
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्तीको बिरोध गरेका छ्न ।
सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणबाट बर्खास्त गरेपछि सामाजिक सञ्जालबाट पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफू नेतृत्वको सरकारले घिसिङलाई प्राधिकरणको नेतृत्व दिएको र संयुक्त प्रयासबाट ऊज्यालो नेपाल निर्माण गर्न सफल भएको उल्लेख गरेका छन् ।
घिसिङलाई डेडिकेटेड ट्रंक लाइनको बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेकै कारण लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक-पटक स्पष्टीकरण सोधेर अन्याय गरिएको उनको भनाइ छ ।
‘..तर आज भने सरकारले मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चारमाध्यमबाट थाह हुन आएको छ, आशा गरौं यो खबर असत्य सावित होस्,’ प्रचण्डले भनेका छन्, ‘यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ । दुई तिहाइको बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु ।’
प्रचण्डको भनाइ
देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट ऊज्यालो नेपाल निर्माण गर्न सफल भएको जन-जनमा जानकारी छ । उनै कुलमान घिसिङलाई बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक-पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो तर आज भने सरकारले मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चारमाध्यमबाट थाह हुन आएको छ, आशा गरौं यो खबर असत्य सावित होस् । यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ, २/३ बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु।
प्रतिक्रिया