ट्यारिफ योजनाबाट एकाएक किन पछि हटे ट्रम्प ?

९० दिनका लागि रोके पारस्पारिक भन्सार शुल्क

630
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार कर (ट्यारिफ) योजना अचानक स्थगन गर्ने निर्णय गरेका छन् । तीन महिना (९० दिन) का लागि योजनामा रोक लगाउने निर्णय ट्रम्पले गरेसँगै बजारमा केही राहत ल्याएको देखिएको छ ।

ट्रम्पको ट्यारिफ कार्यान्वयमा आएसँगै चीनले अमेरिकाबाट आउने वस्तुहरूमा लाग्ने भन्सार शुल्क ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत पुर्‍याउने निर्णय गरेको थियो भने युरोपियन युनियन लगायत अन्य देश पनि ट्रम्प ट्यारिफविरुद्ध योजना बनाइरहँदा उनी पछि हटेका हुन् ।

यो निर्णय ट्रम्पको पुरानै अडानको ठ्याक्कै उल्टो हो । ट्यारिफका कारण उनले हप्ताभरि आलोचना खेपिरहेका थिए । आफ्नै पार्टीका नेतादेखि व्यापारिक जगत अनि नजिकका साथीहरूसम्मले उनको योजना औप्रति असन्तुष्टि जनाइरहेका थिए ।

भन्सार कर लागू गर्ने अघिल्लो साताभर ट्रम्प निकै दृढ देखिएका थिए । ‘मेरो नीति कहिल्यै परिवर्तन हुँदैन,’ भन्दै उनी ट्यारिफ योजनाबाट पछि नहट्ने बताइरहेका थिए ।

बुधवार उनले राजनीतिज्ञहरू, व्यापारीहरू डराउन थालेको र केही चिच्याउन थालेको टिप्पणी गरेका थिए ।

नयाँ भन्सार दरको फाइदा बताउँदै थिए अधिकारी, ट्रम्पले रोकिदिए

ट्रम्पले जब योजनामा रोक लगाउने घोषणा गरे त्यसैबेला उनका आफ्नै व्यापार प्रतिनिधि जेमिसन ग्रियर संसदमा बसेर नयाँ भन्सार करको फाइदा बारे व्याख्या गरिरहेका थिए । ट्रम्पको घोषणाले उनलाई एकदमै लज्जित बनायो । एक सांसदले भने, ‘तपाईंको बोसले तपाईँको खुट्टा तानिदिए जस्तो भयो!’

बन्ड बजारको संकट मुख्य कारण

ट्रम्पको योजनापछि अमेरिकी बन्ड बजार (सरकारी ऋणपत्रको बजार) मा ठूलो गिरावट आएको थियो । सामान्यतः स्टक बजार ओरालो लाग्दा लगानीकर्ता सुरक्षित विकल्पको रूपमा बन्ड किन्ने गर्छन् जसले बन्डको मूल्य बढाउँछ । तर अहिले उल्टै बन्ड पनि बेचिन थालेपछि ठूलो समस्या देखिएको थियो ।

ट्रेजरी मन्त्रालयका सचिव स्कट बेशेन्टले ट्रम्पलाई स्थिति गम्भीर बन्दै गएको जानकारी दिएका थिए । त्यसपछि बुधवार बिहानैदेखि ट्रम्पका सल्लाहकारहरू चिन्तित देखिएका थिए । यसै विषयमा ट्रम्प र बेशेन्टबीच ओभल अफिसमा गम्भीर छलफल भएको थियो ।

बजार र व्यापार क्षेत्रको दबाब

बुधवार बिहानदेखि नै ट्रम्पको प्रशासनमा रहेका प्रमुख व्यक्तिहरू—प्रमुख स्टाफ सुजी वाइल्स, उपराष्ट्रपति जेडी भ्यान्स र ट्रेजरी सचिव बेशेन्ट फोनमा व्यस्त बनेका थिए । ठूला व्यापारिक कम्पनीका सीईओहरूले लगातार फोन गरेर भन्सार करको असरबारे चेतावनी दिइरहेका थिए ।

सुजी वाइल्सले ट्रम्पलाई भनिन्, ‘बजारमा आएको गिरावटले तपाईंको राजनीतिक पूँजी घटिरहेको छ । सांसदहरूले जनता र लगानीकर्ताबाट निरन्तर गुनासो सुन्दैछन् ।’

ट्रम्पले योजनामा रोक लगाउने घोषणा ओभल अफिसमै दुई सल्लाहकारहरू बेशेन्ट र वाणिज्य सचिव हावर्ड लट्निकको उपस्थितिमा गरे। ‘कुनै वकिल थिएनन्, बस हामीले दिलबाट लेख्यौं । यो हाम्रो मनबाट आएको हो,’ ट्रम्पले पत्रकारहरूलाई भने ।

उनले यसलाई रणनीतिक लचकता भन्न खोजेका छन् । तर राजनीतिक विश्लेषकहरू दबाबमा परेपछि पछि हटाइएको बताउँछन् ।

ट्रम्पले केही अमेरिकी कम्पनीहरूलाई भन्सार करबाट छुट दिने कुरा पनि संकेत गरे ।

बुधवार दिउँसो ट्रम्पले ओभल अफिसबाहिर पत्रकारहरूलाई भने, ‘आजको दिन स्टक मार्केटको इतिहासमै ठूलो बढोत्तरी भएको छ।’ तर उनले अघिल्लो साताको अरबौं डलरको घाटाबारे केही पनि उल्लेख गरेनन्। ‘यदि यस्तो नै भइरहेको रहेछ भने चार हप्ता अघिको अवस्थासम्म पुगिन्छ,’ उनले भने।

धेरै विश्लेषकहरू ट्रम्पले आफूले एक्कासि बनाएको योजनाबाट उत्पन्न आर्थिक संकटलाई रोक्ने निर्णय गरेर अब त्यसलाई आफ्नो उपलब्धिको रूपमा देखाउन खोजिरहेको बताउँछन् ।