अब मापदण्ड विपरीतका सवारी साधनको सञ्चालनमा रोक लाग्छ: भौतिक पूर्वाधारमन्त्री दाहाल

882
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताएका छन ।

मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरुसँग सोमबार भएको छलफलको क्रममा उनले नियम विपरीत सञ्चालन भइरहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने बताए ।

यसैगरी निर्माणस्थलमा सवारी साधन अवरोध हुन नदिन वैकल्पिक बाटो तथा ‘डाइभर्सन’को व्यवस्थापनलाई समेत प्राथमिकता दिइने उनले बताए । काठमाडौँ र पूर्वी नेपाललाई जोड्ने बिपी राजमार्ग मर्मतलाई तीव्रता दिइएको जनाउँदै उनले वैकल्पिक सडकका रुपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले यातायात सञ्चालनलाई व्यवस्थित बनाउन गृह मन्त्रालय, ट्राफिक प्रहरीलगायतका निकाय तथा संघीय सरकारसँग थप समन्वय गरिने बताए ।

दाउन्ने सडकमा भइरहेको निर्माणका कारण सवारी साधन तथा यात्रुलाई परेको समस्याप्रति मन्त्रालय गम्भीर रहेको भन्दै मालवाहक तथा यात्रुवाहक गाडीलाई उपयुक्त समय मिलाएर पास हुने व्यवस्था मिलाइएको उनले जानकारी दिए । उक्त खण्डको निर्माणलाई पहिलो प्राथमिकतामा राखिएकाले चाँडै यातायात सहज पारिने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतम, विभिन्न मजदुर सङ्गठनका प्रतिनिधिलगायतको सहभागिता थियो ।

यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेल, उपमहानिर्देशक लगायतको उपस्थिति थियो ।