विचौलियाले बनाउन खोजेको गभर्नर यी हुन् भनेर अहिले खुलमखुला बहस हुने अवस्था बन्यो: गगन

1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र र विचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या विचौलियाका कारणले आएको जिकिर गरे । उनले विचौलियाहरुको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको दाबी गरे ।

‘प्राइभेट सेक्टर र विचौलिया भनेको फरक कुरा हो । हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो,’ उनले भने, ‘ म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ । विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो । नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन ।’

पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला की त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भए पनि अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लमखुला बहस र छलफल हुने अवस्था देखिएको उनको भनाइ छ ।

‘पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला की त्यो बन्ला की । गभर्नर यसले बनाउला की त्यसले बनाउला की ? भन्नेकुरा हुन्थ्यो,’ थापाले भने,’अब अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लमखुला बहस, छलफल हुने अवस्था आउने भनेको हामी कहाँनेर पुग्यौँ ?’

महामन्त्री थापाले आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवादी व्यवस्था नै नभएको जिकिर गरे । नागरिक बलियो भएमात्रै राज्य बलियो हुने उनको भनाइ छ ।