सरकार-बालेन टकराव: १३ तला बनिसकेको काठमाडौं भ्यूटावर निर्माण अलपत्र (तस्बिरहरु)

343
Shares

काठमाडौं । संघीय सरकार र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन) बीचको टकराबले काठमाडौं भ्यूटावर निर्माण अलपत्र परेको छ ।

काठमाडौं महानगरपालिका-२८ पुरानो बसपार्कमा १३ तलासम्म निर्माण भइसकेको काठमाडौं भ्यू-टावरको काम अहिले अलपत्र परेको हो ।

काठमाडौं टावरको तला थप गर्ने अनुमति दिएको भन्दै गत पुस ८ गतेदेखि महानगरका मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन थालेका थिए ।

तीनवटा छानबिन समितिले पनि गुरागाईंमाथिको आरोप पुष्टि गर्न नसकेपछि मन्त्रालयले उनलाई महानगरमै हाजिर गराउन भनेको थियो भने मेयर बालेनलाई त्यसलाई अस्वीकार गर्दै आएका छन् । लामो समयदेखि कर्मचारीको तलब रोकिएपछि कर्मचारीले नै गुरागाईंलाई हाजिर गराएका छन् ।

यसबीचमा मेयर शाहले काठमाडौं टावर निर्माणमा भ्रष्टाचार भएको र संघीय सरकारको समेत संलग्नताको आरोपमा काठमाडौं भ्यूटावर भत्काउने तयारी गरिएको चर्चा चल्यो ।

विसं २०७१ मा महानगरपालिकासँग सार्वजनिक–निजी साझेदारीको सम्झौताअनुसार ०७५ फागुनभित्र कम्पनीले भ्यू टावरको निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर १० वर्ष बितिसक्दा पनि निर्माण कार्य भने सकिएको छैन ।

भ्यू टावरको १२औं तलाको काम सम्पन्न गरेर बसेको ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्राली बाँकी तला थप गरेर सञ्चालनमा ल्याउने योजना बन्दा भवनलाई अलपत्र अवस्थामा छाडिएको हो । उक्त टावर २३ रोपनी पाँच आना जग्गामा बन्दैछ । व्यवसायिक उक्त टावरमा बस पार्क, सिनेमा हल, थिएटर, रेष्टुरेन्ट, बैंक आदि बन्ने भनिएको छ ।