दुर्गा प्रसाईं पक्राउ परेपछि संसदीय समितिमा गृहमन्त्रीले के भने ?

0
Shares

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको पक्षमा गठित ‘संयुक्त जनआन्दोलन समिति’ का जनकमाण्डर तथा व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि फरार रहेका प्रसाईंलाई शुक्रबार बिहान झापाको भद्रपुरबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार उनी भारतको असमबाट काकडभिट्टास्थित मेची पुल हुँदै नेपाल प्रवेश गरेका थिए । उनलाई नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको छ ।

प्रसाईंको पक्राउबारे शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले जानकारी गराए ।

‘दुर्गा प्रसाईंजी पक्राउ पर्नु भएको छ, अनुसन्धान जारी छ,’ गृहमन्त्री लेखकले भने, ‘पक्राउ पर्ने क्रम पनि निरन्तर अघि जान सक्छ। को-को मानिसको भूमिका देखिन्छ, त्यसअनुसार अनुसन्धान र कानुनी कारबाही हुँदै जान्छ।’

गृहमन्त्री लेखकले चैत १५ गतेको प्रदर्शनलाई संविधान च्यात्ने र वर्तमान लोकतान्त्रिक व्यवस्था मास्ने प्रयासको रूपमा व्याख्या गरे । उनले भने, ‘त्यो संविधान च्यात्ने, व्यवस्था मास्ने प्रयास थियो ।’

उक्त दिन भएको प्रदर्शन हिंसात्मक बनेको थियो । सो क्रममा दुई जनाको मृत्यु हुनुका साथै सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट समेत भएको थियो।

प्रसाईंसँगै राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशम्शेर राणा लगायत अन्य नेताहरूलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।

गृहमन्त्री लेखकले लोकतान्त्रिक व्यवस्थाभित्र असन्तुष्टि राख्न पाइने भए पनि त्यसको विकल्पका रूपमा पछाडि फर्कने अभ्यास स्वीकार्य नहुने स्पष्ट पारे ।