चैत मसान्तसम्म विकास खर्च २९ प्रतिशत


काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९ प्रतिशतमा खुम्चिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत ३० गतेसम्मको सरकारको पुँजीगत खर्च एक खर्ब दुई अर्ब ९० करोड रुपैयाँ मात्रै छ ।

पुँजीगत शीर्षकमा चालु आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

वार्षिक विनियोजनको तुलनामा हालसम्मको पुँजीगत खर्च २९ दशमलव दुई प्रतिशत हो ।

विकास खर्च मात्र नभई यो अवधिको समग्र बजेट खर्च कमजोर देखिएको छ । वार्षिक विनियोजनको तुलनामा चैत मसान्तसम्ममा ५३ दशमलव ६७ प्रतिशत बराबर बजेट खर्च भएको हो ।

चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो । चैत मसान्तसम्ममा नौ खर्ब ९८ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ ।

त्यस्तै, चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन भएकोमा ५९. ४५ प्रतिशत अर्थात् छ खर्ब ७८ अर्ब छ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

वित्तीय व्यवस्था शीर्षकमा चैत मसान्तसम्मको खर्च ५९.२३ प्रतिशत बराबर छ ।

यो अवधिको राजस्व सङ्कलन पनि कमजोर छ । कुल १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा चैत २९ गतेसम्म आठ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ मात्रै राजस्व उठेको छ । यो वार्षिक लक्ष्यको ५७.८९ प्रतिशत बराबर हो ।

त्यस्तै, यस वर्ष ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको २७.२७ प्रतिशत अर्थात् १४ अर्ब २६ करोड ८८ लाख रुपैयाँ मात्रै अनुदान उठेको छ ।