
काठमाडौं । नबिल बैंकले काठमाडौंमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ ।
महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाहरुको सशक्तीकरण, क्षमता अभिवृद्धि र अवसर प्रदानका लागि बैंक प्रतिबद्ध रहेको बताए । उनले बैंकिङ क्षेत्रमा महिलाहरुका लागि केही अप्ठ्याराहरु भए पनि त्यसलाई समाधान गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।
‘हामी लैंगिक समानता कायम गर्न प्रतिबद्ध छौँ, लैंगिक समावेशिता कायम भयो भने सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ’, अध्यक्ष पौडेलले भने । पौडेलले विश्वको इतिहास हेर्दा पनि महिलालाई पुरुषको तुलनामा कम पारिश्रमिक दिने गरेको उल्लेख गर्दै पछिल्लो समय भने यो परिवर्तन भइरहेको बताए ।
‘अहिले पनि कार्यस्थलहरुमा महिलाविरुद्ध हिंसाका घटना भइरहेका छन्, केही चुनौती पनि छन्, यी समस्याहरु नेपालले पहिचान गरी समाधानको बाटोमा अघि बढिसकेको छ’, उनले भने, ‘नबिल बैंक पनि महिलाहरुलाई उच्च नेतृत्वमा ल्याउन र निर्णायक भूमिका दिन र अवसर सृजना गर्ने विषयमा सकारात्मक छ ।’ उनले आर्थिक विकासमा महिलाको सहभागिताको महत्वलाई बुझ्दै समाजमा लामो समयदेखि रहेको असमानताको अवशेषलाई हटाउनुपर्नेमा जोड दिए ।
त्यस अवसरमा नबिल बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकिङ क्षेत्रमा महिलाहरुको नेतृत्व बढाउन जरुरी रहेकामा जोड दिए । उनले बैंकिङ क्षेत्रको नेतृत्वमा अझै पनि महिलाहरुको प्रतिनिधित्व कम भएको उल्लेख गर्दै यसप्रकारका कार्यक्रमले महिला सहभागिता बढाउन र उत्प्रेणाका लागि महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।
ज्ञवालीले भने, ‘बैंकिङ क्षेत्रको व्यवस्थापकीय नेतृत्वमा महिलाहरुको सहभागिता बढाउन जरुरी छ, महिलाहरुको सोच्ने तरिका पुरुषको तुलनामा फरक हुन्छ, उहाँहरु काममा बढी केन्द्रित हुनुका साथै तथ्यपरक समेत गरेको मैले पाएको छु ।’
सुशासनको क्षेत्रमा पनि पुरुषको तुलनामा महिलाहरु बढी सक्षम भएको उल्लेख गर्दै ज्ञवालीले बैंकबाट खराब काम गरी निष्कासित हुनेमा महिलाको संख्या नगन्य भएको बताए । कर्मचारीमा महिलाको संख्या उल्लेख्य रुपमा कायम गर्न नबिल बैंक सक्षम भएको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले नबिल बैंकले आयोजना गरेको कार्यक्रम लैंगिक समानता कायमको लक्ष्यप्राप्तिमा महत्वपूर्ण पहल भएको बताइन् । ‘नबिल बैंकले महिलाको सशक्तीकरणमा लगानी गरी कार्यस्थल समावेशी बनाउनेदेखि मुलुकको वृहत आर्थिक विकासमा समेत ठूलो सहयोग गरेको छ’, उनले भनिन्, ‘नबिललाई आजका दिनसम्म ल्याउनमा महिलाहरुको ठूलो भूमिका भएको मैले पाएकी छु ।’
नबिल बैंकले यसबाहेक पनि महिलाका विषयलाई केन्द्रित गरी मार्च महिनाभर विभिन्न कार्यक्रम आयोजना गरिसकेको छ । बैंकले लैंगिक समानता प्रवद्र्धन, महिला सशक्तीकरण, जनचेनता अभिवृद्धि, व्यक्तिगत क्षमता अभिवृद्धि र सहयोगी समुदाय निर्माणको उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ ।
बैंकले आयोजना गरेको मार्च इन टु वेलनेस कार्यक्रमबाट काठमाडौँ उपत्यका र बाहिरका गरी ३५ महिला कर्मचारी लाभान्वित भएका थिए भने वेलविइङ अफ वुमन सेसनमार्फत उपत्यकामा कार्यरत १०० महिला कर्मचारीले लाभ लिएका थिए ।
बैंकले कार्यस्थलमा हुने हिंसाजन्य गतिविधि र रोकथामका उपायका सम्बन्धमा कोशी प्रदेशमा ६८ जना महिला कर्मचारी सम्मिलित कार्यक्रम आयोजना गरेको थियो । साथै मधेस प्रदेशमा सुरक्षित र मर्यादित कार्यस्थल शीर्षकको कार्यक्रम आयोजना गरी ५० जना कर्मचारीलाई अभिवृद्धि गरेको थियो । साथै नबिलले बैंकमा कार्यरत सबै कर्मचारीलाई लक्षित गरी रजस्वलाको विषय र चुनौतीका सम्बन्धमा कार्यक्रम आयोजना गरेको थियो ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।







प्रतिक्रिया