बैंकको रुपमा अगाडि बढाएका थिए ।
पञ्चायति व्यवस्थाको अत्यपछि भने नेपालमा संयुक्त लगानीको बैंकको रुपमा हिमालयन, नेपाल एसविआई, एभरेष्ट, नेपाल बंगलादेश बैंकमा समेत विदेशी आएका थिए । नेपाल बंगलादेश बैंक हाल नबिलमा गाभिएको छ । उक्त बैंकको विदेशी साझेदारको रुपमा रहेको बंगलादेशको आईएफआईसी बैंक नबिलमा दोस्रो ठूलो सेयरधनी हो ।
हाल २० वटा वाणिज्य बैंकमा एभरेष्ट, नबिल, एनएमबि, स्टयान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल एसबिआई बैंकमा विदेशको लगानी रहेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले प्रकाशित गरेको लेखापरीक्षणपछिको प्रतिवेदन अनुसार ६ वटा वाणिज्य बैंकमा ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व देखिन्छ ।
एभरेष्ट
गत आवको असार समान्तसम्म एभरेष्ट बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व भारतको पञ्जाव नेशनल बैंकको रहेको छ । बैंकमा सबैभन्दा बढी पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत अर्थात् २ करोड ३५ लाख ६५ हजार १२० कित्ता सेयर स्वामित्व छ ।
नबिल
नबिल बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व एनबी (इन्टरनेशनल) आयरल्याण्ड र बंगलादेशको आईएफआईसी बैंकको लगानी रहेको छ । बैंकमा एनबी (इन्टरनेशनल)को १० करोड ६७ लाख ६ हजार २४२ कित्ता अर्थात् ३९.४४ प्रतिशत सेयर स्वामित्व छ । यस्तै बंगलादेशको आईएफआईसी बैंकको २ करोड १० लाख १७ हजार २६४ कित्ता अर्थात ७.७७ प्रतिशत सेयर स्वामित्व छ ।
बैंकमा भारतको मुथुट फाइनान्सको समेत सेयर छ । नबिलमा गाभिएको युनाइटेड फाइनान्समा मुथुटले २० प्रतिशत सेयर खरिद गरेर प्रवेश गरेको थियो । हाल नबिल बैंकमा मुथुट फाइनान्सको ०.४४ प्रतिशत सेयर हिस्सा छ ।
एनएमबि बैंक
एनएमबि बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व एफएमओ नेदरल्याण्डसको १३.६९ प्रतिशत अर्थात् २ करोड ५१ लाख ४७ हजार १४२ कित्ता सेयर स्वामित्व छ ।
यस्तै यङ लियन रियल्टी एसडीएनबीएचडी मलेसियाको ४.२२ प्रतिशत अर्थात् ७७ लाख ४२ हजार २७० कित्ता सेयर स्वामित्व रहेको छ ।
स्टयान्डर्ड चार्टर्ड
स्टयान्डर्ड चार्टर्ड बैंकमा स्टयान्डर्ड चार्टर्ड ग्रिन्डलेजको ४ करोड ४१ लाख ३६ हजार ३३८ कित्ता अर्थात् ४६.८१ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको २३.४० प्रतिशत अर्थात् २ करोड २० लाख ६८ हजार १६९ कित्ता सेयर रहेको छ ।
हिमालयन बैंक
हिमालयन बैंकमा पाकिस्तानी हबिब बैंकको १२.९३ प्रतिशत सेयर स्वामित्व छ ।
नेपाल एसबिआई
नेपाल एसबिआई बैंकमा भारतको स्टेट बैंक अफ इन्डिया (एसबिआई) को लगानी छ । करिब २०० वर्षको इतिहास बोकेको भारतको ठूलो मध्येको एक एसविआईको बैंकमा ५५ प्रशित सेयर हिस्सा छ ।
प्रतिक्रिया