सरकारले भन्यो : काठमाडौंको वायु खतरनाक, ‘अनावश्यक घरबाहिर ननिस्कनु’

476
Shares

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंको वायु प्रदूषण अन्यन्त खतरनाक भएको भन्दै घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

प्राधिकरणले बिहिबार बिज्ञप्ती जारि गर्दै काठमाडौंसहित देशभरका प्रमुख सहरको वायु प्रदूषणको गुणस्तर अत्यन्त खतरनाक भएकाले सकेसम्म घरमै बस्न आग्रह गरिएको छ । प्राधिकरणले वायु प्रदूषणबाट जोगिने आवश्यक उपायहरु अवलम्बन गर्न भनेको छ ।

बिहीबार काठमाडौंको वायु प्रदूषण सूचकाङ्क (एक्युआइएयर) ३०८ पुगेको छ । जबकी ५० एक्युआइएयर भन्दा माथिलाई राम्रो मानिँदैन ।

प्राधिकरणका अनुसार वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धि समस्या, दम र फोक्सोको सङ्क्रमणको जोखिम, सुख्खा खोकी लाग्ने, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुख्खा हुने, एलर्जी र जलन हुने, टाउको दुख्ने, थकान महसुस हुने लगायतका स्वास्थ्य सम्बन्धी शारीरिक र मानसिक समस्या बढ्दै गएको छ ।

गर्मी मौसम बढेसँगै बढ्दो वन डढेलो र आगलागीका घटना, सडक निर्माण लगायतका निर्माण कार्यसँगै निस्केका धुलोका कण, सवारी प्रदूषण, फोहर मैला र फोहर मैला जलाउने कार्य, काठमाडौं उपत्यकाको भौगोलिक अवस्थिति, हिउँदे वर्षा कम हुनु र मनसुन सुरुवात नभइसकेको अवस्थामा केही दिनयता काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरको वायु प्रदूषण खतराको अवस्थामा पुगेको प्राधिकरणले जनाएको छ ।